शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

थुनुवासँगै हिरासतमा सन्दीप लामिछानेको दैनिकी

आत्मसमर्पण गर्न चाहन्थे, प्रहरीले पक्राउ गर्‍यो
शुक्रबार, २१ असोज २०७९, १६ : ३९
शुक्रबार, २१ असोज २०७९

प्रहरी वृत्त गौशालाको हिरासतमा २६ जना भन्दा बढी थुनुवा छन् । ती मध्ये ५ जना अदालतबाट हिरासतमा राख्ने अनुमति नभएका थुनुवा छन् । तीनै पाँच मध्येका हुन्, २२ वर्षीय सन्दीप लामिछाने । क्रिकेटर लामिछानेले प्रहरीलाई आफ्नो स्थायी ठेगाना चितवन बताएका छन् ।

असोज २० मा कतारको दोहा हुँदै नेपाल आउनुअघि सन्दीपले आफू आत्मसमर्पण गर्न नेपाल आउन लागेको कुरा सामाजिक संजालमार्फत जानकारी गराए । भदौ २१ मा प्रहरी वृत्त गौशालामा १७ वर्षीया किशोरीले जबरजस्ती करणीको जाहेरी दिएपछि एक महिना बेपत्ता भएका लामिछानेले आफैंले नेपाल आएर प्रहरीसामु ‘आत्मसमर्पण’ गर्ने बताएपनि प्रहरीले उनलाई सो अवसर दिएन ।

कतार एयरवेजको ‘क्यूआर–६४८’ विमान मार्फत बिहीबार विमानस्थलमा ओर्लनासाथ डीआईजी श्यामलाल ज्ञवाली नेतृत्वको प्रहरी टोलीले उनलाई हतकडी लगायो । सामाजिक संजालमा प्रहरीको सो कदमको  विरोध समेत भइरहेको छ ।

सरकारवादी फौजदारी मुद्दा दर्ता भएको हुनाले अनुसन्धान अघि बढाउन प्रक्रियामा लानुपर्ने बताउँछन्, प्रहरी प्रवक्ता (डीआईजी) टेक प्रसाद राई । उनी भन्छन्, ‘पक्राउ गरेर अनुसन्धान अघि बढाउनुको विकल्प थिएन ।’

पक्राउ गरेर बीर अस्पतालमा उनको स्वास्थ्य परीक्षण गरिएको छ । अहिले उनलाई प्रहरी वृत्त गौशालामा अन्य थुनुवासँगै राखिएको छ । उनीसँग १ पोको गाँजा सहित पक्राउ परेका काठमाडौंका विमल देउलादेखि पैसा लुटेको आरोपमा पक्राउ गरिएका सर्लाहीका संजय थापासहितका थुनुवा सँगै छन् ।

फौजदारी मुद्दामा हत्कडी लगाउने वा नलगाउने भन्ने अनुसन्धान अधिकृतले नै निर्णय गर्ने प्रहरी प्रवक्ता राईले बताए । डीआईजी राई भन्छन्, ‘अनुसन्धान अधिकृतले आफूलाई विश्वास लागेमा हतकडी नलगाउने निर्णय पनि लिन सक्छन् तर, सो निर्णय अनुसन्धान अधिकृतको स्वविवेकमा भर पर्छ ।’

सन्दीपलाई भेट्न उनका आफन्त र नातेदार गइरहन्छन् । उनलाई नातेदारसहित  एकजना सह–न्यायाधीवक्ता र नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले भेट गरेका छन् ।

१ महिना कहाँ थिए ?

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार लामिछानेसँग ५ देशको भिषा रहेको थाहा भएको छ । उनीसँग इंग्ल्याण्ड, अमेरिका, अष्ट्रेलिया र मलेशिया सहित ५ मुलुकको भिषा रहेको अनुसन्धानमा संलग्न एकनजा प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।

क्यारेबियन प्रिमियर लिग क्रिकेट खेल्नका लागि जमैका गएका लामिछाने आफूबिरुद्ध बलात्कार मुद्दामा जाहेरी दर्ता भएपछि बेपत्ता भएका थिए । एक महिनाको अवधिमा उनी अमेरिकास्थित फ्लोरिडा शहरमा बसेको थाहा भएको छ । नेपाल प्रहरीको इन्टरपोल शाखाले ‘डिफ्युजन नोटिश’ जारी गरेपछि उनी झस्किएका थिए । डिफ्युजन नोटिस जारी भएपछि अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेष्टिगेशन (एफबीआई)ले सन्दीप फ्लोरिडामा रहेको ‘लोकेट’ गरेको अनुसन्धान अधिकारीहरु बताउँछन् ।

अमेरिकामा पक्राउ पर्ने अवस्था आएपछि उनले आफू नेपाल आउन लागेको जानकारी सामाजिक संजाल मार्फत गराएका हुन् । सन्दीप बिरुद्धको आरोपबारे इक्सपेक्टर विशाल तामाङ नेतृत्वको टिमले अनुसन्धान गरिरहेको छ । प्रहरीले उनलाई पक्राउ गर्दा ‘इमर्जेन्सी पक्राउ पुर्जी’ दिएको थियो । असोज २३ मा अदालत खुलेपछि अनुसन्धान गर्न म्याद लिने प्रहरीको तयारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप