शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

इलामबाट प्रतिनिधिसभा २५ र प्रदेशसभामा २९ को मनोनयन

सोमबार, २४ असोज २०७९, १४ : ३१
सोमबार, २४ असोज २०७९

इलामबाट प्रतिनिधिसभा सदस्यका लागि २५ जनाले उम्मेदवारी दिनुभएको छ । जिल्लामा दुई पार्टीका जिल्ला अध्यक्षबीच प्रतिस्पर्धा हुने भएको छ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले यही जिल्लाबाट उम्मेदवारी दिएका छन् । विगत वर्षमा एउटै पार्टीबाट दुई क्षेत्रबाट निर्वाचित हुँदै आएका उनीहरूले यसपटक फरकफरक दलबाट उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

उनीहरूसँगै इलाममा प्रतिनिधिसभामा २५ र प्रदेशसभामा २९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका झलनाथ खनालको इलाम क्षेत्र नं १ मा ३ स्वतन्त्रसहित प्रतिनिधिसभामा ११ जनाले उम्मेदवारी दिएका छन् । प्रदेशसभातर्फ इलाम क्षेत्र नं १ को (क) मा आठ जना र इलाम क्षेत्र नं १ को (ख) मा ६ जनाले उम्मेदवारी दिएका छन्। खनालसँग प्रतिस्पर्धाका लागि नेकपा (एमाले) का तर्फबाट एमाले इलामका अध्यक्ष महेश बस्नेतले उम्मेदवारी दर्ता गराएका हुन् ।

पूर्वसभामुख नेम्वाङले जित्दै आएको इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ दुई  स्वतन्त्रसहित १४ जनाले उम्मेदवारी दिएका छन् । प्रदेशसभातर्फ इलाम क्षेत्र नं २ को (क) मा आठ जना र इलाम क्षेत्र नं २ को (ख) मा १ स्वतन्त्र सहित आठ जनाले उम्मेदवारी दिएका छन् ।

नेम्वाङ आफैं आएर मनोनयन गरे भने खनालका तर्फबाट उनकै पार्टीका प्रतिनिधिबाट मनोनयन दर्ता भएको थियो । नेम्वाङसँग प्रतिस्पर्धाका लागि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्काले मनोनयन दर्ता गराएका छन् । खनालले वारेस नाममार्फत गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको इलाममा दुई लाख २४ हजार सात सय ७८ मतदाता रहेका छन् । 

इलाममा यस पटकको चुनाव निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । ठूला नेतासँग जिल्ला अध्यक्षको प्रतिस्पर्धा निकै कडा हुने अनुमान लगाउन सकिन्छ । पूर्वप्रधानमन्त्री खनालले पार्टी नै परिवर्तन गरेर काँग्रेससँगको सहकार्यमा मत लिनुपर्ने हुन्छ । उता नेम्बाङका प्रतिस्पर्धी नेपाली कांग्रेसका जिल्ला सभापति पनि समाजसेवी र जिल्लाकै लोकप्रिय नेताका रुपमा परिचित रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप