शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जसपा गठबन्धनबाट बाहिरिएसँगै मोरङमा तरङ्ग

५ नम्बर क्षेत्र र दुई प्रदेश निर्वाचन क्षेत्र जसपालाई दिने एमालेको तयारी
शुक्रबार, २१ असोज २०७९, १२ : ३९
शुक्रबार, २१ असोज २०७९

पाँच दलीय गठबन्धनबाट बाहिरिएको जसपालाई एमालेले १ संघीय निर्वाचन क्षेत्र र २ प्रदेशसभा निर्वाचन क्षेत्र दिने तयारी गरेको छ । जसपाले पाँच दलीय गठबन्धन छोडेर एमालेसँग देशव्यापी गठबन्धनको तयारी गरिहेको छ । एमाले मोरङ स्रोतले दिएको जानकारी अनुसार केन्द्रमा सहमति भए मोरङको निर्वाचन क्षेत्र ५ जसपालाई दिने र सोही निर्वाचन क्षेत्रको १ र २ नम्बरको कुनै एउटा प्रदेश निर्वाचन क्षेत्र जसपालाई दिने तयारी गरेको छ । 

जसपाका जिल्लास्तरीय एक नेताका अनुसार ५ नम्बर क्षेत्रमा उसले राजकुमार यादवलाई उम्मेदवार बनाउने निश्चित छ । यस्तै एमालेले भने सो क्षेत्रमा जीवन विकास समाजका अध्यक्ष योगेन्द्र मण्डललाई उम्मेदवार बनाउने तयारी गरेको थियो । 

गठबन्धन अदल बदल भएसँगै मोरङका निर्वाचन क्षेत्रको समीकरण पनि फेरबदलको कसरत सुरु हुने भएको हो । हालसम्म एमालेले मोरङको क्षेत्र नम्बर १ मा घनश्याम खतिवडा, २ मा ऋषिकेश पोखरेल, ३ मा भानुभक्त ढकाल, ४ मा विनोद ढकाल, ५ मा योगेन्द्र मण्डल र ६ मा लालबाबु पण्डितको नाम टुंगो लगाउने तयारी गरेको थियो । 

जसपासँगको गठबन्धनको कुराले संघ र प्रदेशको निर्वाचनका उम्मेदवारबारे अहिले नै टुंगो लगाउन नसकिएको एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिए । ‘हिंजोदेखि अर्कै कुरा आएको छ, भागबण्डामा कता पर्ने हो भन्ने टुंगो नभएको कारण उम्मेदवारको अन्तिम नाम टुंगो लाग्न सकेन,’ पोखरेलले भने ।

जसपासँग गठबन्धन भएको खण्डमा सत्ता पक्षीय दलका गठबन्धनका तर्फबाट मोरङ क्षेत्र नम्बर १ मा डिकबहादुर लिम्बू, २ मा सुजाता कोइराला, ३ मा डा. सुनिल शर्मा, ४ मा अमनलाल मोदी, ५ मा शिवकुमार मण्डल र ६ मा डाक्टर शेखर कोइरालाले प्रतिस्पर्धा गर्नेछन् । यद्यपि मोरङ २ नम्बर क्षेत्रमा काँग्रेस नेता डाक्टर मिनेन्द्र रिजालले टिकट पाउनु पर्नेमा शेखर कोइराला पक्षले दबाब बढाइरहेका छन् । 

मोरङ क्षेत्र नम्बर ३ मा भने एमालेसँग गठबन्धन गर्ने तयारी गरेको राप्रपाले पनि दाबी गरेको कारण भागवण्डा मिल्न भने सकेको छैन । उक्त क्षेत्रमा राप्रपाले नेतृ तथा नायीका रेखा थापालाई उम्मेदवार बनाउने भएको छ । थापाका लागि लिङ्देनले एमालेसँग बार्गेनिङ गरिरहेको बताइएको छ ।

स्रोतका अनुसार झापामा भने एमालेले क्षेत्र नम्बर १ मा अग्नि खरेल, २ मा देवराज घिमिरे, ३ मा राप्रपा, ४ मा एलपी साँवा र ५ मा अध्यक्ष केपी शर्मा ओलीको उम्मेदवारी फाइनल भएको बताइएको छ । काँग्रेससहितको गठबन्धनले भने १ बाट काँग्रेसका विश्वप्रकाश शर्मा, २ नम्बर माओवादीबाट धर्मशीला चापागाईं, ३ बाट काँग्रेसको कृष्ण सिटौला, ४ बाट काँग्रेसका देउमान थेबे र ५ नम्बरबाट माओवादीका रञ्जित तामाङ उम्मेदवार बन्ने निश्चित भएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप