बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मोरङको ६ संघीय निर्वाचन क्षेत्रमा ९८ र १२ प्रदेश निर्वाचन क्षेत्रमा १०९ जनाको उम्मेदवारी

आइतबार, २३ असोज २०७९, २१ : ३९
आइतबार, २३ असोज २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मोरङको १८ पदमा २०७ जनाले उम्मेदवारी दिएका छन् ।

६ वटा संघीय निर्वाचन क्षेत्र रहेको मोरङमा ९८ जनाको उम्मेदवारी परेको छ भने १२ प्रदेशसभा निर्वाचन क्षेत्रमा १०९ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।

कुन निर्वाचन क्षेत्रमा कसको उम्मेदवारी ?

मोरङ क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्य पदमा ८ जनाको उम्मेदवारी परेको क्षेत्र नं. १ का निर्वाचन अधिकृत गोपालप्रसाद थापाले जानकारी दिए । प्रदेशसभातर्फ सोही निर्वाचन क्षेत्रको ‘क’ मा ४ र ‘ख’ मा ५ जनाको उम्मेदवारी परेको छ ।

क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमालेबाट निवर्तमान सांसद घनश्याम खतिवडाले उम्मेदवारी दिएका छन् । सोही क्षेत्रमा सत्तारुढ गठबन्धनबाट कांग्रेसका डिकबहादुर लिम्बूले उम्मेदवारी दिएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमल बहादुर श्रेष्ठ, स्वतन्त्रबाट तिलक बहादुर मगर, राप्रपाबाट होमनाथ गौतम, स्वतन्त्रबाट मनिषा सुवेदीलगायतले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

यस निर्वाचन क्षेत्रमा एमाले र सत्तारुढ गठबन्धनका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । २०७४ सालको निर्वाचनमा पनि लिम्बू र खतिवडा चुनावी मैदानमा उत्रिएका थिए । त्यस बेलाको निर्वाचनमा खतिवडाले लिम्बूलाई पराजित गरेका थिए ।

प्रदेशसभातर्फ मोरङ १ को ‘क’ मा गठबन्धनबाट माओवादी केन्द्रमा कुलबहादुर साम्बा र एमालेबाट उमाकान्त गौतमले उम्मेदवारी दिएका छन् । माओवादीबाट उम्मेदवारी दिएका साम्बा निवर्तमान प्रदेश सांसद हुन् । यस्तै स्वतन्त्रबाट फुल कुमारी पण्डित राई, राप्रपाबाट पूर्णबहादुर तामाङले प्रदेशमा उम्मेदवारी दिएका छन् ।

सोही निर्वाचन क्षेत्रको ‘ख’ मा गठबन्धनबाट एकीकृत समाजवादी पार्टीका उपेन्द्र घिमिरे र एमालेबाट खड्ग बहादुर बस्नेतले उम्मेदवारी दिएका छन् । घिमिरे प्रदेश १ का यातायात तथा सञ्चार मन्त्री हुन् । यस्तै स्वतन्त्रबाट दिपक राई, डिल्लीराम शर्मा अधिकारीलगायतले उम्मेदवारी दिएका छन् ।

क्षेत्र नं. २ मा ३० जनाको उम्मेदवारी

मोरङको क्षेत्र नं. २ मा ३० जनाको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृत नरेन्द्र केशरी पोखरेलले दिएको जानकारी अनुसार प्रतिनिधिसभा सदस्यमा १२, प्रदेश ‘क’ मा ११ र ‘ख’ मा ७ जनाको उम्मेदवारी परेको हो ।

प्रतिनिधिसभा सदस्यमा गठबन्धनबाट कांग्रेस नेतृ सुजाता कोइरालाले उम्मेदवारी दिएकी छन् भने एमालेबाट ऋषिकेश पोखरेलले उम्मेदवारी दर्ता गराएका हुन् । यसैगरी नेपाल किसान पार्टीबाट सुरेश कुर्वा, हाम्रो नेपाली पार्टीबाट विनोदमणी भट्टराई, राप्रपाबाट गोपाल दाहाल, लोसपाबाट नारायण प्रसाद गनगाइ, स्वतन्त्रबाट विशेश्वर ऋषिदेवलगायतले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी प्रदेश ‘क’ मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका गणेश उप्रेती (सुशील) ले र एमालेबाट दानबहादुर कार्कीले उम्मेदवारी दिएका छन् । यस्तै स्वतन्त्रबाट शमसेर बहादुर कार्की, फडिन्द्र थापा, राजेन्द्र शर्मालगायतले पनि प्रदेशसभातर्फ ‘क’ मा उम्मेदवारी दिएका छन् ।

सोही निर्वाचन क्षेत्रको ‘ख’ मा गठबन्धनबाट कांग्रेसका विनोद कार्की र एमालेबाट लिलाबल्भव अधिकारीले उम्मेदवारी दिएका छन् । यस्तै स्वतन्त्रबाट विष्णु बहादुर थापा, मो. कमुल मियालगायतले पनि प्रदेशतर्फ उम्मेदवारी दिएका छन् ।

क्षेत्र नं. ३ मा ५० जनाको उम्मेदवारी

मोरङ क्षेत्र नं. ३ मा संघ र प्रदेशमा गरी ५० जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा सदस्ययमा २९, प्रदेश ‘क’ मा ७ र ‘ख’ मा १४ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत रामहरि शर्मा काफ्लेले जानकारी दिए ।

संघमा गठबन्धनबाट कांग्रेसका सुनिल शर्मा र एमालेबाट भानुभक्त ढकालले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नायिका रेखा थापाले पनि यसै क्षेत्रबाट उम्मेदवारी दिएकी छन् ।

प्रदेश ‘क’ मा गठबन्धनबाट कांग्रेसका शेखरचन्द्र थापाले र एमालेबाट दिलिप कुमार राईले उम्मेदवारी दर्ता गराएका छन् । थापा प्रदेश १ मा वन तथा वातवरण मन्त्री हुन् भने राई पथरीशनिश्चिरे नगरपालिकाको निवर्तमान प्रमुख हुन् । यस्तै राप्रपाबाट तिर्थबहादुर गुरूङ, स्वतन्त्रबाट धनबहादुर कार्कीलगायतले प्रदेशसभातर्फ उम्मेदवारी दिएका छन् ।

सोही निर्वाचन क्षेत्रको प्रदेशसभा ‘ख’ मा एमालेबाट ज्ञानेन्द्र सुवेदी र गठबन्धनबाट एकीकृत समाजवादी पार्टीका लक्ष्मी कुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । सुवेदी बेलबारी नगरपालिकाका निवर्तमान प्रमुख हुन् भने श्रेष्ठ सुकुना स्कुलका पुर्व प्रधानध्यापक हुन् । यस्तै राप्रपाबाट रमेश रिजाल, स्वतन्त्रबाट यामकुमार श्रेष्ठलगायतले प्रदेशमा उम्मेदवारी दिएका छन् ।

मोरङ क्षेत्र नं. ४ मा ३६ जनाको उम्मेदवारी

मोरङ क्षेत्र नं. ४ मा संघ र प्रदेश गरी ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृत मणिराज पोखरेलका अनुसार संघमा १७, प्रदेश ‘क’ मा ८ र ‘ख’ मा ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधिसभा सदस्य पदमा गठबन्धनबाट माओवादी केन्द्रका अमनलाल मोदीले र एमालेबाट विनोद ढकालले उम्मेदवारी दिएका छन् । मोदी निवर्तमान सांसद हुन् भने ढकाल एमालेका केन्द्रीय सदस्य हुन् । २०७४ सालको निर्वाचनमा मोदीले नेपाली कांग्रेसका नेता महेश आचार्यलाई यस क्षेत्रमा पराजित गरेका थिए । यस पटक कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन छ ।

यस निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका नेत्र प्रसाद शिवाकोटी, स्वतन्त्रबाट महेश नेपाल, गोकुलप्रसाद पोखरेल, लोसपाबाट लक्ष्मण साह, राप्रपाबाट रवि रिजाल, नेमकिपाबाट श्यामबहादुर दर्जी, नेपाली कांग्रेस (बीपी)बाट अशोक पौडेलले पनि प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् ।

यस्तै, प्रदेश ‘क’ मा गठबन्धनबाट कांग्रेसका गुरूराज घिमिरे र एमालेबाट जय प्रसाद चौधरीले उम्मेदवारी दिएका छन् । प्रदेशसभा तर्फ राप्रपाबाट आश नारायण थारु, लोसपाबाट हेमन्ती कुमार सरदार, स्वतन्त्रबाट प्रधुमन चौधरी, नेपाली कांग्रेस (बीपी)बाट श्याम कुमार चौधरीले पनि उम्मेदवारी दिएका छन् ।

सोही निर्वाचन क्षेत्रको प्रदेशसभा ‘ख’ मा गठबन्धनबाट कांग्रेसका भीम पराजुलीले उम्मेदवारी दिएका छन् । मोरङ क्षेत्र नं. ४ ‘ख’ गठबन्धनमा कांग्रेसको भागमा परेको थियो । तर, यस निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीका नेता महेश रेग्मीले पनि प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट जीवन घिमिरेले उम्मेदवारी दिएका छन् । सत्तारुढ गठबन्धन छाडेर नेकपा एमालेसँग चुनावी तालमेल गरेको जनता समाजवादी पार्टीलाई नेकपा एमालेले धोका दिएको छ । एमालेले जसपाको भागमा परेको मोरङको २ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवारी दिएको हो । ४ ‘ख’ मा जसपाबाट सन्जय कुमार सिंह राजपुतले पनि उम्मेदवारी दिएका छन् । यस्तै राप्रपाबाट माधव प्रसाद आचार्य, स्वतन्त्रबाट पशुपति कुमार माझी, भिम बहादुर राजवंशीलगायतले प्रदेशमा उम्मेदवारी दिएका छन् ।

प्रदेशसभामा उम्मेदवारी दिएका कांग्रेसका पराजुली विराटनगर महानगरपालिकाका पूर्व प्रमुख हुन् । यस्तै एमालेका उम्मेदवार घिमिरे पूर्व सामाजिक विकास मन्त्री हुन् भने रेग्मी एकीकृत समाजवादी पार्टीको पोलिटब्यूरो सदस्य हुन् ।

मोरङ क्षेत्र नं. ५ मा ३२ जनाको उम्मेदवारी

मोरङ क्षेत्र नं. ५ मा ३२ जनाको उम्मेदवारी परेको छ । संघमा १६, प्रदेश ‘क’ मा ७ र ‘ख’ मा ९ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिए ।

संघमा गठबन्धनबाट माओवादी केन्द्रका शिवकुमार मण्डल र जसपाबाट राजकुमार यादवले उम्मेदवारी दिएका छन् । एमालेका योगेन्द्र मण्डलले एमाले–जसपा गठबन्धनविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका छन् । मण्डलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । एमाले र जसपाबीच गठबन्धन भएका कारण टिकट नपाएपछि मण्डलले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

प्रदेश ‘क’ मा गठबन्धनबाट कांग्रेसका गयानन्द मण्डल र एमालेका सन्तोष कुमार साहले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै राप्रपाबाट सोनल कुमार गुप्ता, स्तवन्त्रबाट रुपेश कुमार मण्डल, कलानन्द साहलगायतले प्रदेशमा उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै प्रदेश ‘ख’ मा गठबन्धनबाट कांग्रेसका अमृत आर्याल र जसपाबाट जयराम यादवले उम्मेदवारी दिएका छन् । अर्याल कांग्रेसका केन्द्रीय सदस्य हुन् भने यादव प्रदेश १ का स्वास्थ्य मन्त्री हुन् । यस्तै एमालेकी निवर्तमान प्रदेश सांसद बसन्तीदेवी यादवले हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दर्ता गराएकी छन् । एमालेले जसपासँग गठबन्धन गरेकाले आफूले टिकट नपाउने भएपछि उनले हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएकी हुन् । स्वतन्त्रबाट भुराज राईले पनि प्रदेशमा उम्मेदवारी दिएका छन् ।

मोरङ ६ मा ४३ जनाको उम्मेदवारी

मोरङ क्षेत्र नं. ६ मा ४३ जनाको उम्मेदवारी परेको छ । संघमा १६, प्रदेश ‘क’ मा १३ र ‘ख’ मा १४ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

संघमा गठबन्धनबाट कांग्रेसका नेता शेखर कोइराला र एमालेबाट लालबाबु पण्डितले उम्मेदवारी दिएका छन् । राप्रपाबाट गोपाल कटुवाल क्षेत्री, स्वतन्त्रबाट सरोज नेपाल, लक्ष्मी थेबेलगायतले पनि उम्मेदवारी दिएका छन् ।

प्रदेश ‘क’ मा गठबन्धनबाट माओवादी केन्द्रका जीवन आचार्य र एमालेबाट रिता न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश ‘ख’ मा गठबन्धनबाट कांग्रेसका केदार कार्कीले र एमालेबाट पर्शुराम बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् । जसपाबाट प्रदेशमा राजेन्द्र प्रसाद गुप्ताले उम्मेदवारी दर्ता गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप