नेपालको प्रतिबन्धका बीच कतारले माग्यो घरेलु कामदार

कतार सरकारले घरेलु कामदारका लागि आवेदन आह्वान गरेको छ । कतारको मिनिस्ट्री अफ इन्टेरियर (आन्तरिक मन्त्रालय) ले एक सूचना जारी गर्दै नेपाली घरेलु कामदारका लागि आवेदन आह्वान गरेको हो । जबकी नेपालले २०७३ सालदेखि घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएको अवस्था छ । नेपालले प्रतिबन्ध लगाएकै घरेलु कामदारका लागि आवेदन दिन भन्दै मन्त्रालयले सार्वजनिक सूचना जारी गरेको हो । काठमाडौंमा रहेको कतार भिसा सेन्टर (क्यूभीसी) बाट आवेदन दिन सकिने मन्त्रालयले जनाएको छ ।
सरकारले घरेलु कामदार पठाउने विषयमा छलफल चलाइरहेका बेला कतारले आवेदन आह्वान गरेको हो । सूचना निकाल्दै क्यूभीसीले महिला तथा पुरुषले घरेलु कामदारका लागि आवेदन दिन सकिने र त्यसका लागि समय बुक गर्न सकिने जनाएको छ ।
घरेलु कामदार र सोही हैसियतका कामदारका लागि भिसा आवेदन लिन सकिने क्यूभीसीले जारी गरेको सूचनामा उल्लेख छ । क्यूभीसीमा मेट्राश एप र केन्द्रको वेबसाइटबाट एपोइन्टमेन्ट बुकिङ गरेर आवेदन बुझाउन सकिने जनाएको छ ।
मन्त्रालयले २९ सेप्टेम्बर २०२२ (१२ असोज) मा उक्त सूचना जारी गरेको थियो । उक्त विषय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय समक्ष पुगेपछि मन्त्री शेरबहादुर कुँवरले चासो राखेका छन् । तर, यो विषयमा श्रम मन्त्रालय तथा वैदेशिक रोजगार विभागका अधिकारीले भने अनविज्ञता प्रकट गर्दै आएका छन् ।
मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले यो विषयमा बुझ्नुपर्ने बताए । ‘जब हामीले सूचना पायौं । तत्कालै दशैं विदा भयो । के रहेछ ? कसरी आयो ? भन्ने कुरा अब बुझ्छौं,’ प्रवक्ता घिमिरेले भने ।
कतारले घरेलु कामदार लैजाने विषयमा नेपालमाथि चर्को दबाब दिँदै आएको छ । पछिल्लो समय कतारमा घरेलु कामदारको अभाव छ । जसले गर्दा कतारले नेपालबाट घरेलु कामदार लैजान यसअघिको प्रतिबन्ध फुकुवा गर्न अनुरोध गर्दै आएको हो ।
केही महिना अगाडि नेपाल र कतारका अधिकारीबीच भएको बैठकमा कतारले घरेलु कामदारमाथिको प्रतिबन्ध खोलिदिन अनुरोध गरेको थियो । ‘हामी अरू कुरा जे गर्न पनि तयार छौं । तपाईहरूलाई ट्रेनिङ दिने, कामदारको सुरक्षा लगायतका कुरा हामी गर्छौ । तर, प्रतिबन्ध खोलिदिनु भनेर अनुरोध भएको थियो,’ प्रवक्ता घिमिरेले भने ।
उनीहरूले घरेलु कामदार पठाउन सहज गरिदिए नेपालबाट विश्वकपका लागि आवश्यक पर्ने थप कामदार लैजाने समेत आश्वासन दिएको थियो ।
उनीहरूको अनुरोधलाई स्वीकार गर्दै नेपालले इम्प्लिमेन्टेशन प्रोटोकल पठाउन अनुरोध गरेको थियो । ‘संसदीय समिति रोक लगाउन भनेपछि सरकारले घरेलु कामदार रोकेको थियो । तपाईहरू इम्प्लिमिन्टेशन प्रोटोकल पठाउनुहोस् हामी त्यसलाई सरकारलाई पठाएर कार्यान्वयमा जान्छौं भनेका थियौं । त्यही आधारमा पठाउने सहमति भएको थियो,’ प्रवक्ता शर्माले भने ।
तर, कतारले आधिकारिक अनुरोधविनै अहिले एकाएक सूचना जारी गरेको हो । जसले गर्दा मन्त्रालयका अधिकारी चकित परेका छन् । ‘उनीहरूले अहिलेसम्म केही पनि पठाएका छैनन् । केही पनि नपठाइ एकाएक घरेलु कामदार लैजाने भनेर सूचना आयो । के कति कारणले आयो ? त्यो बुझ्नुपर्छ,’ प्रवक्ता घिमिरेले भने ।
कतारले आवेदन आह्वान गरेपनि नेपालले सहमति नदिई कोही पनि कामदार जान नपाउने उनको भनाइ छ । ‘हामीले कुनै सहमति नजनाइ, कुनै सहमति नगरी हाम्रा श्रमिकलाई जाउ भन्न सकिँदैन,’ उनले भने ।
श्रम मन्त्रालयले प्रतिबन्ध फुकुवा गर्ने विषयमा तत्कालिन संसदीय समितिमा कुरा उठाएको थियो । तर, कुनै सुनुवाई भएको थिएन । कतारले नेपालको अनुमतिविना नै त्यसरी घरेलु कामदारको लागि भनेर सूचना निकाल्न पाउँदैन।
कतारले घरेलु कामदारमाथि प्रतिबन्ध फुकुवा गरेर नपठाए अन्य क्षेत्रका कामदार पनि नलैजाने चेतावनी समेत दिएको छ ।
कतारमा हाल घरेलु कामदारको माग अत्यधिक छ । हाल कतारमा साढे ३ लाख भन्दा बढी घरेलु कामदारको माग रहेको बताइएको छ । कतारले हाल इण्डोनेसिया, फिलिपिन्स लगायतका देशहरूबाट घरेलु कामदार लगिरहेको छ । तर, उनीहरूमा भाषा र सीपको अभावले गर्दा कतारले अन्य देशबाट पनि घरेलु कामदार लैजाने प्रक्रिया अगाडि बढाइरहेको हो ।
सरकारको दोहोर नीति
घरेलु कामदारका सम्बन्धनमा नेपालको दोहोरो नीति छ । जोर्डनमा घरेलु कामदार पठाइरहेको नेपालले अन्य मुलुकमा भने प्रतिबन्ध लगाएको छ । जोर्डनमा सम्झौता नै गरेर नेपाली श्रमिकहरू घरेलु कामदारको रूपमा गइरहेका हुन् । हालसम्म जोर्डनमा साढे ३ हजार भन्दा बढी नेपालीहरू घरेलु कामदारको रूपमा काम गर्दै आएका छन् ।
घरेलु कामदार पठाउने विषयमा २०७२ सालमा ‘वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका’ जारी भएको थियो । उक्त निर्देशिकाले दुई देशबीच सम्झौता भएको खण्डमा वा दुवै देशका मेनपावर व्यवसायी बीचको सहकार्यमा घरेलु कामदार पठाउन सक्नेछ भन्ने छ ।
जोर्डनमा सोही आधारमा कामदार गइरहेका हुन् भने अन्य देशसँग श्रम सम्झौता तथा दुई देशका मेनपावर व्यवसायीबीच सम्झौता हुन नसक्दा २०७३ सालदेखि प्रतिबन्ध छ । त्यस्तै नेपालले घरेलु कामदारका रूपमा विभिन्न मुलुकमा रहेका श्रमिकहरू नेपाल फर्किएर पुनः श्रम स्वीकृति लिएर जान पाउने व्यवस्था गरेको छ । जसले गर्दा विगतमा लामो समयदेखि घरेलु कामदारको रूपमा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरू नेपाल फर्किने र पुनः वैधानिक रूपमा नै घरेलु कामदारको रूपमा जाने गरेका छन् ।
तत्कालिन श्रममन्त्री कृष्णकुमार श्रेष्ठले लामो समयदेखि नेपाल आउन नसकेका घरेलु कामदारलाई पुनः श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरेका थिए । उनले घरेलु कामदारको श्रम स्वीकृति रोक्दा विभिन्न माध्यमबाट खाडी मुलुक पुगेका महिला परिवारसमेत भेट्न नपाएपछि नेपालले २०७८ को फागुनमा वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउने निर्देशिका, २०७२ लाई संशोधन गर्दै समस्यामा परेका महिलाहरूलाई पुनः श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरेका थिए ।
सोही आधारमा अहिले धेरै महिलाहरू नेपाल फर्किएर पुनः वैधानिक भएर घरेलु कामदारको रूपमा वैदेशिक रोजगारीमा गइरहेका छन् । मेनपावर व्यवसायीले भने उक्त कुराको विरोध गर्दै आएका छन् । एकातिर घरेलु कामदार पठाउन रोक लगाउने अनि अर्कोतिर निर्देशिकाको आडमा अवैध कामदारलाई वैध बनाउने सरकारले नीतिले अर्को समस्या निम्त्याउनेमा उनीहरूको चिन्ता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा