बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

शुक्रबार, २१ असोज २०७९, १२ : १२
शुक्रबार, २१ असोज २०७९

यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मोरङका सबै निर्वाचन क्षेत्रमा बिहीबार मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
    
निर्वाचन क्षेत्र नं ६ का लागि जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो । कार्यालयको उद्घाटन गर्दै मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलले आसन्न निर्वाचन निष्पक्ष, धाँधलीरहित, स्वतन्त्र एवं भयरहित वातावरण सम्पन्न हुने बताए ।
    
उनले निर्वाचनका निम्ति मोरङमा तीन सय ६ मतदान स्थल र आठ सय ३९ मतदान केन्द्र रहने तथा जिल्लाभरका कुल सात लाख ३५ हजार पाँच सय २५ मतदाताले मतदान गर्ने जानकारी दिनुभयो । मोरङमा छ वटा निर्वाचन क्षेत्र छन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार २३ गते मनोनयन दर्ता र सोही दिन सूची प्रकाशन, २५ गते अन्तिम नामावली प्रकाशन र २६ गते मनोनयन फिर्तापछि पुनः अन्तिम नामावली प्रकाशन गरिने प्रमुख निर्वाचन अधिकृत ढुङ्गेलले बताए ।
    
मोरङको निर्वाचन क्षेत्र नं ६ मा कुल एक लाख २६ हजार एक सय ६१ मतदाता छन् । सो अवसरमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निर्वाचन अधिकृतको कार्यालय स्थापनपछि निर्वाचनको कार्य सुरु हुने बताउँदै निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन केन्द्रीय सुरक्षा २०७९ अनुसार जिल्लामा पनि जिल्ला सुरक्षा योजना तयार भएको बताए ।
    
निर्वाचनका निम्ति मोरङमा निर्वाचन क्षेत्र नं १ का लागि उर्लाबारी, २ का लागि रतुवामाई, ३ का लागि बेलबारी ४ का लागि विराटनगर हृदययेश बाल उद्यान, ५ का लागि सुनसरी मोरङ सिँचाई आयोजनाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो ।

यसैगरी, निर्वाचन क्षेत्र नं १ का लागि गोपाल थापा, २ का लागि नगेन्द्रकेशरी पोखरेल, ३ का लागि रामहरि शर्मा, ४ का लागि मणिराम पोखरेल र ५ का लागि गणेश नायक निर्वाचन अधिकृत तोकिएको प्रदेश निर्वाचन अधिकारी लेवन कास्यप अधिकारीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप