मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं क्षेत्र नम्बर २ मा त्रिपक्षीय चुनावी भिडन्त

मङ्गलबार, २५ असोज २०७९, ०७ : १४
मङ्गलबार, २५ असोज २०७९

आसन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनबाट माओवादी नेतृ ओनसरी घर्ती, नेकपा एमालेबाट मणिराम फुँयाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कुन्तीदेवी पोखरेलको उम्मेदवारी परेको छ । यस क्षेत्रबाट अन्य केही स्वतन्त्रको पनि उम्मेदवारी परेको छ ।

यो निर्वाचन क्षेत्रमा २०६४ सालको संविधानसभा निर्वाचनमा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीले एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई पराजित गरेका थिए । २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा माधवकुमार नेपाल काठमाडौं–२ र रौतहट–१ बाट विजयी भएका थिए । उनले एउटा क्षेत्र छोड्नुपर्ने भएपछि काठमाडौं–२ त्यागेका थिए । सो स्थानमा भएको उपनिर्वाचनमा एमालेका कृष्णगोपाल श्रेष्ठलाई पराजित गर्दै कांग्रेसका दीपक कुँइकेल विजयी भएका थिए ।

यस्तै २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–२ मा वाम गठबन्धनबाट माधवकुमार नेपाल विजयी भएका थिए । काठमाडौं क्षेत्र नम्बर २ मा शंखरापुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिकाका वडा नम्बर ४ देखि ९ सम्म र काठमाडौं महानगरपालिकाको वडा नम्बर ९ र ३२ पर्छ । यो क्षेत्र कोटेश्वरदेखि सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको फटकशिलासम्म फैलिएको छ ।

यसअघिका चुनावमा यो निर्वाचन क्षेत्रबाट एमाले, कांग्रेस र माओवादी केन्द्र विजयी भइसकेका छन् ।

यी हुन् क्षेत्र नम्बर २ का मुख्य प्रतिस्पर्धी उम्मेदवार

ओनसरी घर्ती (माओवादी केन्द्र)

पूर्व सभामुखसमेत रहेकी ओनसरी घर्तीलाई माओवादी केन्द्रले अन्तिम समयमा काठमाडौं क्षेत्र नम्बर २ को टिकट दिएको थियो । उनले रुपन्देही क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारी गरिरहेकी थिइन । सत्ता गठबन्धनले गरेको भागबण्डामा रुपन्देही–१ माओवादी केन्द्रले पाए पनि एमालेबाट राजीनामा दिई स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका घनश्याम भुसाललाई उक्त क्षेत्रमा गठबन्धनले सघाउने निर्णय गर्दै घर्तीलाई काठमाडौं–२ मा ल्याइएको हो ।

माओवादी केन्द्र अत्यन्त कमजोर रहेको काठमाडांैं–२ मा घर्तीले पूर्णरुपमा कांग्रेस तथा एकीकृत समाजवादीको भर पर्नुपर्ने अवस्था छ । यहाँ गत स्थानीय तहमा पाएको मतका आधारमा माओवादी केन्द्र चौथो स्थानमा छ ।

कुन्तीदेवी पोखरेल (राप्रपा)

काठमाडौं क्षेत्र नम्बर २ मा पहिलो पटक राप्रपाले महिला उम्मेदवार कुन्तीदेवी पोखरेललाई अघि सारेको छ । राप्रपाको गत महाधिवेशनमा सबैभन्दा धेरै मत पाएर पोखरेल केन्द्रीय सदस्यमा विजयी भएकी थिइन् ।

पोखरेल राजनीतिका साथै समाजसेवा र व्यवसायमा समेत संलग्न छिन् । महिला सशक्तीकरणका लागि उनले विभिन्न जिल्लामा पुगेर सिपमुलक तालिम सञ्चालन गर्दै आएकी छन् ।

नेपाली पोशाक उद्यमीसमेत रहेकी उनले आफ्नै उद्यमबाट कमाएको रकमले समाजसेवा गर्दै आएकी छन् । तारामण्डल महिला सशक्तीकरण अभियान मार्फत देशका ४० वटा जिल्लामा पुगेर सीपमुलक तालिम दिएर महिलालाई आत्मनिर्भर बनाउने काम गरेकी पोखरेलले देशका दुर्गम जिल्लामा पुगेर स्वास्थ्य शिविरसमेत सञ्चालन गर्दै आएकी छन् ।

उनले कोरोना महामारीका बेला रोजगारी गुमाएकाहरुलाई आफ्नै खर्चमा खाद्यान्न वितरण गरेकी थिइन् भने घरमै बसेर आयआर्जन गर्न सकिने तालिम पनि दिएकी थिइन् । यस्तै बिरामीहरुलाई रगतको अभाव नहोस् भनेर उनले बेला बेलामा रक्तदान कार्यक्रमसमेत आयोजना गर्दै आएकी छिन् ।

मणिराम फुँयाल

एमालेका उम्मेदवार मणिराम काठमाडौं क्षेत्र नम्बर २, कागेश्वरी मनोहराका स्थायीबासी हुन् । यसअघि बागमती प्रदेशसभा सदस्य रहेका फुँयाल एमालेको बागमती प्रदेश सदस्य हुन् ।

प्रतिनिधिसभाको टिकट हात पारेर मनोनयन दर्ता गरेसँगै उनी चुनाव प्रचारको आन्तरिक तयारीमा जुटिसकेका छन् ।

यस्तो छ अघिल्लो चुनावमा दलहरुले पाएको मत अवस्था

गत स्थानीय तहको निर्वाचनमा यो निर्वाचन क्षेत्रमा वडाध्यक्षहरुले पाएको मतका आधारमा सबैभन्दा धेरै मत एमालेले पाएको थियो । यो निर्वाचन क्षेत्रमा पर्ने शंखरापुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर ४ देखि ९ र काठमाडौं महानगरपालिकाको वडा नम्बर ९ र ३२ गरी १७ वटा वडामा एमालेले १७ हजार ३२५ मत पाउँदा कांग्रेसले १४ हजार १२८ मत, नेकपा एकीकृत समाजवादीले ८ हजार ७४, राप्रपाले ७ हजार २ सय र माओवादी केन्द्रले ३ हजार १३१ मत पाएको थियो ।

यो मतका आधारमा सत्ता गठबन्धन कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रले पाएको मत जोड्दा २५ हजार ३३३ हुन्छ । यस आधारमा यहाँ एमाले सत्ता गठबन्धन दलभन्दा ८ हजार ८ मतले पछाडि देखिन्छ ।

यता राप्रपाले गत स्थानीय तहको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ मा रहेको शंखरापुर नगरपालिका प्रमुखका साथै नगरपालिकाका ३ वडामा विजयी हासिल गरेको थियो । यो निर्वाचन क्षेत्रमा शंखरापुर नगरपालिकामा राप्रपाको राम्रो उपस्थिति छ । आगामी निर्वाचनमा सत्ता गठबन्धन, एमाले र राप्रपाबीच यो निर्वाचन क्षेत्रमा त्रिपक्षीय भिडन्त हुने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप