शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

प्रत्यक्ष प्रतिस्पर्धामा ठूला पार्टीका महिला नेत्री

आइतबार, २३ असोज २०७९, २२ : २०
आइतबार, २३ असोज २०७९

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको चुनावमा हालसम्म दुई सय ३१ महिलाले उम्मेदवारीका लागि मनोनयनपत्र दर्ता गरेका छन् । निर्वाचन आयोगको बेलुका ९ बजेसम्म प्राप्त तथ्याङ्कानुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचनमा प्रतिस्पर्धा गर्न दुई सय ३१  महिलाले उम्मेदवारी दिएका हुन् ।

उम्मेदवारी दिनेमा नेपाली कांग्रेसबाट पाँच जना रहेका छन् । अर्घाखाँचीबाट कांग्रेस नेत्री तथा पूर्वउपसभामुख पुष्पा भुसाल, तेह्रथुमबाट सीता गुरुङ, मोरङ–२ बाट सुजाता कोइराला, सिरहा–२ बाट चित्रलेखा यादव र मकवानपुर–१ बाट महालक्ष्मी उपाध्याय ‘डिना’ रहेकी छन् ।

त्यस्तै नेकपा (एमाले)का सात जनाले उम्मेदवारी मनोनयनपत्र दर्ता गरेका छन् । त्यसमध्ये स्याङ्जा–१ बाट पद्मा अर्याल, कञ्चनपुर–३ बाट निरूदेवी पाल, दाङ–१ बाट शान्ता चौधरी, दाङ–३ बाट कोमल वली, सुनसरी–३ बाट भगवती न्यौपाने, डोटीबाट गौरी ओली र कास्की–२ बाट विद्या भट्टराई रहेकी छन् । नेकपा (माओवादी केन्द्र)बाट काठमाडौं–२ बाट ओनसरी घर्ती, काठमाडौं–९ बाट कल्पना धमला, काठमाडौं–७ बाट मानुषी यमी भट्टराई, ललितपुर–३ बाट पम्फा भुसाल र दाङ–२ बाट रेखा शर्मा गरी पाँच महिलाले उम्मेदवारी दिएकी छन् । 

त्यस्तै नेकपा (एकीकृत समाजवादी)बाट गुल्मी–२ मा रामकुमारी झाँक्रीले उम्मेदवारी दिएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट मोरङ–३ मा रेखा थापाले उम्मेदवारी दिएकी छन् । प्रतिनिधिसभातर्फ कुल दुई हजार चार सय ७४ मध्ये दुई हजार दुई सय ४२ पुरुष र महिला दुई सय ३१ जना प्रतिस्पर्धामा छन् भने प्रदेशसभामा तीन हजार तीन सय ९३ मध्ये पुरुष तीन हजार ९९, महिला दुई सय ९३ र अन्य एक रहेको निर्वाचन आयोगले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप