संस्मरण: तालैतालको उपत्यकाबाट कुण्डैकुण्डका पहाडको यात्रा
यस वर्ष भदौ ३० को बिहानै ४ बज्दै गर्दा मेरो यात्रा तालैतालको सहर पोखराबाट गोसाईकुण्डका लागि सुरु भयो । शरद ऋतुको आगमन हुनै लाग्दा पनि बाहिर अझै बर्खेझरी झमझम गरिरहेको थियो । सधैँ हतार हतार यात्रामा निस्कँदा केही न केही छुटिरहेको हुन्छ । त्यस्तै मेरो खल्तीले बेप्रवाह शैलीको यस पटकको यात्रामा पनि छुटाइ दियो ।
बिहानीको समयमा पोखराको पृथ्वीचोकसम्म कुनै बैंकिङ स्वचालित उपकरणका स्टेशन खुलेको थिएन । अविरलको झरीले चिसोको अनुभव भैरहेको थियो । पोखराको पृथ्वीचोकबाट काठमाडौं जाने माइक्रोबस चढेर मेरो यात्रा गन्तब्यतिर अघि बढिरहेको थियो ।
यात्राका बिचमा धेरै उत्सुकतासँगै मनले उजागर गरेका कठिनाईलाई घचघच्याईरहेका थिए । यात्राको समयावधिका जतिसुकै थकान, पीडा महसुस भए पनि गन्तव्यको स्पर्शले त्यसलाई क्षणभरमै सुखानुभूति गराइदिन्छ भन्नेमा म निश्चिन्त थिएँ ।
समुद्र सतहबाट ८२० मिटरबाट सुरु भएको मेरो यो यात्रा ४४ सय मिटर उचाईसम्म पुग्दै गर्दा धेरै किसिमका उत्सुकताले मन भरिएको थियो । पृथ्वी राजमार्गमा बाटो बिस्तार गर्ने कार्य चलिरहेको हुँदा यात्रा कष्टकर बनिरहेको थियो । यस्तो लाग्दै थियो कि कुनै नयाँ ट्रयाक खोलेको बाटोमा यात्रा गरिरहेको छु ।
राजमार्गबाट देखिएका छाँगा छहराले अझै मनसुन नसकिएको भाव ब्यक्त गरिरहेको थियो । हिलाम्मे र पानी भरिएका खाल्डा खुल्डी बाटोले ऋतु परिवर्तनको समयशिलाअनुसार शरद ऋतु भनेर प्राथमिक ज्ञानमा समेत मेल खाएको थिएन ।
४४०० मिटरमा उचाईमा उद्गमस्थल भएको त्रिशुली नदी प्रशान्त महासागरझै शान्त रुपमा लमतन्न भएर बगिरहेको थियो । पछाडिबाट कसैले गोसाईंकुण्डबाट यो नदी बगिरहेको भन्यो । त्यति माथिबाट आएको नदी कसरी आवाजबिहीन शान्त रुपमा वगिरहेको होला भन्ने प्रश्नको कौतुहलतालाई अपार प्रकृतिको महिमा पनि कति सुन्दर हुन्छ भनि आफ्नै मनलाई आश्वस्त तुल्याउँदै अगाडि बढें ।
गल्छीबाट रसुवाको धुन्चे तर्फको यात्रा गर्दै गर्दा नुवाकोटको सदरमुकाम बिदुर हुँदै गाडी अगाडि बढ्यो । धान झुलेका पहेला फाँटहरुले सूर्यास्त हँुदा देखिने जस्तै गरी रंगहरुको परिवर्तनको लयलाई समात्न खोजिरहेको थियो । वारीपारी रराता डाँडाहरुमा ससाना पातलो सालका रुखहरुले छोपेर रातो रंगलाई हरियाली बनाउन भरमजदुर प्रयास गरिरहेका थिए ।
तल त्रिशुली नदी बगिरहेको भए पनि केही ठुला फाँटहरुमा सिँचाईको अभाव भएको प्रष्ट देख्न सकिन्थ्यो, यो कस्तो अवस्था हो भने कर्णालीतिर एउटा प्रख्यात गीत छ, ‘मुखइनि कर्णाली बग्दी मु पानिकि तिस’ अर्थात् कर्णाली छेउबाटै बगेको छ तर म तिर्खा मेट्न सकिरहेको छैन । ठिक्क त्यस्तै अवस्था यहाँ देखिदै थियो ।
सुन्दर पहाडका वेशी र प्रायः सम्म परेका फाँटहरुमा शहरीकरणले तीव्र गतिमा फड्को मारेको आभाष मिल्दथ्यो । नुवाकोट पुगेपछि हल्का चिसो, घमाईलो र मानिसहरुको चहलपहलले चाडपर्व आएको सजिलै संकेत गरिरहेको थियो ।
