मानिसहरूबीच सम्बन्ध बिग्रँदै छ कि मानसिक स्वास्थ्य ?
मकहाँ परामर्शका लागि आउने कतिपयले भन्ने गर्छन्– ममा त कुनै समस्या छैन, मेरो श्रीमान् वा श्रीमतीमा समस्या छ । हामी दुवैमा समस्या हुन सक्छ भनेर नबुझ्दासम्म सम्बन्धलाई सुधार्ने वा सुदृढ बनाउने आधार मिल्दैन । कतिपय घर वा सम्बन्ध पूरै टुट्नुअघि विशेषज्ञबाट परामर्श मिल्यो भने त्यो घर वा सम्बन्ध जोगिन सक्छ ।
मानसिक समस्या भएको व्यक्तिले कुनै पनि सम्बन्धमा खटपट आउँदा त्यसमा आफ्नो गल्ती देख्दैन । आफूलाई ठीक ठान्ने, अरु व्यक्ति वा अन्य कारण समस्या आएको भन्ठान्ने प्रवृत्ति उसमा देखिन सक्छ । यस्तो समस्यालाई ‘नार्सिसिस्ट पर्सोनालिटी डिसअर्डर’ भनिन्छ । यस्तो समस्या भएको व्यक्तिले आफूलाई बढी महत्त्व दिन्छ । यस्ता व्यक्तिको सम्बन्ध प्रायः बिग्रिएको नै पाइन्छ । यस्तो व्यक्तिले हरेक कुरामा गुनासो गर्ने गर्छ । उसले सबै कुरा ‘पर्फेक्ट’ (पूर्ण) बनाउन कोसिस गर्छ । उसले ठानिरहेको हुन्छ, म असाध्यै पर्फेक्ट छु, तर अरुले मलाई कोअपरेट (सहयोग) गरिरहेको छैन । यस कारण अन्य व्यक्तिसँग उसको सम्बन्ध बिग्रिरहेको हुन्छ । आफूमा मानसिक समस्या भएकै कारण पनि कतिले अर्कोबाट राम्रो व्यवहारको अपेक्षा गरिरहेका हुन्छन् ।
आपसका स–साना कुरामा राम्रोसँग छलफल भएन भने त्यसले मनमुटावको रुप लिने हो । सानो घटनाले ठूलो दुर्घटना निम्त्याउन सक्छ ।
सम्बन्ध र मानसिक समस्या
एकातिर मानसिक स्वास्थ्यकै कारण सम्बन्धमा समस्या आउँछ भने अर्कोतिर सम्बन्ध बिग्रेकै कारण मानसिक स्वास्थ्यलाई असर गरिरहेको छ । सम्बन्ध बिग्रनुको मूल कारण हो– आपसमा छलफल वा कुराकानी नहुनु । आपसमा राम्रोसँग कुराकानी नहुनुको पछाडि मानसिक समस्या कारक हुन सक्छ ।
सम्बन्धका कारण कतिपयमा मानसिक समस्या आएको पनि पाइन्छ । बाल्यावस्थादेखि व्यक्तिले घर–परिवारमा बाबुआमाको सम्बन्ध राम्रो देखेन, घरेलु हिंसा देखिरह्यो, परिवारका सदस्यहरूबीच झैझगडा र कलह मात्रै देखिरह्यो भने उसले भविष्यमा निभाउने सम्बन्धहरू प्रभावित हुन सक्छन् ।
हामीकहाँ मानसिक समस्या भन्नेबित्तिकै पागलपनलाई सम्झने गर्छौं । सामान्य देखिने मानिस पनि मानसिक रोगी हुन सक्छ । व्यवहारमा आउने स–साना परिवर्तन पछाडिको कारणमा पनि मानसिक समस्या जिम्मेवार हुन सक्छ । तनाव, डिप्रेसन आदि मानसिक समस्याका कारण मानिसको व्यवहारमा परिवर्तन देखिने हो ।
दुईमध्ये एक व्यक्तिमा मानसिक समस्या हुँदा पनि उनीहरूबीचको सम्बन्ध बिग्रँदै जान सक्छ । नैराश्यता, दुःखीपन, इरिटेसन (चिडचिडाहट) आदिका कारण कुनै व्यक्तिलाई अर्को व्यक्तिसँग सम्बन्ध निभाउन समस्या परिरहेको पनि देखिन्छ ।
हामीकहाँ मात्रै होइन, विश्वव्यापी रुपमै मानसिक स्वास्थ्यलाई सामान्य रुपमा लिइन्छ । मानिसको कतिपय शारीरिक रोगमा मानसिक समस्या कारण हुन सक्छ । तर, त्यसमा ध्यान दिइँदैन । मानसिक समस्याका कारण मानिसलाई टाउको दुख्ने, छाती दुख्ने हुन सक्छ ।
सानोतिनो मानसिक समस्या बाहिरबाट देखिँदैन र यो झट्ट व्यक्तिको व्यवहारमा पनि देखिँदैन । हामीले पागलपनलाई मात्रै मानसिक समस्या भनिरहेका हुन्छौँ । दैनिक जीवन गरिने साधारण व्यवहार र शारीरिक रोगमा समेत मानसिक स्वास्थ्यले प्रभाव पारिरहेको हुन्छ ।
टाउको दुख्दा हामी ‘फिजिसियन’कहाँ जान्छौँ । मुटुसम्बन्धी समस्या आउँदा हामी सिधै मुटुरोग विशेषज्ञकहाँ जान्छौँ । चेकजाँचपछि केही देखिएन भने भनिन्छ, तिम्रो मुटुमा कुनै समस्या छैन । त्यसपछि बिरामी घरमै बस्छ । एन्जाइटीका कारण कतिपयलाई मुटु हल्लिने समस्या आउन सक्छ । टाउको दुख्ने समस्या पनि मानसिक स्वास्थ्यसँग जोडिएको हुन सक्छ । त्यसैले सही उपचारका लागि मनोचिकित्सककहाँ जानुपर्ने हुन सक्छ । र, यस्ता बिरामीलाई घर–परिवारबाट विशेष सहयोग आवश्यक पर्न सक्छ ।
सानो उमेरमा विवाह वा प्रेम सम्बन्ध
बालविवाह गर्ने वा परिपक्व नभई विवाह गर्ने र सानो उमेरमा प्रेम गर्ने कतिपयले मानसिक समस्या झेलिरहेको पाइन्छ । विवाहपछि स्त्री र पुरुष दुवैले विभिन्न जिम्मेवारी पूरा गर्नुपर्ने हुन्छ । स्त्रीको हकमा अझ जिम्मेवारी आउँछन् । तर व्यावहारिक रुपमा ती जिम्मेवारी पूरा गर्न सहज हुँदैन । त्यसैले कतिपय व्यक्ति मानसिक उल्झनमा फस्न सक्छन् ।
अर्कोतिर, सानै उमेरमा मानिस प्रेममा पर्न सक्छ । सानो उमेरमा एक खालको आकर्षणले सम्बन्ध बनाउन पुगेका हुन्छन् । त्यो आकर्षण केही समयपछि हराउन सक्छ तर आफू कोहीप्रति आकर्षित हुनुलाई किशोरकिशोरीले अन्तिम सत्य ठान्न सक्छन् । पहिलोपटक कोहीप्रति आकर्षित हुनुलाई मानिसले महत्वपूर्ण ठानेको हुन्छ, यो पहिलो घटना भएकाले उसको मन–मस्तिष्कमा यसले छाप छाडेको हुन्छ । कुनै कारणले त्यो सम्बन्ध विफल भयो भने उसले त्यसलाई ठूलो रुपमा लिन्छ र उसले मानसिक रुपमा क्षति बेहोर्न सक्छ ।
त्यसैले किशोरावस्थाका विद्यार्थीलाई विद्यालयबाटै यौन र आकर्षणका बारेमा राम्रोसँग बुझ्ने शिक्षा दिइन आवश्यक छ । विद्यालय मात्रै होइन, अभिभावकले पनि किशोरकिशोरीलाई यस सम्बन्धमा शिक्षा दिन भूमिका खेल्नुपर्छ । कसैको आकर्षणमा परेको आफ्नो किशोरावस्थाको सन्तान कुनै मानसिक उल्झनमा छ भने त्यस्तो बेला अभिभावकले उसलाई साथ दिनुपर्छ । यस्तो अवस्थामा सन्तानलाई ‘तैँले यस्तो गरिनस्, यस्तो गर्नुपथ्र्यो’ भनेर गाली गर्नुहुँदैन । यसले थप दुर्घटना निम्त्याउन सक्छ । गएको भदौमा काठमाडौंं बुद्धनगरस्थित निर्माणाधीन भवनको पाँचतलाबाट हाम फालेर किशोरावस्थाका एक जोडीले आत्महत्या गरे । अभिभावकले साथ नदिँदा, बालबालिकाको भावना र समस्यालाई बेवास्ता गर्दा यस्ता घटना निम्तिन पनि सक्छन् । उनीहरूको समस्यामा परामर्शका लागि विशेषज्ञकहाँ लैजानुपर्ने हुन्छ ।
दम्पतीबीचको सम्बन्ध र हिंसा
अहिले मैले लैंगिकतामा आधारित हिंसासम्बन्धी एउटा परियोजनामा काम गरिरहेकी छु । यसमा काम गर्दा मैले के पाएँ भने, दम्पतीबीच सम्बन्ध बिग्रँदा ठुल्ठूला हिंसा निम्तिएका छन् । हिंसाका कतिपय पाटा हाम्रा संस्कार, संस्कृति र पितृसत्तात्मक सोचसँग जोडिएका पनि छन् । संस्कार–संस्कृतिका आधारमा पुरुषले महिलालाई हेर्ने एउटा दृष्टिकोण निर्माण भएको हुन्छ ।
‘श्रीमान्ले कमाउने हो, श्रीमतीले घर हेर्नुपर्छ, महिला कमजोर हुन्छन्, उसलाई सम्पूर्ण अधिकार दिनुपर्दैन’ भन्नेजस्ता सोच पुरुषको विश्वास बनेको हुन्छ । यस्तो विश्वासका कारण कतिपय पुरुषले आफ्नी श्रीमतीलाई काम वा पेसा गर्न घरबाहिर जान नदिन सक्छन् । कतिपयले श्रीमतीलाई पोसाकमा पनि बन्देज लगाउन सक्छन् । दम्पतीबीच झैझगडा हुँदा श्रीमान्ले ‘यस्तो हुनैपर्छ’ भनी अडान लिएको पनि पाइन्छ । सानैदेखिको विश्वासमा टेकेर उसले व्यवहार गरिरहेको हुन्छ ।
यो गरे पुण्य हुन्छ, त्यो गरे पाप हुन्छ भन्ने धार्मिक विश्वास पनि झैझगडा हुँदा व्यक्त भइरहेका हुन्छन् । यसरी दम्पतीबीच कलह वा हिंसाको परिस्थिति निम्तिन सक्छ, जसले उनीहरूको मात्रै सम्बन्ध बिगार्दैन, छोराछोराको मानसिकतामा पनि असर गरिरहेको हुन्छ ।
छलफल नै सम्बन्धको बलियो आधार
सम्बन्ध बिग्रनुमा विभिन्न कारण होलान्, तर छलफलबाट समझदारीमा पुग्न सकिन्छ । सम्बन्ध बिग्रन पुगेका सम्बन्धित व्यक्तिहरूले आपसमा कुराकानी वा छलफल गरिरहनुपर्छ । यसो गर्दा समस्याको गाँठो फुकाउन सहजता मिल्छ । सम्बन्ध सुमधुर सुदृढ बनाउन एकअर्काबीच सम्बन्ध पारदर्शी हुन आवश्यक छ । पारदर्शी सम्बन्धले समस्या आउन दिँदैन ।
मानसिक स्वास्थ्यका कारण दम्पतीबीच सम्बन्ध बिग्रिएको छ भने उनीहरूले छिटो विशेषज्ञको सल्लाह लिनुपर्छ । आफूले सानो उमेरमा भोगेका घटनाबाट प्रभावित हुनु हुँदैन । पुराना भोगाइ नितान्त अर्को कथा हो, अर्को पाटो हो र पछि जोडिएका सम्बन्ध फरक हो भन्ने बुझाइ हुन जरुरी छ ।
दुई व्यक्तिको सम्बन्ध टुट्नु वा बिग्रनु उनीहरू बीचको मात्रै कुरा होइन, त्यसले अरु सदस्यलाई पनि प्रभावित पारिरहेको हुन्छ । सम्बन्ध सुधार्न अर्कोबाट अपेक्षा गर्नुको सट्टा आफ्ना कमजोरी नियालेर आफैँले पहल गर्नु बुद्धिमानी ठहर्छ ।
(मनोविद् कुँवरसँगको कुराकानीमा आधारित ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास परियोजनाको नाममा कालीगण्डकी नदीको अस्तित्व मेटिने चिन्ता
-
भ्रष्टाचार विरोधी आन्दोलन मधेसबाट सुरु भयो : आजपा
-
काठमाडौं प्लाजा सर्वसाधारणको सवारी पार्किङका लागि खुला हुने
-
रातको समयमा काठमाडौंंमा गयो भूकम्प
-
१२ बजे, १२ समाचार : बीआरआई ऋणमा स्वीकार्न नसकिने प्रधानमन्त्रीको भनाइदेखि आन्दोलनबाट क्षति पुगेको रास्वपाको निष्कर्षसम्म
-
सहकारी ठगी : पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याएर दिनभर लिइयो बयान, अब पालो रविको