बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एमालेमा कमल थापाको ‘इन्ट्री’, के भन्छन् नेताहरु ?

सोमबार, २४ असोज २०७९, १५ : २१
सोमबार, २४ असोज २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आइतबार मनोनयन दर्ता सम्पन्न भएको छ । आइतबार नै मकवानपुरबाट प्रतिनिधिसभातर्फ २ र प्रदेशका ४ क्षेत्रका लागि उम्मेदवारहरुले मनोनयन दर्ता गरिसकेका छन् ।

प्रतिनिधिसभा सदस्य पदका लागि मकवानपुर क्षेत्र नम्बर–१ मा एमालेबाट राप्रपा नेपालका अध्यक्ष कमल थापाले उम्मेदवारी दिएका छन् । उनले गत शनिबार बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीबाट टिकट लिएका थिए । टिकट लिए लगत्तै उनी हेटौंडा आएर आइतबार एमालेको आधिकारिक उम्मेदवारको रुपमा मनोनयन दर्ता गरेका थिए ।

यस अघि एमालेले रामेश्वर रानालाई सो क्षेत्रमा उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, त्यसको केही समय नबित्दै एमाले मकवानपुरका इन्चार्जसमेत रहेका रानाको टिकट खोसेर राप्रपा नेपालका अध्यक्ष थापालाई टिकट दिएको थियो ।

एमाले मकवानपुरका नेताहरुले पार्टी नेतृत्वको सो निर्णयप्रति असन्तुष्टि जनाएका छन् । एमालेका केही नेताले त कमल थापालाई सघाउन नसकिने भन्दै टिकट फिर्ता लिएर रानालाई नै उम्मेदवार बनाउन मागसमेत गरे । तर, उनीहरुको माग सम्बोधन हुन सकेन ।

उनीहरुको माग सम्बोधन नभएपछि आइतबार बिहानैदेखि एमाले मकवानपुरको पार्टी कार्यालय तनावमय बन्यो । कार्यकर्ताहरुले पार्टी कार्यालयमा तालाबन्दी गर्नुको साथै व्यानर तथा फ्लेक्स बोर्डहरु च्यातेका थिए । कार्यकर्ताको विरोधका कारण एमालेका उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रमसमेत केहीबेर प्रभावित बनेको थियो । यद्यपि, आइतबार दिउँसो ३ बजेपछि भने मकवानपुरको संघ तर्फका १ र प्रदेशतर्फका ४ जना उम्मेदवारले मनोनयन दर्ता गराएका थिए ।

राप्रपा नेपालका अध्यक्ष थापाले भने विधिवत रुपमा साइत हेराएर आइतबार करिब साढे ११ बजेको समयमा उम्मेदवारी दर्ता गराएका थिए ।

कमल थापा एउटा परिस्थितिको उपज हो : सचिव सिग्देल

नेकपा एमाले मकवानपुरका सचिव एवम् प्रचार विभाग प्रमुख नवीन सिग्देलले पार्टीले कमल थापालाई टिकट दिएको जानकारी पाए लगत्तै ‘अनिष्ट’ भन्दै प्रतिक्रिया दिएका थिए । शनिबार उनले पार्टीका नेता कार्यकर्ताका लागि कमल थापा सही व्यक्ति नहरेको जनाएका थिए ।

सचिव सिग्देलले रातोपाटीलाई प्रतिक्रिया दिँदै भने, ‘कमल थापालाई पार्टीले टिकट दिनु परिस्थितिको उपज हो ।’ उनले नेकपा एकीकृत समाजवादी पार्टीलाई लक्षित गर्दै एमाले विभाजन गरेर सत्ता लोभमा परेका व्यक्तिहरुको कारण कमल थापालाई उम्मेदवार स्वीकार गरेर अघि बढ्नु पर्ने परिस्थिति सिर्जना भएको बताए ।

उनले एमालेको चुनाव चिन्ह ‘सूर्य’ लिएर उठ्ने र टिकट पनि सोही अनुसार व्यवस्थापन भएको हुँदा कमल थापा एमालेको आधिकारिक उम्मेदवार हुने भएकाले केन्द्रको निर्णयलाई स्वीकार गरेर अघि बढ्नुपर्ने बताए ।

‘कमल थापा एउटा परिस्थितिको उपज हो । हिजोका दिनमा कम्युनिस्ट आन्दोलनलाई मास्न हिँडेका वा आफ्नै पार्टी विभाजन गरेर कम्युनिस्ट आन्दोलनलाई समाप्त पर्न अग्रसर भएकाहरुको उपज हो यो,’ उनले भने, ‘कमल थापा एमालेको सूर्य चिह्नबाट लड्दै छन् । कमल थापा एमाले संसदीय दलकै सदस्य हुने र एमालेको ह्विप मान्ने भएकाले केन्द्रको निर्णय स्वीकार गरेर जित सुनिश्चित पार्नको निम्ति पार्टीको सबै शक्ति परिचालन भएर अघि बढ्छ, बढ्नुपर्छ ।’

केन्द्रको निर्णय स्वीकार गर्नुको अरु कुनै विकल्प नरहेको समेत उनले बताए । ‘पार्टीभित्र आफ्ना भनाइ हुन सक्छ, मतभेद पनि हुन सक्छ । तर निर्णय भइसकेपछि कार्यान्वयन गरेर अघि बढ्नुपर्छ,’ उनले भने ।

कमल थापा र एमालेबीच विगतदेखि नै संघर्ष रहँदै आएको र उक्त संघर्षको स्कुलिङबाट पार्टी निर्माण गरेर कार्यकर्ता तयार गरेको अवस्थामा केन्द्रले थापालाई टिकट दिने निर्णय गरेर विशिष्ट अवस्था सिर्जना गरेको उनको भनाइ छ ।

उनले भने, ‘अहिले केन्द्रले अप्रत्यासित रुपमा कमल थापालाई एमालेबाट टिकट दिने निर्णय गरेको छ । अहिलेको अवस्था विशिष्ट छ । एकातर्फ सत्ता गठबन्धनसँग लड्नुपर्ने छ भने अर्कोतर्फ एमालेमाथि विभिन्न शक्तिको प्रहार चलिरहेको छ । त्यसैले केन्द्रले बनाएको रणनीतिलाई नै हामीले कार्यान्वयन गरेर जाने हो ।’

यता २०७४ को निर्वाचनमा मकवानपुर–१ बाटै कमल थापालाई हराएर चुनाव जितेका एमालेका नेता कृष्णप्रसाद दाहाल पनि केन्द्रको निर्णयप्रति असन्तुष्ट देखिएका छन् । पार्टी नेतृत्वले जिल्लामा सक्षम उम्मेदवार हुँदाहुँदै कमल थापालाई टिकट दिएर एमाले कार्यकर्ताहरुमाथि अन्याय गरेको उनले बताए ।

मकवानपुरमा एमाले एक्लै बलियो शक्ति रहेको र आफ्ना नेताहरु नै चुनाव लड्न तयारी रहेको अवस्थामा थापालाई टिकट दिएको भन्दै उनले दुःख व्यक्त गरे ।

उता एमाले हेटौंडा उपमहानगरपालिका नगर कमिटी अध्यक्ष शालिकराम पुडासैनीले पार्टी नेतृत्वको कारण कमल थापालाई चुनावमा बोक्नुपर्ने बाध्यात्मक परिस्थिति बनेको बताए । उनले पार्टीबाट सक्षम र शक्तिशाली नेतालाई पाखा लगाएर अन्य पार्टीको कमजोर उम्मेदवारलाई अघि सारेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले पार्टीको कार्यकर्ता भइसकेपछि आफूहरुले केन्द्रको निर्णय मान्दिनँ भन्न नमिल्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप