औद्योगिक करिडोरमा ४० प्रतिशत रोजगारी स्थानीय युवालाई : श्रेष्ठ
पूर्व श्रममन्त्री तथा बारा क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार किसान श्रेष्ठले बारा–पर्सा औद्योगिक करिडोरमा कम्तीमा ४० प्रतिशत रोजगारी स्थानीय युवाले पाउनुपर्ने बताएका छन् । बाराको परवानीपुर,प्रसौनी र जितपुरसीमरा,२३ भलुही लगायत छुट्टाछुट्टै ठाउँमा भएको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्व मन्त्री श्रेष्ठले करिडोरका उद्योगहरूमा कम्तीमा ४० प्रतिशत रोजगारी स्थानीय क्षेत्रका बेरोजगार युवाहरूले पाउनुपर्ने बताएका हुन् ।
कांग्रेस–लोसपासहितको ५ दलीय गठबन्धनमा बारा क्षेत्र नं ४ मा उम्मेदवार बनेका श्रेष्ठले दलका नेताहरूले मधेसी र मुस्लिम समुदायलाई भोट बैंकको रूपमा मात्रै प्रयोग गरेको टिप्पणी गरेका छन् । ‘मेरो उम्मेदवारी बारा क्षेत्र नं ४ को विकासको लागि हो, यहाँ आजसम्म मधेसी, मुस्लिमलाई भोट बैंकको रूपमा प्रयोग गरियो आजका दिनदेखि सबै च्याप्टर क्लोज भयो, अव समृद्ध बाराको विकास हुन्छ,’ श्रेष्ठले भने ।
कार्यक्रममा बोल्दै उम्मेदवार श्रेष्ठले अगामी निर्वाचनमा विजयी भए नेपाल सरकारबाट पाउने तलब भत्ता व्यक्तिगत रूपमा खर्च नगरीकन बारा क्षेत्र नं ४ को विकासमा लगाउने प्रतिबद्धता जनाए । कार्यक्रममा जितपुर सीमरा उपमहानगर वडा नं २३ का निवर्तमान वडाध्यक्ष अस्लम देवान,नेकपा एमाले नगर कमिटी सदस्य हाकिम अन्सारी सहित नेता कार्यता नेकपा एकीकृत समाजवादीमा पार्टी प्रवेश गरेको नेकपा एसका जिल्ला इन्चार्ज दिनेश राईले जानकारी दिए ।