बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

संविधानलाई ट्र्याकमा ल्याउन गठबन्धन गरिएको हो : शेखर कोइराला

आइतबार, २३ असोज २०७९, २१ : ४३
आइतबार, २३ असोज २०७९

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको गठबन्धन संविधानलाई ट्र्याकमा ल्याउनका लागि भएको बताएका छन् । गठबन्धनका विषयमा असन्तुष्टि व्यक्त गर्दै आएका कोइरालाले आइतबार प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै गठबन्धनको आवश्यकता रहेको बताएका हुन् ।

‘अहिले हामीले गठबन्धन किन गर्नुप¥यो भने संविधान ट्र्याकबाट बाहिर गएको थियो । फेरि संविधान ट्र्याकमा ल्याउनका लागि हामीले गठबन्धन गरेको हो,’ कोइरालाले भने, ‘गठबन्धन गर्दा हामीले भनेका सबै कुरा पूरा हुँदैन । टिकट पनि त्यसरी वितरण हुँदैन । यसलाई सहज रुपमा लिनु पर्छ । हामीले धेरै टिकट लिन प्रयास गरेका मात्र हौं ।’ यसअघि उनले एक सय सिटभन्दा तल कांग्रेस झर्नु नहुने र आफ्नो पक्षलाई ३५ प्रतिशत सिट दिनुपर्ने बटमलाइन राखेका थिए । तर सो बटमलाइन पूरा भएन नि भन्ने प्रश्नमा कोइरालाले भने, ‘सबै कुरा भनेको हुँदैन, गठबन्धन भएपछि त झन् हुने कुरा थिएन, हामीले बढी सिट लिन प्रयास गरेका हौं ।’

उनले आफू संघीय संसदको निर्वाचनमा गठबन्धनको विरोधी नभएको पनि स्पष्ट पारे । ‘स्थानीय तहको निर्वाचनमा भने म गठबन्धनको विरोधी हुँ किनभने पार्टीलाई जग बसाल्ने हो भने स्थानीय निर्वाचन नै हो । त्यसमा गठबन्धन गर्दा पार्टी समाप्त हुन्छ,’ कोइरालाले भने, ‘यो संसदीय निर्वाचन भनेको भिन्नै हो । यसलाई अर्कै ढंगले लिनुपर्छ । अहिले गठबन्धन गरेको संविधानलाई ट्र्याकमा ल्याउनका लागि हो ।’ निर्वाचनसम्म आफूहरु गठबन्धनलाई अगाडि बढाउने र निर्वाचनपछि कसरी जाने भन्ने विषयमा त्यतिबेलै निर्णय हुने उनको भनाइ छ ।

उनले गठबन्धनको नेतृत्व कांग्रेसले गरिराखेको र निर्वाचनपछि पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताए । यद्यपि प्रधानमन्त्री को हुन्छ भन्ने विषय अहिले नै भन्न नसकिने उनको भनाइ थियो । ‘अहिले कहाँ प्रधानमन्त्रीको कुरा आयो ? निर्वाचन हुँदैछ, कसले जित्छ, त्यसपछि संसदमा जाने । संसदीय दल बनाउने कुरै बाँकी छ,’ कोइरालाले भने । उनले आफ्नो पार्टीको मुख्य एजेण्डा भनेकै संविधानलाई ट्र्याकमा ल्याउने रहेको बताए । कोइरालाले आजै मोरङको क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । उनीसँग एमालेबाट लालबाबु पण्डितले प्रतिस्पर्धा गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप