बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरमा एमालेको रोजाइमा नयाँ अनुहार, पुराना केही असन्तुष्ट

शनिबार, २२ असोज २०७९, १६ : ३४
शनिबार, २२ असोज २०७९

आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमालेले मकवानपुरका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका पदमा प्रत्यक्षतर्फ उम्मेदवार तय गरेको छ । शुक्रबार एमालेले मकवानपुरबाट प्रतिनिधिसभातर्फका दुई र प्रदेशसभातर्फका ४ निर्वाचन क्षेत्रका लागि उम्मेदवार टुङ्ग्याएको हो ।

एमालेले मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर–१ का लागि रामेश्वर रानालाई टिकट दिएको छ भने क्षेत्र नम्बर–२ का लागि महेश बर्तौलालाई अघि सारेको छ । एमालेले २०६४ को निर्वाचन पराजित भएका रानालाई मकवानपुर–१ मा चुनाव लडाउने तयारी गरेको हो ।

२०६४ को संविधानसभा सदस्य पदको निर्वाचनमा राना मकवानपुर क्षेत्र नम्बर–४ बाट उम्मेदवार बने पनि पराजित भएका थिए । रानालाई माओवादी केन्द्रकी कुमारी मोक्तानले पराजित गरेकी थिइन् । उक्त निर्वाचनमा मकवानपुरको ४ वटै क्षेत्रमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले चुनाव जितेका थिए ।

त्यस यता भएका निर्वाचनमा एमालेबाट उम्मेदवार बन्ने अवसरबाट वञ्चित भएका रानाले एमाले विभाजनपछि भने उम्मेदवार बन्ने मौका पाएका हुन् ।

यता मकवानपुर–२ मा भने एमालेले नयाँ अनुहारलाई चुनावी मैदानमा उतार्ने भएको छ । मकवानपुर–२ मा एमालेले महेश बर्तौलालाई उम्मेदवार बनाउने भएको छ । नेकपा एमाले बागमती प्रदेशका उपसचिव समेत रहेका बर्तौला पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिदैछन् ।

२०७४ को निर्वाचनमा पनि एमालेबाट उम्मेदवार सिफारिसमा परेका बर्तौलाले अन्तिममा टिकट पाएका थिएनन् ।

मकवानपुर–२ बाट निर्वाचित सांसद विरोध खतिवडा, बागमती प्रदेशसभा सदस्य मुनु सिग्देल, संविधानसभा सदस्य राजाराम स्याङ्तान लगायतका नेताहरु नेकपा एकीकृत समाजवादी पार्टीमा आवद्ध भएपछि राना र बर्तौलाले चुनाव लड्ने अवसर पाएका हुन् ।

प्रदेशका ४ क्षेत्रमा एमालेका नयाँ अनुहार

त्यस्तै एमालेले मकवानपुरबाट प्रदेशसभाका लागि पनि ४ वटै क्षेत्रमा नयाँ अनुहारलाई मैदानमा उतार्ने भएको छ । एमालेले मकवानपुर–१ (क)बाट कमल विष्ट, मकवानपुर–१ (ख)बाट एकलाल श्रेष्ठ, मकवानपुर–२ (क)बाट बिष्णु ढकाल र मकवानपुर–२ (ख)बाट लालबहादुर थापालाई उम्मेदवार बनाउने भएको हो ।

विष्ट पहिलो पटक चुनावमा उठ्दैछन् । २०७४ को निर्वाचनमा एमाले–माओवादी केन्द्रको गठबन्धनका कारण मकवानपुर–१ (क)मा एमालेले अवसर पाएको थिएन । सो क्षेत्रमा एमालेले माओवादी केन्द्रका प्रेमबहादुर पुलामी ‘छिन्तु’लाई सघाएको थियो । एमालेको सहयोगमा छिन्तुले चुनाव जितेका थिए ।

मकवानपुर–१ (ख)मा पनि एमालेले नयाँ अनुहारलाई नै अवसर दिएको छ । एमालेले सो क्षेत्रबाट श्रेष्ठलाई पहिलो पटक चुनावमा उठाउने भएको हो । गत स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा उठ्ने तयारी गरेका श्रेष्ठले संविधानसभा सदस्य अनन्त पौडेलका कारण अवसर पाएका थिएनन् । २०७४ को निर्वाचनमा सो क्षेत्रबाट जितेका बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले चुनाव नउठ्ने घोषणा गरेपछि श्रेष्ठले अवसर पाएका हुन् ।

मकवानपुर–२ (क) र (ख) मा पनि एमालेले नयाँ अनुहारलाई टिकट दिएको छ । एमालेले मकवानपुर–२ (क)मा ढकाल र मकवानपुर–२ (ख)मा थापालाई उठाउने भएको हो । ढकाल २०७४ को स्थानीय तहको निर्वाचनमा मकवानपुरको थाहा नगरपालिकाको मेयर पदमा पराजित भएका थिए । उनलाई माओवादी केन्द्रका लवशेर विष्टले पराजित गरेका थिए । एमालेका मकवानपुर–२ (ख)का उम्मेदवार थापाले हालसम्म कुनै पनि निर्वाचन लडेका छैनन् ।

एमालेको रोजाइमा नयाँ पुस्ता किन ?

एमाले मकवानपुरलाई आफ्नो गढको रुपमा परिभाषित गर्दछ । आगामी निर्वाचनमा पनि एमाले मकवानपुरलाई आफ्नो गढ कायम राख्न चाहन्छ । एमाले मकवानपुरको प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चार गरी ६ वटै क्षेत्र गुमाउने पक्षमा छैन ।

पछिल्लो समय युवा पुस्ताप्रति झुकाव र रुची बढ्दै गएको महसुस गरी एमालेले नयाँ अनुहारलाई मैदानमा उतार्ने निधो गरेको हो ।

२०७४ को निर्वाचनपछि मकवानपुरमा कांग्रेसको प्रभाव बढ्दो क्रममा छ । कांग्रेससहित सत्ता गठबन्धन एक भएर चुनाव लड्ने पक्का छ । बलियो सत्ता गठबन्धनसँग प्रतिस्पर्धा गर्ने दरिलो रणनीतिको रुपमा युवा उम्मेदवारलाई एमालेले अघि सारेको हो ।

बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले पनि पुराना नेताहरुले विश्राम लिएर नयाँ पुस्तालाई अवसर दिनुपर्ने तर्क गर्दै आएका छन् । सोही अनुसार उनले यस पटक उम्मेदवार नबन्ने घोषणा नै गरेका थिए ।

उनकै अगुवाइमा मकवानपुरका सबै क्षेत्रमा युवा उम्मेदवार तयार गरिएको एमाले मकवानपुरका एक नेता बताउँछन् । पूर्व मुख्यमन्त्री पौडेलले युवाहरुलाई अवसर दिन मैदान खुला गरेपछि बाध्य भएर अन्य पुराना नेताले पनि आफ्नो दावी छाडेको उनले बताए ।

युवाले अवसर पाउँदा केही नेता असन्तुष्ट

मकवानपुरमा एमालेले आगामी निर्वाचनमा युवा पुस्तालाई टिकट दिँदा केही नेताले भने असन्तुष्टि व्यक्त गरेका छन् । विशेषतः एमालेले प्रतिनिभिसभातर्फ मकवानपुर–२ बाट महेश बर्तौलालाई टिकट दिएपछि केही नेताहरु असन्तुष्ट बनेका हुन् ।

बर्तौलाले टिकट पाउँदा एमालेका बागमती प्रदेश कमिटी सदस्य एवम् संविधानसभा सदस्य सुवासचन्द्र ठकुरीले असन्तुष्टि व्यक्त गरेका छन् । सोही क्षेत्रबाट उम्मेदवार सिफारिसमा परेका ठकुरीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै कार्यकर्ता र जनताको भावना विपरीत बर्तौलालाई टिकट दिइएको बताए । उनले पार्टीको उक्त निर्णय अन्यायपूर्ण भएको भन्दै दुःख व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘मकवानपुरको संघीय क्षेत्र नम्बर–२ मा नेकपा एमालेले कामको अवमूल्यन गरी भूगोल, कार्यकर्ता र जनताको भावना विपरीत अन्यायपूर्ण निर्णय गरेकोमा दुःख व्यक्त गर्दै जनताको भावना अनुसार क्रियाशील हुनेछु ।’

ठकुरी २०७० को संविधानसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका थिए । उनले सो निर्वाचनमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ ‘प्रकाश’लाई पराजित गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप