सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बढेको तलब नपाएको मलेसियामा कार्यरत नेपाली श्रमिकहरूको गुनासो

सोमबार, २४ असोज २०७९, १५ : २६
सोमबार, २४ असोज २०७९

मलेसियामा कार्यरत नेपाली श्रमिकहरूले बढेको स्केलअनुसार पारिश्रमिक नपाएको गुनासो गरेका छन् । मलेसिया सरकारले हाल श्रमिकको न्युनतम तलब (बेसिक सेलसी) मासिक १५०० रिंगेट बनाएको छ । तर, नेपाली श्रमिकहरूले भने नयाँ तलबमान अनुसार नपाएको गुनासो गरेका हुन् । 

 ग्यालेक्सी फोर्स सेक्युरिटी सर्भिसमा कार्यरत कैलालीका दमन देउवाले आफुले बेसिक सेलरी नै नपाएको गुनासो गरे । ‘मलेसिया सरकारले बेसिक सेलरी १५०० रिंगेट भनेको छ । तर, हाम्रो कम्पनीले अहिले पनि १२०० कै दरले दिइरहेको छ,’ उनले भने । 

त्यस्तै रोल्पाका प्रदीप मगरले सेक्यूरटी गार्डमा दैनिक १७ घण्टाका दरले काम गर्दा पनि महिनामा १८०० रिंगेट मात्र तलब पाइरहेको बताए । जबकी ८ घण्टा काम गरेकै १५०० रिंगेट तलब तोकिएको छ । उनले दैनिक १८ घण्टा काम गर्दा पनि १८०० रिंगेट मात्र पाइरहेको गुनासो गरे । 

‘दैनिक ८ घण्टा काम गरेवापत १५०० रिंगेट दिनुपर्ने भनिएको छ । तर, मैले दैनिक १७ घण्टा ड्यूटी गर्छु । तलब दिने बेला १८०० रिंगेट मात्र आउँछ । किन यति कम आयो भनेर सोध्दा तेरो तलब यति नै हो भन्छ,’ प्रदीपले भने । 
रोल्पाकै तिर्स गिरीले आफ्नो कम्पनीले १४०० रिंगेट मात्रै दिइरहेको बताए । निर्माण क्षेत्रमा कार्यरत उनले आफूले कम्पनीसँग कुरा गर्दा तलब नै यति आउने जवाफ दिएको बताए । 

चितवनका हरिप्रसाद तिमिल्सिनाले पनि आफूले काम गर्दै आएको कम्पनीले मासिक १२०० रिंगेट मात्र दिने गरेको बताए । टीम फोर्स सेक्युरीटी कम्पनीमा काम गर्दै आएका उनले बढेको तलब नदिएको बताए । उक्त कम्पनीले मलेसिया सरकारले बढाए अनुसार तलब नदिएपछि धनकुटाका रमेश विष्टले कम्पनी नै छोडेर नेपाल आएका थिए । 

कम्पनीहरूले तलब बढाउन आग्रह गर्दा एग्रिमेन्ट (सम्झौता) सकिएर नयाँ सम्झौता गरिएको खण्डमा मात्र तलब बढाउन सकिने जवाफ दिने गरेका छन् । मलेसिया सरकारले नै श्रमिकलाई १५०० रिंगेट न्युनतम तलब अनिवार्य गरेको हो । तर, धेरैजसो विदेशी कामदारले सोही अनुसार तलब नपाएको उनीहरूको गुनासो छ । 

यसअघि मलेसियाका श्रमिको न्यूनतम मासिक तलब १२०० रिंगेट थियो । अहिले बढाएर १५०० पु¥याइएको हो । तलब बढाइएसँगै आफ्नो पारिश्रमिक बढ्ने आशामा रहेका धेरै नेपालीहरू सोही अनुसार तलब नपाउँदा निराश भइरहेका छन् । दैनिक ८ घण्टा ड्यूटी गर्न पाइने र त्यस वापत मासिक १५०० रिंगेट तलब दिनुपर्ने हुन्छ । त्यसमा थप २ घण्टासम्म ओभरटाइम काम गर्न पनि पाइन्छ । तर, सरकारले तलब बढाएसँगै कम्पनीहरूले बढेअनुसार तलब दिनुको साटो ओभरटाइम पनि कटौती गर्ने गरेका छन् । 

कम्पनीहरूको चलाखी 
मलेसिया सरकारले १२०० बाट बढाएर १५०० न्युनतम तलब पुर्याएपछि कम्पनीहरूले सोही आधारमा तलब नदिएको समस्या त एकातिर छ । अर्को भनेको कामदारले यसअघि १२०० न्युनतम तलब हुँदा गरिरहेको आम्दानीभन्दा १५०० पुर्‍याउँदा कम कमाइरहेका छन् । 

पहिला १२०० तलब हुँदा ओभरटाइम धेरै दिइरहेका थिए । र एउटा कामदारले न्यूनतम २००० रिंगेटभन्दा बढी कमाइरहेका थिए । तर, अहिले १५०० तलब बनाउँदा ओभरटाइम घटाइदिएका छन् । जसका कारण एक कामदारले मासिक १७ देखि १८०० रिंगेट मात्र आम्दानी गर्न सकेको उनीहरूको भनाइ छ । 

त्यसमाथि तलब बढाउँदा मलेसियामा महंगी पनि बढेको छ । जसले गर्दा वचतको हिसाब निकाल्दा उस्तै अवस्था रहेको मलेसियामा काम गर्दै आएका देवराज तिम्सिनाले बताए । 
‘१२÷१३ सय बेसिक सेलरी हुँदा ओटी (ओभरटाइम) चल्थ्यो । कम्पनीमा काम गर्ने धेरै नेपालीले २५÷२६ सयसम्म तलब थाप्थे । अहिले १५०० बेसिक सेलरी भएपछि सामानमा महँगी अत्यधिक मात्रामा बढेको छ । धेरै कम्पनीले ओटी दिन छोडेका छन् । अहिले महिनामा १७/१८ सय मात्र तलब आउँछ,’ उनले भने । 

कम्पनीहरूले चलाखी गरेर पैसा कम दिने उपाय अपनाएको उनको भनाइ छ । यसैबीच न्युनतम तलब नपाएको जस्ता समस्या नेपाली दूतावाससम्म पुग्न थालेको छ । त्यसरी गुनासो आएको खण्डमा दूतावासले कम्पनीसँग कुरा गरेर समस्याको समाधान गर्ने गरेको दूतावासकी द्वितीय सचिव यशु बस्नेतले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप