बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीलाई अष्टलक्ष्मीको सुझाव : मेरो ठाउँमा विद्यासुन्दर वा शिवराजलाई उठाउनुस्

शनिबार, २२ असोज २०७९, १६ : ४५
शनिबार, २२ असोज २०७९

इच्छाविपरित नेकपा एमालेले काठमाडौँ ८ मा उम्मेदवार बनाएकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको प्रस्ताव पुन अस्वीकार गरेकी छन् । 

संसदीय राजनीति नगर्ने भनेर पार्टी बैठक र सार्वजनिक सञ्चारमाध्यममा यसअघि नै घोषणा गरेकी शाक्यलाई अध्यक्ष ओलीले उम्मेदवारको सुचीमा नाम राखेपछि पुन अस्वीकार गरेकी हुन् । 

एमालेले शुक्रबार सार्वजनिक गरेको उम्मेदवार सूचीमा शाक्यको नाम काठमाडौँ ८ मा थियो । शुक्रबार नाम र निर्वाचन क्षेत्र सार्वजनिक गरेपछि शनिबार ओली झापा जानुअघि शाक्यलाई फोन गरेका थिए । त्यसक्रममा पनि शाक्यले आफ्नो पुरानो अडान परिवर्तन नहुने र आफू उम्मेदवार नहुने जवाफ दिएकी थिइन् । तर ओलीले उनलाई फकाउने धेरै प्रयास गरेका थिए । तर शाक्य आफ्नो अडानबाट पछि नहटेपछि ओली अन्तत: पछि हट्न बाध्य भएका थिए । 

‘मैले आफू अब संसदीय राजनीति नगर्ने भनेर सचिवालय बैठकमै भनेको थिएँ । र, पनि मलाई उम्मेदवार बनाउन नाम राख्नुभयो । मैले मलाई पुग्यो भनिसकेको थिएँ । हिजो नाम सार्वजनिक भएपछि म आफ्नै अडानमा थिएँ’, शाक्यले रातोपाटीसँग भनिन्, ‘आज अध्यक्षले झापा जानुअघि फोन गर्नुभयो । फोन गर्दा म उम्मेदवार बन्दिनँ, मलाई पुग्यो भने तर पनि मान्नु नै भएको थिएन ।’ 

शाक्य ओली संवादका क्रममा शाक्यले ’म मान्नेवाला छैन बरु विकल्प खोज्नुस्’ भनेर सुझाव दिएकी थिइन् । ‘अन्यथा नलिनुहोला अब नयाँ पुस्तालाई दिनुस् भनेर म पछि हटिसकेँ, मेरो विकल्प खोज्नुस् भनेर मैले अडान राखेपछि बल्ल मान्नुभयो’, शाक्यले भनिन्,‘त्यसो भए कसलाई उठाउने त ? भनेर सोध्नुभयो’ 

जवाफमा आफूले विद्यासुन्दर शाक्य वा शिवराज वैद्यमध्ये एकलाई उम्मेदवार बनाउन सुझाव दिएको बताइन् । विद्यासुन्दर काठमाडौँ महानगरका पूर्व मेयर हुन् भने वैद्य १३ नम्बर वडाका स्थानीय बासिन्दा तथा एमाले जिल्ला संयोजक पनि हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप