बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सर्लाही–१ मा दुवै गठबन्धनलाई चुनौती, प्रमुख तीन दलका असन्तुष्टहरु एकीकृत

सोमबार, २४ असोज २०७९, १७ : ४९
सोमबार, २४ असोज २०७९

 प्रतिनिधिसभा अन्तर्गत सर्लाही क्षेत्र नम्बर १ मा दुवै गठबन्धनलाई चुनौती बढ्ने देखिएको छ । सो क्षेत्रमा सत्तारुढ गठबन्धनका तर्फबाट लोसपा नेपालका रामप्रकाश चौधरी र एमाले–जसपा गठबन्धनबाट जसपा नेपालका प्रमोद साहले उम्मेदवारी दिएका छन् ।

जसपा नेपालका प्रमोद साह २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । सत्तारुढ गठबन्धनमा लोसपा भित्रिएपछि सो क्षेत्रमा उक्त गठबन्धनबाट लोसपाले भागबण्डा पाएको हो । सोही अनुसार लोसपाले चौधरीलाई उम्मेदवार बनाएको छ ।

तर, नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका कतिपय नेता–कार्यकर्ता भने दुवै गठबन्धनको निर्णयप्रति असन्तुष्ट देखिएका छन् । असन्तुष्ट प्रमुख दलका कार्यकर्ताहरु एकीकृत भएर स्वतन्त्र उम्मेदवारका पक्षमा देखिएका छन् । सो क्षेत्रमा १० जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । तीमध्ये पनि एमालेका मानबहादुर खड्काले प्रमुख दलहरुभित्रको असन्तुष्टिलाई प्रतिनिधित्व गरेर स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

उनलाई पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता शम्भुलाल श्रेष्ठले समेत समर्थन जनाएका छन् । माओवादी केन्द्रका असन्तुष्ट पक्षले समेत खड्कालाई समर्थन जनाएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका खड्का लालबन्दी नगरपालिकाका पूर्व प्रमुख हुन् । एमालेबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारीको आकांक्षा राखेर उनी स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार भएका थिएनन् ।

सो क्षेत्रमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसले पनि उम्मेदवारीको दाबी गर्दै आएको थियो । २०७४ को निर्वाचनलाई छाड्ने हो भने त्यसअघि सो क्षेत्रबाट नेपाली कहिले कांग्रेस, कहिले एमाले र कहिले माओवादी केन्द्रले जित्दै आएका थिए । यस पटक कांग्रेस, एमाले र माओवादीमध्ये कुनै पनि दलले उम्मेदवारी नपाएपछि ती दलका कतिपय कार्यकर्ता असन्तुष्ट देखिएका हुन् ।

‘प्रमुख तीन दलमध्ये कुनै पनि दलका तर्फबाट उम्मेदवारी नभएपछि तीनै दलभित्र व्यापक असन्तुष्टि देखिएको छ,’ स्वतन्त्र उम्मेदवारी दिएका खड्काले भने, ‘त्यही असन्तुष्टिको प्रतिनिधित्व गर्दै मैले स्वतन्त्र उम्मेदवारी दिएको छु ।’

उनलाई संविधानसभा सदस्य तथा पूर्वमन्त्री शम्भु श्रेष्ठले सघाएका छन् । लामो समय कांग्रेसमा क्रियाशील रहेका श्रेष्ठ २०७० को संविधानसभा निर्वाचनमा कांग्रेसले टिक नदिएपछि नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेर सोही क्षेत्रमा निर्वाचित भएका थिए । २०७४ को निर्वाचनअघि उनी माओवादी केन्द्र छाडेर कांग्रेसमा फर्किएका थिए । उनी पनि सो क्षेत्रमा यस पटक उम्मेदवारका लागि आकांक्षी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप