मध्यपहाडी लोकमार्गको दर्जनौँ स्थानमा पहिरो, सयौँ यात्रु अलपत्र

person explore access_timeअसोज २१, २०७९ chat_bubble_outline0

चार दिनदेखि निरन्तर परेको वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिबाङ–पूर्वी रुकम खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक खण्डको निसीखोला गाउँपालिका–४ जिरीखोला, कालापैराखोलालगायत दर्जनौँ स्थानमा माथिदेखि झरेको पहिराले सडक अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेका छन् ।


बुर्तिबाङ बजारदेखि छोटो तथा लामो दूरीमा सञ्चालन हुने सवारी साधनसमेत ठप्प बनेका छन् । लोकमार्गमा बिहीबारदेखि नै सवारी साधनहरू ठप्प भएका छन् भने आधा दर्जन गाडीहरू पहिरोमै फसेका छन् । पहिरामा फसेका सवारी साधन निकाल्ने प्रयास भए पनि निरन्तर वर्षा भइरहेको हुँदा निकाल्न नसकिएको बस चालक प्रकाश सेन्चुरीले बताउनुभयो ।



उनले आफू ३७ जना यात्रु लिएर रुकुमदेखि काठमाडौँ हिँडेको भन्दै कालापैराको पहिरामा फसेको बताए । सेन्चुरीले दसैँ मनाएर काठमाडौँ फर्किएका यात्रु लिएर आएको बताउँछन् । “दसैँको अघिल्लो दिनदेखि परेको पानीले सडक हिलाम्मे बनाएको छ, मेरो गाडी पहिरामा फसेको दुई दिन हुन लाग्यो, ३७ जना प्यासेन्जर लिएर काठमाडौँ हिँडेको पहिरामा गाडी फसेर तनाव भयो”, उनले भने ।



रुकुमदेखि काठमाडौँ हिँडेका प्रेम पुन मगरले पहिराका कारण आफूहरू अलपत्र परेको बताए । उनले सानो बजार नजिकै पहिरामा गाडी फसेपछि बास पाउनसमेत मुस्किल परेको बताए । घर्ती भन्छन्, “यस्तो समस्यामा परिन्छ भनेको भए त पानी बिदो भएपछि हिँड्ने थियौँ, काठमाडौँ पुग्न हतार थियो र हिँडियो, अहिले बीच बाटोमा अलपत्र परियो, यो पहिरो कहिले पन्छाएर बाटो खुलाउने हो, पानी परिरहेको छ, गाह्रो हुने भयो ।”

पहिराले सडक पूर्ण रूपमा अवरुद्ध हुँदा जिरीखोला र कालापैरा खोलाको पहिरो छेउमा सयौँको सङ्ख्यामा यात्रुहरू अलपत्र छन् । लोकमार्गको वैकल्पिक सडक पनि ठप्प हुँदा यात्रुहरू समस्या पर्नु परेको स्थानीय मनप्रसाद पौडेले बताए । उनले लोकमार्गभन्दा पारिपट्टिको सडक खुलेको भए यात्रुहरू यसरी सडकमा अलपत्र पर्नुपर्ने बताए ।

“गाउँपालिकाले पारिपट्टिको सडक सञ्चालन गर्नुपर्थ्यो, अहिले यसरी सयौँ मान्छेहरुबीच बाटोमा अलपत्र पर्नु परेको छ, पारिको सडक खुलेको भए त बुर्तिबाङ त पुग्न सक्थे नि”, उनले भने, “यो सडक खुल्ने कहिले हो, नखुल्दासम्म यात्रुहरूलाई धेरै समस्या हुने भयो, खुलाउने प्रयास त गरेका छन्, कति बेला खुल्ने हो अब ?”

बुर्तिबाङदेखि रुकुम र रुकुमदेखि काठमाडौँ, बागलुङ, पोखरा जाने गाडीहरू लोकमार्गको छेउछाउमा रोकिएका छन् भने यात्रुहरू भोकले व्याकुल बनेका छन् । नजिक होटल तथा पसल नहुँदा आफूहरूले समस्या भोग्नु परेको यात्रु गोमा सुनारले बताए । उनले पैसा भएर पनि होटल पसलहरू नजिक नहुँदा भोकै बस्नु परेको बताए ।

“निकै समस्यामा परियो, दसैँ मानेर मात्रै पोखरा हिँडेको, पोखरामा आफन्तहरू हुनुहुन्छ, टीका लगाउन जान थालेको, हिजो दिउसोदेखि यहाँ आएर रोकिएको अहिलेसम्म यहीँ छौँ, नजिकमा होटल पसल पनि भेटिएन, भोकले मर्न लागियो, डोजरले बाटो खुलाउन त लागेको छ, यहाँ मात्रै रैनछ पहिरो धेरै ठाउँमा गएको रैछ”, सुनारले भने ।

निसीखोला गाउँपालिका–४ का वडाध्यक्ष टीकानिधि पौडेलले सडक खुलाउने प्रयास गरिरहे पनि वर्षाले गर्दा पहिरो खसिरहेको बताए । उनले केही स्थानको पहिरो पन्छाए पनि अझै केही स्थानमा हटाउन बाँकी रहेको बताउनुभयो । वर्षा नरोकिँदा निरन्तर पहिरो झरिरहेको उनको भनाइ छ ।

“हिजोदेखि नै हामीहरुले सडक खुलाउन थालेका थियौँ, हिजो केही ठाउँमा खुलाएका थियौँ, रातभरिको वर्षाले फेरि पहिरो झरेर सडक अवरुद्ध बनाएको छ, हामीहरू निरन्तर छाता ओढेर भए पनि सडक खुलाउन लागिरहेका छौँ”, अध्यक्ष पौडेलले भने, “वर्षा नै रोकिएन, यसले थप समस्या बनायो, यात्रुहरूलाई पनि निकै समस्या भएको छ, पानी रोकियो भने त सडक खुलाउन धेरै समय लाग्ने थिएन ।”

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।