पृथ्वीनारायण शाहले जीवनको आखिरी समयमा भाई भारदारहरुलाई राखी दिव्योपदेश दिएको स्थान पवित्र देवीघाट हँुदै यात्रा अगाडि वढिरहेको थियो । आधुनिक स्कुल भवन, चौडा सडक बाटोले विकासको गति निरन्तर रुपमा अगाडि बढिरहेको दर्शाउँदथ्यो । सेतो सिरु र काँस फुलेको दृश्यले यात्रालाई सुनमा सुगन्ध थपिदिएको भान हुन्थ्यो ।
झट्ट हेर्दा विदुर बजार अलि साँघुरो जस्तो हो कि जस्तो लाग्थ्यो । एक लेनको बाटो रहेको यस बजार क्षेत्रमा भोलि केरुङ नाकाबाट आयात निर्यात बृद्धि हुँदै गर्दा यो बजारले बढी नै ब्यस्तता खप्नुपर्ने अवस्था आउन सक्नेछ । चैते दसैँ बागलुङको मेलामा लाग्ने जस्तै भीडभाड, उखर्माउलो गर्मीले यात्रालाई उकुसमुकुस बनाइरहेको थियो ।
‘तपाईंलाई लामटाङ राष्ट्रिय निकुञ्जमा स्वागत छ’ भनी लेखिएको बोर्ड नियाल्दै सहयात्री बस अघि बढिरह्यो । लुम्लेको हावाको प्रवाह हजारौं पटक ठोक्किएर होला, त्यहाँको हावाले मेरो सामू माथ खाइरहेको थियो । बेत्रावतीबाट माथि लागेपछि उकालो बाटो र त्यहाँ गरिएको बलियो कालोपत्रे निकै पुरानो जस्तो लाग्थ्यो ।
बाटोमा देखिएका हरिया डाँडाकाँडाले यात्रीहरुलाई हार्दिकता प्रदान गरिरहेका थिए । यो क्षेत्रमा २०३२ सालमै मोटर बाटोको ट्रयाक खोली २०४८ सालमै कालोपत्रे गरी तयार गरिएको बाटो भए पनि हिमाली भूवनोट, भौगोलिक परिवेश र सुविधाको कमी भएर सहरीकरणको तीब्रतर विकास भैसकेको देखिदैन ।
लामटाङ राष्ट्रिय निकुञ्जको भूक्षेत्रभित्र प्रवेश गरिसकेपछि बाटोमा गरिएको चेकिङले जनयुद्ध कालको चेकिङको सम्झना गरायो । घुम्ती बजारबाट धुन्चेसम्म पुग्दा बाटोबाट त्रिशुली नदी पारी देखिने दृश्यावलोकनले मनमा अलौकिक सुखानुभूति प्रदान गरेको थियो । लामटाङ हिमालसँगको साक्षात्कार एउटा गर्विलो आयामको रुपमा आँखाको सामुन्ने आईपुग्यो । चट्टानको शिखरबाट खसेको झरना कति भाग्यमानी होला, अरु त सामान्य खोल्साको रुपमा हराउदै बिलाउँदै बगिरहेका हुन्छन् ।
केरुङवाट भोटेकोशी र धुन्चेको बाँयाबाट आएको त्रिशुली नदी स्याफ्रुवेशी तल मिलन भई पुनः त्रिशुली नै भएर बगिरहेको छ । चितवन, धादिङ नुवाकोटमा शान्त रहेको त्रिशुली नदी धुन्चेबाट माथि लागेपछि सुसाउँदै बगिरहेको अनुभव गरियो ।
बाटोमा दायाँ बायाँ भएका निगालोका रुखमा अल्झिएर न्यानो घामको प्रतिक्षामा रहेका शितका थोपाको अवतरणले यात्रालाई अझै मनमोहक बनाउँदै लगेको थियो । यो पथमा रहेका गुराँसका रुखहरुले कालिञ्चोक यात्राको क्रममा देखेको ढकमक्क फुलेका लालीगुराँसको कल्पनालाई ताजा गराउँथ्यो ।
ढुवानीका खच्चडहरुको घाँटीमा झुण्ड्याइएका घण्टीको आवाजले बाल्यकालका घटनालाई नोस्टाल्जिया गराइरहेका थिए । २५०० मिटरको उचाईमा भेटिएका स्थानीय भोटे कुकुरहरुले यात्रीको यात्रालाई रखवारी गरिरहेका थिए । तिहारमा तोरण बनाउन प्रयोग हुने बुकी फुलहरुले चाडपर्व नजिकिदै आएको झल्को दिइरहेका थिए ।
धिमान पुगिसकेपछि स्याफ्रुवेशीबाट आउने बाटो जोडिने भएकोले भोलिका दिनहरुमा पर्यटकहरुले स्याफ्रुवेशीबाट यात्रा गर्न रुचाउने हुँदा धुन्चेको महत्व घट्न जाने देखिन्छ ।
जाडो याममा आखिरी मनसुनका शितझै गरी झर्ने थोपाहरुले लुगाको बाहिरी आवरणलाई ओसिलो बनाइसकेको थियो भने पारीका डाँडाहरुले बाक्लो हुस्सुको घुम्टोमा आफूलाई लुकाइरहेका थिए ।
चन्दनबारीमा २०२६ सालमै डिडिसीको कार्यालय स्थापना भई यस क्षेत्रमा उत्पादन हुने चौरी गाईको दूध संकलन गर्ने कार्यले स्थानीय आयआर्जन कार्यमा सघाउ पुर्याएको रहेछ ।
विच विचमा चिसो मौसममा तात्तातो कफीको चुस्कीसँगै यात्रा गर्दा स्थानीय वातावरणमा यात्रा गर्न सजिलो हुने रहेछ । ८ सय मिटरको उचाईमा फुल्ने फुलहरु ३२ सय मिटर उचाईमा फुलेको देख्दा विश्वब्यापी मौसम परिवर्तनका प्रभाव उल्लेख्य रुपमा बढेको स्पष्ट आभाष हुन्थ्यो ।
यस क्षेत्रको गोरेटो घोरेटो बाटोले स्थानीयलाई गन्तव्यसम्म पुग्न सहज भएको थियो । ३५५० मिटरको उचाईमा ससाना पोथ्राको बिचमा भेटिएका बालुवा खानीले स्थानीय आवश्यकतालाई पूर्ति गरिरहेको रहेछ ।
चोलाङपाटीबाट झण्डै १ घण्टाको यात्रा पश्चात बाटोमा रुखहरु हराउँदै गए भने बिस्तारै बिस्तारै अक्सिजनको कमी भएको संकेत फोक्सोले दिदै थियो । बाटोमा पाटनजस्ता लाग्ने ससाना चौरहरुमा पोथ्राहरु मात्र देखिए । लौरीबिनाबाट देखिएका लामटाङ हिमाल, गणेश हिमाल, मनास्लु हिमालको दृश्यले अहिलेसम्मका सम्पूर्ण थकान पीडालाई एकै झमटमा भुक्तान गरिदियो ।
त्यस्तै, बिहानको सूर्योदयको दृश्यलाई ब्याख्या गर्न छुट्टै शब्दको पोको नै फुकाउनु पर्ने देखियो । बुद्ध मन्दिरको केही माथिवाट निर्माण गरिएको फलामे बारले पर्यटक यात्री र तीर्थालुहरुलाई सुरक्षित साथ गन्तव्यमा पुग्न सघाइरहेको थियो ।
कोक फेन्टा, चाउचाउ, चाउमिनले पनि हजारौं माईलको यात्रा तय गरिसक्यो भन्ने मसहुस ४३८० मिटरको उचाईमा त्यसको सहज उपस्थिति गराउँथ्यो । बाक्लो जंगलबाट सुरु भएको यात्रा कालापत्थरसम्म पुगिसकेको थियो । पल पलमा बादलको घुम्टो ओडिरहने गोसाईंकुण्ड, भैरवकुण्ड वरपरका डाँडाहरुले बादलको घुम्टो उघार्दा देखिने दृश्य निस्वार्थ प्रेम जस्तै सुन्दर शान्त देखिएको थियो ।
पहाडको टुप्पोबाट पानीको मूल सिर्जित भई गोसार्इंकुण्डमा खसेको दृश्य आफैमा एउटा अनौठो प्राकृतिक बरदानझै लाग्थ्यो । यस्तै दृश्य नियाल्दा साँच्चिकै स्वर्गको परिभाषा पनि यस्तै दृश्यलाई लिएर गरिएको हो भन्नेमा दुई मत थिएन ।
यस यात्राका क्रममा झ्याउको आसन, चिसो मौसम, बादल पन्छाउँदै उघ्रेको न्यानो घामको किरण, चौरी गाईको दूधको चियाको नौलो स्वाद, पानी र शितले भिजेको शरीर, त्रिशुली नदीले झरनाको घनघन आवाजका यादहरु संगालियो । यी यादहरुसँगै चिसो बिहानीमा गोसाईंकुण्डमा हानेको डुबुल्की पश्चात धुन्चेको लागि प्रस्थान गरियो ।