आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

प्रदेश १ बाट यसअघिका सांसद को को बने उम्मेदवार ?

आइतबार, २३ असोज २०७९, २१ : २५
आइतबार, २३ असोज २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ आइतबार उम्मेदवार मनोनयन दर्ता भएको छ ।

निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवारको प्रारम्भिक नामावली अनुसार प्रदेश १ मा यसअघि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रहेकामध्ये धेरैले पुनः उम्मेदवारी दिएका छन् ।

प्रतिनिधिसभामा दोहोर्‍याउनेहरू फेरि भिड्दै

झापाको निर्वाचन क्षेत्र नम्बर ३ बाट राप्रपाका निवर्तमान सांसद राजेन्द्र लिङ्देन पुनः उम्मेदवार बनेका छन् । यस्तै झापाको क्षेत्र नम्बर ४ बाट एमालेका एलपी साँवा लिम्बू, झापा–५ बाट एमालेकै अध्यक्ष केपी शर्मा ओली पनि पुरानै अनुहार हुन् ।

यता, इलामबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल र एमाले नेता सुवास नेम्वाङ पनि निवर्तमान सांसद हुन् ।

यता, एमाले नेताहरु ताप्लेजुङबाट योगेश भट्टराई, पाँचथरबाट बसन्त नेम्वाङ, मोरङ–१ बाट घनश्याम खतिवडा, मोरङ–३ बाट भानुभक्त ढकाल, मोरङ–६ बाट लालबाबु पण्डित, धनकुटाबाट राजेन्द्र राई, तेह्रथुमबाट डा. विजय सुब्बा, संखुवासभाबाट राजेन्द्र गौतम, ओखलढुंगाबाट यज्ञराज सुनुवार र खोटाङबाट उम्मेदवार बनेका विशाल भट्टराई पनि निवर्तमान सांसद हुन् ।

यस्तै, नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य भइसकेर फेरि उम्मेदवार हुनेमा सुनसरी–४ बाट ज्ञानेन्द्रबहादुर कार्की र उदयपुर–१ बाट डा. नारायण खड्का छन् ।

माओवादी केन्द्रबाट भने मोरङ–४ बाट अमनलाल मोदी, मोरङ–५ बाट शिवकुमार मण्डल र भोजपुरबाट सुदन किराँती पुनः उम्मेदवार बनेका हुन् ।

प्रदेशबाट संघमा टिकट पाएकाहरू

यस्तै एक कार्यकाल प्रदेशसभा सदस्य भइसकेर हाल संघमा टिकट पाएका नेताहरूको संख्या पनि उल्लेख्य छ । खोटाङबाट संघीय सांसदमा टिकट पाएका माओवादी नेता रामकुमार राई प्रदेश–१ का बहालवाला मन्त्री हुन् । यस्तै एमालेबाट सुनसरीको २ नम्बर क्षेत्रमा टिकट पाएका भीम आचार्य प्रदेश १ का पूर्व मुख्यमन्त्री हुन् ।

एमालेबाट संघमा टिकट पाएका सुनसरी क्षेत्र नम्बर ४ का जगदिश कुसियैत पनि यसअघिका प्रदेशका सांसद तथा पूर्वमन्त्री हुन् भने भोजपुरबाट संघमा टिकट पाएका शेरधन राई प्रदेश १ का संस्थापक मुख्यमन्त्री हुन् ।

प्रदेशमै टिकट पाउने निवर्तमान प्रदेश सांसदहरू

नेकपा एमालेले भने अघिकांश पूर्व प्रदेश सांसदलाई उम्मेदवार बनाएको छ । झापाको २ (क) का एकराज कार्की, झापा ३ (क) का बसन्त बानियाँ, झापा ५ (क) का हिक्मतकुमार कार्की पूर्व प्रदेश सांसद हुन् ।

यस्तै मोरङको २ (ख) का लिलाबल्लभ अधिकारी, मोरङ ४ (ख) का जीवन घिमिरे, ओखलढुंगा (क) का अमिरबहादुर गुरुङ, सोलुखुम्बुका दुईवटै प्रदेश निर्वाचन क्षेत्रका उत्तम बस्नेत र बुद्धिकुमार राजभण्डारी, तेह्रथुमको (ख) बाट तेजमान कन्दङ्वा र इलामको २ (ख)बाट उम्मेदवार बनेका राम राना पनि प्रदेश १ का पूर्व सांसद हुन् ।

यस्तै धनकुटाको प्रदेशसभा (क) बाट उम्मेदवारी दिएका एमालेका निरन राई र (ख) बाट उम्मेदवारी दिएका इन्द्रमणि पराजुली पनि निवर्तमान प्रदेश सांसद हुन् ।

यता, नेपाली कांग्रेसले भने यसअघि प्रदेश १ कांग्रेस संसदीय दलका नेतासमेत रहेका सुनसरीका राजीव कोइरालालाई पुनः प्रदेशसभा सदस्यका लागि सुनसरी २ (ख)बाट उम्मेदवारी दिएको छ । यस्तै मोरङको क्षेत्र नम्बर ६ (ख)बाट उम्मेदवारी दिएका केदार कार्की पनि प्रदेश १ का बाहलवाला आन्तरिक मामिला तथा कानुनमन्त्री हुन् । मोरङ क्षेत्र नम्बर ३ (क) बाट उम्मेदवार बनेका शेखरचन्द्र थापा र उदयपुर क्षेत्र नम्बर १ (ख)बाट उम्मेदवार बनेका हिमाल कार्की पनि प्रदेश १ का सांसद तथा बाहलवाला भौतिक पूर्वाधार मन्त्री हुन् ।

प्रदेशसभामा यसअघि सदस्य रहेका माओवादी नेता इन्द्रबहादुर आङ्बोले पुनः पाँचथरको प्रदेशसभा (ख) बाट उम्मेदवारी दिएका छन् । यस्तै झापाको ३ (ख)बाट उम्मेदवारी दिएका पूर्णसिंह राजवंशी, झापाको ४ (क)बाट उम्मेदवार बनेका प्रदेश सरकारका कृषिमन्त्री झलकसिंह दर्लामी, मोरङ १ (क) का कुलप्रसाद साम्बा, सुनसरी ३ (क)बाट उम्मेदवारी दिएकी सरस्वती पोखरेल, धनकुटा (ख) बाट उम्मेदवारी दिएकी कुसुमकुमारी श्रेष्ठ, उदयपुर १ (क)बाट उम्मेदवार बनेका नारायण बुर्जा मगर पनि यसअघिका प्रदेश सांसद हुन् ।

यस्तै नेकपा एकीकृत समाजवादीबाट प्रदेश १ का बाहलवाला मुख्यमन्त्री राजेन्द्रकुमार राईले पुनः भोजपुरको १ (क) बाट उम्मेदवारी दिएका छन् । मोरङको क्षेत्र नम्बर १ (ख) बाट उम्मेदवारी दिएका उपेन्द्र प्रसाद घिमिरे, संखुवासभाको १ (ख)बाट उम्मेदवारी दिएकी सरिता थापा खड्का, इलाम १ (ख) बाट खिनु लङ्वा लिम्बू पनि दोहोरिएर उम्मेदवार बनेका छन् । घिमिरे र लिम्बू प्रदेश १ का बहालवाला मन्त्रीसमेत हुन् ।

यस्तै जनता समाजवादी पार्टीबाट मोरङ क्षेत्र नम्बर ५ (ख) बाट उम्मेदवार बनेका जयराम यादव पनि हाल प्रदेश १ का बाहलवाला स्वास्थ्यमन्त्री हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप