शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सुगौली सन्धि मन नपराउने बडाकाजी अमरसिंह थापाको युद्ध गाथा

शनिबार, २२ असोज २०७९, ०७ : ५३
शनिबार, २२ असोज २०७९

बडाकाजी अमरसिंह थापाले तत्कालीन राष्ट्रिय युद्धकार्य नीति तथा योजनाअनुरुप सिक्किमदेखि कश्मीरसम्म चन्द्र–सूर्याङ्कित नेपाली झण्डा फरफराउने आकांक्षा राखेका थिए । जसअनुसार छोरा काजी रणजोरसिंह थापाले कुमाउँ, अलमोडाको रक्षा गर्ने जिम्मेवारी लिए । 

मुख्तियार भीमसेन थापाका भाइ काजी नयनसिंह थापा काँगडा हान्न मद्धती फौजको कमाण्डर भएर नेपालबाट त्यसतर्फ प्रस्थान गरे । त्यो फौज बिलासपुरमा अमरसिंह थापासँग मिल्यो । त्यसपछि नेपालीहरुले तत्काल काँगडा किल्ला घेरे । उत्तरी किल्लाको इलाकाबाहेक सम्पूर्ण काँगडामा नेपालीले अधिकार जमाए । 

यो घटनाले नेपालको स्वाभिमान, राष्ट्रिय हितको पक्षमा बडाकाजी अमरसिंह थापा र मुख्तियार भीमसेन थापाबीचको सुमधुर सम्बन्ध पुष्टि गर्छ । “उक्त जितपछि बडाकाजी अमरसिंह थापाद्वारा यमुना नदीको पवित्र किनारमा १८६३ साल साउन ३ गते हिन्दू धर्मअनुसार देवीदेवता जगाई नन्दाबक्स कम्पनी खडा गरिएको थियो । गीर्वाण युद्धविक्रम शाहको शासन कालमा खडा भएको यस नन्दा बक्स गण (तत्कालीन कम्पनी) को पहिलो कम्पनी कमाण्डर अमरसिंह थापा हुनुहुन्छ” (‘सिपाही पाक्षिक अतिरिक्तांक’, १५ भदौ २०७९, वर्ष २९ (२३),पृ.‘क’) । 

‘बडाकाजी अमरसिंह थापाका छोरा काजी रणजोर थापाको दोस्रो कमाण्डमा जैथक किल्लाबाट अंग्रेज फौजविरुद्ध १ वर्ष ७ महिना ८ दिनसम्म लडाईं लड्यो । नेपाल–अंग्रेज युद्धको दोस्रो चरणमा यो गण (तत्कालीन कम्पनी) हरिहर गढीमा काजी रणजोर थापाको कमाण्डमा तैनाथ भयो’(ऐजन) । 

यसरी बडाकाजी अमरसिंह थापाले १ वर्ष, काजी रणजोरसिंह थापाले १ वर्ष सो गुल्म (तत्कालीन कम्पनी) को प्रमुख भएर नेतृत्व सम्हालेको देखिन्छ ।

रणजितसिंह (कुँवर) ज्वालामुखीको दर्शन गर्ने वहाना बनाइ सन् १८०६ मा ज्वालामुखीमा आए । संसार चन्दले रणजित सिंहसित नेपालीविरुद्ध सहयोग मागे । यता, “संसार चन्दले बडाकाजीलाई युद्धबाट हात झिके ५ लाख रुपियाँ दिने प्रलोभन देखाए । उल्टै, बडाकाजीले रणजितसिंहलाई तिमी कतैपट्टी नलागे म तिमीलाई ५ लाख रुपियाँ दिन्छु भनी प्रतिकवोल गरे । जसले मलाई धेरै धन देला म उसैपट्टी लाग्छु भन्ने आशय रणजित सिंहले प्रकट गरे । उनले संसार चन्दलाई काँगडाको किल्ला मलाई दिने भए म तिम्रो सहायता गर्छु भने ।” तर संसार चन्दले किल्ला दिन चाहेनन् । 

बडाकाजी अमरसिंह थापाले दिएको रुपियाँ लिएर रणजित सिंह फर्के । नेपालीले काँगडा किल्लाको घेरा च्याप्दै लगेपछि संसार चन्द, उनका सेनालाई अन्तिम ४ महिना कठिन प¥यो । यसरी अप्ठेरोमा परेका संसार चन्दले बडाकाजीलाई सपरिवार मलाई किल्लाबाट जान देऊ, म किल्ला छोड्छु भन्ने खबर पठाए । 

जवाफमा बडाकाजीले तिमी एक्लै किल्लाबाहिर आई भवनकी देवीलाई छोएर किल्ला छोड्छु भनी किरिया हाल, अनि मात्र म तिम्रा कुरा पत्याउँला भनी प्रत्युत्तर पठाए । 

संसार चन्द आएनन् । तर किरिया खान आफ्ना मन्त्री नौरंगलाई पठाए । बडाकाजीले वजीर नौरंगका किरियामा विश्वास गरे । त्यसपछि किल्लाको एउटा ढोकाबाट आफ्ना सिपाही झिकीदिए । 

संसार चन्दले किल्ला भित्रको आफूलाई नचाहिने मालसामान दिनभरि बाहिर पठाउन थाले । राती भएपछि आफू, आफ्नो फौजका लागि चाहिने खानेकुरा तथा हातहतियार लुकाएर किल्लाभित्र ल्याउन थाले । 

बडाकाजीले तत्काल त्यो षड्यन्त्र चाल पाउन सकेनन् । एक राती संसार चन्द आफ्नो परिवार लिएर किल्लाबाट निस्के । उनी कृषकको भेषमा सुरजनपुरमा पुगे । संसार चन्दले त्यहीँबाट रणजित सिंहसँग सहायता माग्न पठाए । 

बडाकाजीले पनि रणजित सिंहसँग कश्मीर जित्न हामी सिखको सहायता गर्छौं, त्यसबापत हामीले काँगडा पाउनु पर्छ भनी प्रस्ताव गरे । तर रणजित सिंहले आफ्नो स्वार्थसिद्ध नभएसम्म अमरसिंह थापालाई गफै गफमा भुलाई राखे । बरु, रणजित सिंहले मौका पाएलगत्तै किल्ला काँगडामा हमला गरे । उनले क्याप्टेन वेडसँग नेपालीहरुद्वारा काश्मीर मसँग भाग गर्न खोजिएको थियो तर मैले नेपालीहरुलाई पञ्जाब भित्र पस्न नदिनु नै उपयुक्त ठहराएँ भनी भलाकुशारी गरे । 

यहीबेला बडाकाजीको सैन्य फौजमा एउटा महामारी फैलियो । यसले धेरैको मृत्यु भयो । यसरी प्रधानसेनापति अमरसिंह थापा मातहतको सैन्य फौजमाथि दुःखद घटना आइलागेको मौका छोपी रणजित सिंहले २४ अगष्ट १८०९ मा सिखहरुको एउटा छानिएको पल्टनलाई काँगडा किल्लामाथि तत्काल आक्रमण गर्न आदेश दिए । 

सिखहरु काँगडा किल्लामा आउन तलबाट माथि चढ्नु पथ्र्यो । त्यहीबेला नेपालीहरुले माथिबाट शस्त्र प्रहार गरी थुप्रै सिखहरुको क्षति गरे । तर नेपालीको केही सीप लागेन । सिखहरु किल्लाको ढोकामा पुगे । सिख र नेपालीहरु भिड्न मात्र के लागेका थिए, एक्कासी किल्लाको ढोका उघ्रियो । भित्रबाट संसार चन्दका सिपाहीहरु आए र सिखहरुसँग मिले । नेपालीको केही जोड् नचलेपछि त्यो लडाईं रोक्नु प¥यो । 

यसरी सेनामा फैलिएको महामारी, ‘अमृतसरको सन्धि’, संसार चन्दले आफ्ना मन्त्री नौरंग हस्ते ११ दिनको भाका मागी बडाकाजीलाई झुक्याएर उनको फौजमाथि गरेको षड्यन्त्रपछि नेपालीले वाध्यतावश काँगडा परित्याग गरे । 

त्यसपछि बडाकाजी अमरसिंह थापा सतलज र यमुनाको माझ इलाकाको शासनसत्ता सम्हालेर बसे । अनुसन्धानकर्ता इन्दिरा जोशीद्वारा लिखित तथा प्रकाशित ‘आधुनिक नेपालको निर्माणमा बडाकाजीको योगदान’(२०५७) पुस्तकमा यसरी मूल्याङ्कन गरिएको छः 

“काँगडाको युद्धमा नेपालको पराजय हुनुमा सैनिकको कमी, रणजित सिंहको विश्वासघात, अंग्रेजहरुको कुटनीति आदि कारण मुख्य हुन आउँछन् । विविध परिस्थितिले उक्त पराजय भोग्नु प¥यो । परन्तु बडाकाजी अमरसिंह थापाको लापरवाही, अदूरदर्शिता नै मुख्य कारकतत्व हुन् भनी प्रपञ्च रचेर, प्रचारप्रसारमा ल्याउने प्रयत्न पनि भयो,”(पृ.४२) । 

‘बडाकाजी अमरसिंह थापाका कारणले मात्र काँगडाको युद्ध असफल नभएको तथ्य प्रचारमा ल्याइएन’(ऐजन) । त्यस्ताखाले प्रपञ्चमध्ये अर्को यो पनि छः “काँगडाको लडाईमा अमरसिंह थापा हारेको हुनाले नेपाल सरकार रिसाई उनी निकालिने भएका थिए । र, अमरसिंह थापाको नेपाल सरकारप्रति राम्रो भाव छैन भन्ने कुरा गभर्नर जनरलले कर्णेल अक्टर लोनीलाई अमरसिंह थापाले आत्मसमर्पण गर्ने इच्छा प्रकट गरेमा हिन्दुस्तानमा उनी र उनका जहानलाई आश्रय दिने, उनलाई उचित खानगी पनि दिने बृटिश सरकारको निश्चय छ,’ भन्नु भनी आज्ञा पनि दिएका थिए (२७ डिसेम्बर १८१४ को बंगाल सिक्रेट लेटरमा खामेको ३२ नं.को पत्र) । 

‘पछि एउटा अर्को घटनाले गर्दा अमरसिंह थापालाई किन्न पाए झन बढिया हुने थियो भन्ने गभर्नर जनरलका मनमा परेको थियो । लडाईं होला भनेजस्तो भएपछि यमुना र सतलजका माझका नेपालीले जितेका राजाहरुलाई आफूतिर मिलाउने काममा कर्नेल अक्टर लोनी लागेका थिए । अक्टोबरका अन्त्यमा नालापानीमा अंग्रेजको हार हुँदा यो प्रदेशका राजाहरु अंग्रेजतिर मिली नेपालीहरुका विरुद्ध उठ्न राजी हुन अनकनाए जस्तो गरेका थिए । यस्तो अवस्थामा अमरसिंह थापालाई किन्न पाए चिताएको कुरा सजिलै पुग्ने हुन्थ्यो’(ज्ञवाली, ७३) । 

“...अक्टर लोनीले अमरसिंह थापालाई आफ्ना अधीन भएका पल्टन र देश समर्पण गरे भने गभर्नर जनरलले उनलाई वर्षको ३० हजार रुपैयाँ उठ्ती हुने, उनले भोग गरेको इलाका र उनी, उनका जहानलाई वार्षिक २४ हजार रुपियाँ दिने प्रस्ताव गरे”(ज्ञवाली, ८४) । प्रत्युत्तरमा अमरसिंह थापाले अन्त्यसम्म लडाईं गर्ने आफ्नो विचार लेखी पठाए (कर्नेल डब्ल्यु.एस.हेमिल्टन्) । 

यसरी रणभूमिमा जब जब प्रतिद्वन्द्वीहरुलाई बडाकाजी अमरसिंह थापा, उनी मातहतको फौजमाथि विजय हासिल गर्न नसकेर कठीन परिस्थिति आउने गथ्र्यो, तब तब प्रतिद्वन्द्वीहरुले बडाकाजीलाई नाना तरहले प्रलोभन देखाउने गर्थे । 

बडाकाजीलाई आफूले जितेको भूभाग (प्रान्त) को राजा बनाइदिन्छौं तर लडाइँ स्थगित गर समेत भनेका थिए । त्यस्तो बखत आक्रोशित हुँदै बडाकाजीले “म बाघको डमरु हुँ, मलाई सिनो खाने कुकुर नसम्झ” भनी प्रतिकार गर्दै युद्धकार्य सञ्चालन गर्ने गर्थे । 

नेपाली साहित्य सम्मेलन दार्जिलिङबाट प्रकाशित ‘अमरसिंह थापा’ (वि.सं.२०००) पुस्तकमा सूर्यविक्रम ज्ञवालीले उनीबारे सविस्तार वर्णन गरेका छन्, “यो भर्खर जितेको मुलुकलाई आफना कायममा ल्याउन अमरसिंह थापा जस्तै सुशासकको आवश्यकता बुझी नेपाल सरकारले यिनलाई यो भार सुम्पनु बडो उचित थियो । उसमाथि पनि नेपालको यो पश्चिम सीमाका प्रदेशको शासनभार एकजना योद्धाका हातमा हुनु नितान्त आवश्यक थियो”(पृ.४९) । 

‘उनले आर्कीलाई आफ्नो प्रधान अड्डा तुल्याये । यहाँबाट उनले आफनो पृष्ठ कुमाउसम्म एउटा बाटो बनाए औ सो बाटोको रक्षा गर्न पहाडमा किल्लाहरु बनाइए । प्रत्येक किल्लामा सो किल्लाका रक्षकका अधीनमा सेना राखिएको थियो । यसरी यता अमरसिंह थापा नयाँ जितेका राज्यको बन्दोबस्त मिलाउँदै थिए, उता नेपाल र कम्पनी सरकारका माझमा तराईका निम्ती वैमनस्य दिन प्रतिदिन बढ्न लागेको थियो । अन्त्यमा सन् १८१४ को अन्तिम भागमा नेपाल र कम्पनी सरकारबीच लडाईं भैहाल्यो’(ऐजन) । 

नेपालबाट महाराजधिराजबाट आएका लालमोहरको उत्तरमा अमरसिंह थापा र उनका छोरा रामदास, अर्जुन राजगढबाट २ मार्च १८१५ मा अंग्रेजीमा लेखेको पत्रको नेपाली उल्था (इतिहास प्रकाशमा सन्धिपत्र संग्रह पृ. ६३४) यस प्रकार छ ः “ठूलो बन्दोबस्त गरी शत्रुले लडाइँ थालेको छ । यो कारणले निकै न पाई शत्रु मेल गर्न मान्ने छैन । फेरी मेल कायम गर्न शत्रुलाई निकै दिनु असल र बाजबी हो”(ज्ञवालीः ११९, १२०) । ‘यो कारणले पहिले शत्रुलाई वुटवल, पाल्पा र शिवराजको इलाका तथा कमीश्नरहरुले ठहराए बमोजिम झगरा परेको इलाका दिनु वाजबी छ । यतिले नपुगे फेरि परस्पर मेल कायम गराउन हामीले जम्मै तराई, दून र कछाड पनि छोड्नुपर्छ । यतिले पनि पहाडको भाग पाएनौं भने अंग्रेजहरुको चित्त बुझेन भने दूनसंग सतलजसम्मको इलाका दिने अधिकार तिमीलाई छ । जे गरेर हुन्छ मेल र प्रेमको सम्बन्ध फेरि कायम गराउन औ तिमीले गरेको बन्दोबस्त म मञ्जुर गर्नेछु ।’

‘यो उपाय गर्न सकेनौ भने कनकाई टिस्टादेखि सतलजसम्म विस्तृत मेरो राज्यको रक्षा गर्न गाहारो पर्नेछ । हाम्रो राज्यका माझमा शत्रुले खुट्टा हाल्न पायो भने राज्यका दुवै छेउमा अनर्थ हुनेछ । आफनो पल्टन र सामान लिएर पछि हटी अर्कै प्रकारले लडाइँ गर्ने तिम्रो तजबीज भए र सो वाजबी ठहरियो भने तेसो पनि गरे हुन्छ । यसका निम्ति पश्चिमको काम गर्ने सबै भारदारहरुसँग पछि हटी तिमीले मिल्नु जाती छ । आफूले यो ठाउँबाट ता नेपालसम्म हामी रक्षा गर्न सक्छौं भनी ठहराएको हाम्रो राज्यको कुनै ठाउँमा तिमीहरु यसरी मिलेर पछि सर । तिमीले गर्नपर्ने कुराको हुकुम यही हो ।’ (ऐजन) । 

यसरी तत्कालीन राजा गीर्वाण युद्धविक्रम शाहबाट मुख्तियार काजी भीमसेन थापाको सल्लाहमा बडाकाजी अमरसिंह थापा र काजी नयनसिंह थापालाई ‘घा कटक’ को मुख्तियारी लालमोहर समेत प्रदान गरिएको थियो । 

बडाकाजीलाई राष्ट्र निर्माणको सन्दर्भमा विश्वासपूर्वक त्यस लडाइँको तजविजी अधिकार पनि सुम्पिदिएका थिए । उनै महामानव राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापाको प्रसिद्धिलाई भारतले जस्तै चीनले पनि नजिकबाट मूल्याङ्कन गर्दै आएको छ । जसमध्ये एक प्रसिद्ध चिनियाँ कवि ल्वी चेनले ‘नेपाल मलाई बताऊ’ कविता संग्रहको ‘प्रतिध्वनि ∕’ शीर्षकमा अमरसिंह् थापाको स्मरण गर्दै, कवितामार्फत योगदानको यसरी मूल्याङ्कन गरेका छन् ः 

‘अमरसिंह तथा उनका वीरयोद्धाहरुले बाचा गरिरहेका छन्’–“हाम्रो हरेक चपरी माटो पवित्र छ सर्वोपरि ∕ आफ्नो सीमाना र स्वतन्त्रताको रखवारीका लागि, हामी ती मिचाहाहरुलाई आफ्नो मुलुकबाट धपाइ छाड्नेछौं पक्कै पनि”(धौभडेल फाउण्डेशन, अनुवादकः सु हाओ तथा च्या चे, सम्पादकः रामबाबु सुवेदी, बनेपाः पृ.३५) । 

त्यसै गरी सुगौली सन्धिको विषयमा प्रतिक्रिया जनाउँदै बडाकाजी स्वयम्ले तयार गरेको प्रसिद्ध कवितालाई सूर्यबहादुर थापाद्वारा लिखित “बाघको डमरु” अर्थात् अमरसिंह थापा शीर्षकको लेखमा यसरी स्मरण गरिएको छ, “सुगौली सन्धि अमरसिंह थापालाई मन परेन । यिनले काँगडाबाटै यस्तो प्रतिक्रिया जनाए– “हारेको छैन हामीले खोइ ? छातीमा गोली कतै पनि म पाउन्न, हाम्रा हृदयको बत्ति मधुरो नहुँदै उहाँ अन्धकार भयो भन्ने कसरी स्वीकार गरे ?”(कोइराला त्यागी, गोपाल, २०७७, ‘टिस्टादेखि सतलज (काँगडा) सम्म नेपालको प्रमाणित दस्तावेज’, पृ.३२८)  

त्यसै गरी सैनिक इतिहासकार डा.प्रेमसिंह बस्न्यातद्वारा लिखित ‘नेपालका वीर सिपाहीहरु’ मा उल्लेख छ, “नेपालको सैनिक इतिहासमा सबैभन्दा लामो समयसम्म काजी हुने र धेरैभन्दा धेरै युद्ध सञ्चालन गर्ने काजी अमरसिंह थापा नै थिए,”(बस्न्यात, २०७४ः १०१) । 

अतः बडाकाजीले आफ्नो जीवनकाल भरिमा देशको पूर्व, पश्चिम, उत्तर, दक्षिण चारैतर्फको युद्धकार्यमा सक्रिय भइ जिम्मेवारी सम्हालेका थिए । डा.प्रेमसिंह बस्न्यातले ३५ वर्षभन्दा बढी त काजीकै नेतृत्वमा काम गरेका बडाकाजी अमरसिंह थापालाई प्रधानसेनापतिको महलमा नपारिनुमा, नराखिनुमा नेपालको सैनिक इतिहासमा ठूलै कमजोरी देखिएको धारणा व्यक्त गरेका छन् । 

‘बडाकाजी काँगडाबाट सोझै हिमवत क्षेत्र गासाईकुण्डतर्फ लागे । केही इतिहासकारहरुको मत छ, उनी चीनसँग सहयोगको कुरा मिलाउन त्यता गएका थिए । तर त्यत्रो साहसी योद्धा, बृहद् नेपाल निर्माणका नायक, स्वाभिमानी देशभक्त र सुवीर कर्मयोगीले गोसाईकुण्डमै दुःखद् मृत्युवरण गरे’(कोइराला त्यागी, ३२८) । 

वि.सं.१८०८ साउन १२ मा जन्मिएका महामानव अमरसिंह थापाले स्वेच्छिक पूर्वइच्छा मरणको घोषणा गरेका थिए । त्यसअनुरुप बडाकाजीले ६५ वर्षको उमेरमा सामाजिक रीत, धार्मिक विधि पु¥याइ वि.सं. १८७३ साउन १६, आइतबार राती ११ बजेर ४५ मिनेट जाँदा गोसाइकुण्ड (अमरकुण्ड) भित्र महाजल परिनिर्वाण (जलयोग) प्राप्त गरेका थिए (थापाद्वय ‘मदन’ टेकबहादुर र शैलेन्द्रबहादुर (‘एकीकरणका बडाकाजी भाग–२’। २०७८ः पृ.१४४) । 

उनै राष्ट्रिय विभूति अमरसिंह थापा आम राष्ट्रवासीको मानसपटलमा अमिट छाप रहेर बस्न सफल छन्, संगसंगै गुञ्जिरहेछ, “हाम्रो हरेक चपरी माटो पवित्र छ सर्वोपरि ।” 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप