प्रदेश १ का १० मन्त्री उम्मेदवार, ४ मन्त्री थन्किए
विराटनगर । प्रदेश १ मा पुनः मुख्यमन्त्रीको आकांक्षा राख्दै बहालवाला मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभा निर्वाचनका लागि भोजपुर १ (क)बाट उम्मेदवारी दिएका छन् । मुख्यमन्त्रीकै दाबेदारका रुपमा माओवादी केन्द्रबाट हालका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसबाट हालका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री हिमाल कार्कीले पनि प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
आङ्बोले पाँचथर १ (क)बाट र कार्कीले उदयपुरको निर्वाचन क्षेत्र १ (ख)बाट उम्मेदवारी दिएका हुन् । प्रदेश सरकारका अरू ७ जना मन्त्री पनि चुनावी दौडमा छन् । एक राज्यमन्त्रीहित ४ अन्य मन्त्री भने चुनावी दौडबाट यो पटक थन्किएका छन् ।
उम्मेदवार बनेका १० मन्त्रीमध्ये सिंचाई तथा खानेपानी मन्त्री रामकुमार राई भने खोटाङमा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका छन् । उनी नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका हुन् ।
नेकपा एकीकृत समाजवादीका सचिवसमेत रहेका मुख्यमन्त्री राई सत्ता गठबन्धनबाट उम्मेदवार बनेका हुन् । यस्तै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री आङ्बोले प्रदेश सरकारमा सबैभन्दा धेरै समय मन्त्रीमण्डलमा रहेर काम गरेका छन् । उनले आफूलाई आउँदो निर्वाचनपछि मुख्यमन्त्रीको रुपमा प्रस्तुत गर्ने बताएका छन् । लामो समय मन्त्री बन्दा पनि उनी कुनै विवादमा परेका छैनन् ।
प्रदेशसभाको पहिलो कार्यकालमा कांग्रेस संसदीय दलको उपनेता रहिसकेका प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री हिमाल कार्कीले पनि मुख्यमन्त्रीको दाबी गर्दै उम्मेदवारी दिएका छन् । यस्तै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की मोरङको निर्वाचन क्षेत्र नम्बर ६(ख) मा उम्मेदवार बनेका छन् । उनी यसअघि कांग्रेस संसदीय दलको प्रमुख सचेतक थिए ।
वन वातावरण तथा भूसंरक्षण मन्त्री शेखरचन्द्र थापा मोरङको निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट उम्मेदवार बनेका छन् । यसअघि नेपाली कांग्रेसबाट समानुपातिक सांसद भएका उनी यस पटक प्रत्यक्ष उम्मेदवार बनेका छन् ।
यस्तै प्रदेश १ की पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा इलामको क्षेत्र नम्बर १ (क) बाट उम्मेदवार बनेकी छन् । सत्ता गठबन्धन अन्तर्गत नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेकी उनी २०७४ को निर्वाचनमा नेकपा एमालेको तर्फबाट सोही क्षेत्रमा प्रत्यक्ष निर्वाचित भएकी थिइन् ।
स्वास्थ्य मन्त्री जयराम यादव मोरङको निर्वाचन क्षेत्र नम्बर ५(ख) मा उम्मेदवार बनेका छन् । उनी नेकपा एमालेसँगको गठबन्धनबाट दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका हुन् । प्रदेशका कृषिमन्त्री झलकबहादुर मगर झापाको निर्वाचन क्षेत्र नम्बर ४(ख) बाट उम्मेदवार बनेका छन् । उनी यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
गठबन्धन दल नेकपा एकीकृत समाजवादीबाट सामाजिक विकासमन्त्री रहेका खोटाङका राजन राई, कांग्रेसबाट भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रहेका झापाका ओमप्रकाश सरागावी र उद्योग, श्रम तथा रोजगार मन्त्री रहेका ताप्लेजुङका प्रतापप्रकाश हाङ्गाम भने यस पटक उम्मेदवार बनेका छैनन् । यस्तै सामाजिक विकास राज्यमन्त्री रहेकी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी एकमात्र सांसद विष्णुमाया तुम्बाहाम्फे पनि यस पटक उम्मेदवार बनेकी छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता