बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कैलाली-५ मा उम्मेदवारी​ दिने पुष्करनाथको तयारीले कांग्रेसभित्र खैलाबैला

शुक्रबार, २१ असोज २०७९, १३ : ००
शुक्रबार, २१ असोज २०७९

कैलाली निर्वाचन क्षेत्र नं.५ मा उम्मेदवार टुंग्याउन नेपाली कांग्रेसभित्र रस्साकस्सी चलिरहेको बेला पूर्व राज्यमन्त्री पुष्करनाथ ओझाको उम्मेदवारीको तयारीले खैलाबैला मच्चिएको छ । 

कैलाली निर्वाचन क्षेत्र नं. ५ ले राष्ट्रिय राजनीतिमा प्रभाव पार्दै आएको छ । सत्तारुढ गठबन्धनभित्र भागबण्डा हुँदा नेपाली कांग्रेसको भागमा सो प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र परेको हो ।
तर नेपाली कांग्रेसको कारबाहीमा परेका नेता ओझाको उम्मेदवारीको तयारीले कांग्रेसी नेता तथा कार्यकर्ताबीच हलचल पैदा गरेको हो ।

निर्वाचन आयोगले पर्सी (आइतबार) उम्मेदवार मनोनयन दर्ताको समय तोकेकाेले ओझाले स्वतन्त्र उम्मेदवारी दिने विषयमा शुक्रबार धनगढीमा निकटस्थसँग छलफल समेत गरेका छन् । उनले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट चुनाव लड्न तयारी थालेको बताइएको छ । 

ओझाले आज नै पत्रकार सम्मेलनमार्फत उम्मेदवारी घोषणा गर्न लागेका छन् । २०७४ सालको प्रतिनिधिसभा चुनावमा आकांक्षी रहेका ओझा कांग्रेस सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणालाई टिकट दिएपछि ओझा रुष्ट बनेका थिए । आरजु नेकपा एमालेका नारदमुनि रानासँग पराजित भएपछि चुनावमा असहयोग गरेको भन्दै नेपाली कांग्रेसले उनलाई कारबाही गरेको थियो ।

प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि कैलाली–५ बाट एकल सिफारिसमा परेकी आरजुले ओझाको साथ नपाउने देखेपछि समानुपातिक रोजेकी छन् । यो बीचमा ओझालाई फकाउने प्रयास समेत असफल भएका थिए ।

उनी समानुपातिक सूचीमा परेपछि कैलाली–५ मा नेपाली कांग्रेसले ओझामाथिको कारवाही फुकुवा गरेर टिकट दिने चर्चा चलेको थियो । तर बालुवाटारले भने पूर्व सुदूरपश्चिम प्रदेशसभा सदस्य डिल्लीराज पन्तलाई प्रतिनिधिसभा सदस्यको चुनाव लड्न तयारी गर्न भनिसकेको बताइएको छ । तर यसबारे अझै निर्णय भइनसकेको नेपाली कांग्रेस कैलाली सभापति नारायणदत्त भट्टले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप