शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङमा कुन दलले कति बजे मनोनयन दर्ता गर्दैछन् ?

आइतबार, २३ असोज २०७९, ०८ : ४४
आइतबार, २३ असोज २०७९

प्रदेश निर्वाचन कार्यालय प्रदेश नं. १ ले आज हुने मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मोरङका ६ वटा संघीय र १२ प्रदेश निर्वाचन क्षेत्र छन् । 

निर्वाचन कार्यतालिका अनुसार २३ गते मनोनयन दर्ता, सूची प्रकाशन, २५ गते अन्तिम नामावली प्रकाशन, २६ गते मनोनयन फिर्तापछि पुनः अन्तिम नामावली प्रकाशन गरिने छ । 

मोरङका ६ वटा संघीय निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकिएको छ । जस अनुसार निर्वाचन क्षेत्र १ का लागि उर्लाबारी, २ का लागि रतुवामाई, ३ बेलबारी, ४ विराटनगर हृदययेश बाल उद्यान, ५ सुनसरी मोरङ सिंचाई आयोजना र ६ का लागि जिल्ला समन्वय समितिको कार्यालयमा राखिएको छ ।

नेकपा एमालेले साढे १ बजे पछि मनोनयन दर्ता गर्ने भएको छ । मोरङ जिल्लाभरी एकै समयमा एमालेका उम्मेदवारहरूले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गर्ने नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिए । 

यसैगरी काँग्रेस र माओवादी केन्द्रले १२ बजेको समय निर्वाचन अधिकृतको कार्यालयसँग लिएको छ । एमालेले भन्दा अगाडी काँग्रेस, माओवादी र एकीकृत समाजवादी पार्टीका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराउने छन् । जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवारहरूले दुई बजेपछि मनोनयन दर्ता गर्ने छन् ।

प्रदेश निर्वाचन आयोग कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले स्थानीय तहको जस्तो प्रदेश र संघको निर्वाचनमा उम्मेदवारी दिनेको भीड धेरै नहुने भएकोले सहज रूपमा मनोनयन दर्ता हुने बताए । ‘६ वटै निर्वाचन अधिकृतको कार्यालयहरू स्थापना भइसकेको छ,’ उनले भने, ‘१० देखि पाँच बजेसम्म मनोनयनको समय रहेको छ । समयसीमा भित्र मनोनयन दर्ता गरिसक्ने गरी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा कर्मचारीहरू तयारी अवस्थामा रहेका छन् ।’ निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइएको उनले बताए । निर्वाचन बिथोल्ने प्रयासलाई निस्तेज पार्नका निम्ति सुरक्षा संवेदनशीलताका आधारमा मतदान केन्द्रको वर्गीकरण गरिएको उनको भनाइ छ ।  निर्वाचन आचारसंहिताको पालना गरेर मनोनयन दर्ता गराउन आयोगले दलहरूलाई भनेको छ ।

५० वटा मतदान स्थल अति संवेदनशील
मोरङमा ५० वटा मतदान स्थल अति संवेदनशील रहेको सुरक्षा निकायले विश्लेषण गरेको छ । 

स्थानीय तहको निर्वाचनका अनुभवका आधारमा मोरङका ३०६ मतदानस्थल मध्ये ५० वटा अतिसंवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।

जिल्लाका १४४ मतदान स्थललाई संवेदनशीलमा राखिएको छ । बाँकी सामान्य छन् ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी निर्वाचनमा परिचालन हुने उनले बताए । जसमा नेपाल प्रहरी र म्यादी प्रहरी पाँच हजार ५ सय परिचालन गरिने भएको छ । सशस्त्र प्रहरी एक हजार १०० र नेपाली सेना ५०० परिचालन गरिनेछ । प्रत्येक मतदान स्थलमा आधा घण्टामा नेपाली सेनाले बाहिरी कभर बनाएर निगरानी गर्नेछ । त्यसपछि सशस्त्र प्रहरी र मतदान केन्द्र भित्र नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप