शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा छ घर परिवारका २० जना विस्थापित

शुक्रबार, २१ असोज २०७९, २० : ०८
शुक्रबार, २१ असोज २०७९

बाढी तथा पहिरोका कारण गुल्मीमा शुक्रबार छ घर परिवारका २० जना व्यक्ति विस्थापित बनेका छन् । विस्थापितले यतिबेला आफन्त र छिमेकीको घरमा आश्रय लिन बाध्य छन् । पहिरोले उनीहरु सबैजनाको घर तथा गोठमा क्षति पुर्‍याएको छ । 

विस्थापित हुने परिवारमा गुल्मीदरबार र चन्द्रकोट गाउँपालिकाका बासिन्दा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । पहिरोका कारण गुल्मीदरबार गाउँपालिका–७ निवासी मानबहादुर विकको गोठ पुरिँदा भैँसी र बाख्रा मरेसँगै विकका चार जनाको परिवार विस्थापित बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिए । 

त्यसैगरी पहिरोले गुल्मीदरबार–७ का केरसिंह कामी, सीता विक र चन्द्रकोट गाउँपालिका–४ डम्बरबहादुर सुवेदी, शान्ता नेपाली र विवा नेपालीको घर उच्च जोखिममा परेको छ । विस्थापित परिवारले तत्कालका लागि आफन्त र छिमेकीको घरमा आश्रय लिएको प्रहरीले जनाएको छ । 

बाढी र पहिरोको जोखिमका कारण विस्थापित बनेकाहरूलाई स्थानीय पालिकाको तर्फबाट पनि समन्वय गरी उनीहरूको व्यवस्थापनका लागि पहल गरिरहेको गुल्मी दरबार गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले बताए । 

विस्थापितहरूलाई सुरक्षित आवासको व्यवस्थापनका लागि स्थानीय तहसँग समन्वय भइरहेको जिल्ला विपद् व्यवस्थापन समिति गुल्मीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । लगातारको वर्षाका कारण जिल्लामा विस्थापित हुनेको सङ्ख्या अझै बढ्न सक्ने प्रहरीको आकलन छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप