लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइँदै
नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा बिहीबार पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइँदैछ । बिदाका कारण अदालत बन्द रहेका कारण सोमबार मात्र म्याद थपका लागि अदालत लाग्न लागिएको हो । प्रहरी स्रोतका अनुसार आज दिउँसोसम्ममा लामिछानेलाई अदालत लैजाने तयारी गरिएको छ ।
कतारको दोहाबाट बिहीबार बिहान ११ बजे काठमाडौँस्थित अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएपछि प्रहरीले सन्दीपलाई पक्राउ गरेको थियो । गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो । त्यसलगत्तै प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिई सन्दीपको खोजतलास सुरु गरेको थियो । पक्राउ परे लगत्तै सन्दीपलाई प्रहरी वृत्त गौशालामा लगिएको थियो ।
फौजदारी कसुरमा अनुसन्धानका लागि प्रहरीले २४ दिनसम्मको समय पाउनेछ । तर त्यसका लागि अदालतबाट म्याद लिनुपर्ने हुन्छ । पक्राउ गरी अनुसन्धान गर्नका लागि प्रहरीले यसअघि नै काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिइसकेको थियो ।
सामान्यता जबरजस्ती करणीजस्तो गम्भीर फौजदारी जाहेरीमा अनुसन्धानका लागि पहिलो पटक १० दिनको समय दिने गरिन्छ । त्यसपछि सात दिन र त्यसपछि पनि अनुसन्धान नसकिएमा अर्को सात दिन वा पाँच दिनको समय अदालतले दिने गरेको छ । पक्राउ परेको मितिले २४ दिनसम्म अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ र २४ औँ दिन सार्वजनिक बिदा परेमा त्यसपछि अदालत खुलेको दिन अदालतमा मुद्दा दर्ता गरिसक्नुपर्नेछ ।
प्रहरीमा जाहेरी परेको कारण अब प्रहरीले सन्दीपसँग बयान लिई सन्दीपले अन्य कुनै व्यक्तिको नाम लिएका ती व्यक्तिहरुसँग पनि बयान लिन वा बुझ्न सक्नेछ । अभियोग पुष्टि हुने आधार र प्रमाण भएमा प्रहरीले अदालतबाट पाएको म्यादभित्रै अनुसन्धान सकी कुन कानुनको कुन दफा लगाएर मुद्दा दर्ता गर्नुपर्ने हो सो को रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउनेछ । त्यसपछि सरकारी वकिलले सरकारवादी मुद्दा बनाएर अदालतमा मुद्दा दर्ता गर्नेछ ।
काठमाडौँ जिल्ला अदालतको कार्यक्षेत्रमा कसुर भएको भनी जाहेरी परेकाले काठमाडौँ जिल्ला अदालतमै उक्त मुद्दा दर्ता हुनेछ । जाहेरीमा जबरजस्ती करणीको कसुर गरेको भनी उल्लेख गरेकाले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ अनुसारको कसुर गरेको अभियोगमा सन्दीपविरुद्ध मुद्दा दर्ता हुन सक्नेछ । दफा २१९ को उपदफा २ अनुसार नाबालिगमाथि जबरजस्ती करणी गरेको कसुरमा सन्दीपमाथि मुद्दा दर्ता हुन सक्नेछ ।
जाहेरी दिने नाबालिगको उमेर १७ वर्ष रहेको भनिएको छ र १७ वर्ष उमेर निश्चित भएमा सन्दीपमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा ३घ अनुसार सजायको मागदाबी गर्दै मुद्दा दर्ता हुनेछ । दफा २१९ को उपदफा ३घ मा पीडित नाबालिगको उमेर १६ वर्षभन्दा माथि र १८ वर्षभन्दा कम उमेरको भए १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
साथै सोही संहिताको दफा २२८ मा क्षतिपूर्ति भराउने व्यवस्था समेत रहेको छ । सोही व्यवस्थालाई हेर्दा पीडकबाट पीडितलाई क्षतिपूर्ति भराउने सम्बन्धमा पनि वादीले मागदाबी लिन सक्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन भ्रमण स्वीकृत गर्न मन्त्रिपरिषद बैठक बस्दै
-
पाकिस्तानमा शिया–सुन्नीबिचको लडाईमा दर्जनौँको मृत्यु
-
किन हडतालमा उत्रिए वायुसेवा निगमका पाइलटहरू ?
-
पूर्व प्रधानमन्त्रीहरूसँग ओली : यसपटक चीनसँग ऋण सम्झौता गर्दिनँ
-
बालेन र हर्कलाई मुकुलको आह्वान : वैकल्पिक राजनीतिक धार निर्माणका लागि एकजुट हौँ
-
काठमाडौँ–१६ को उपनिर्वाचनमा १० स्वतन्त्रसहित १८ जना मैदानमा, कसको चुनाव चिह्न के ? (सूचीसहित)