सरकारले राख्न थाल्यो वैदेशिक रोजगारीबाट स्वदेश फर्किनेहरूको विवरण
सरकारले वैदेशिक रोजगारीबाट फर्किएकाहरूको विवरण राख्न थालेको हो । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीबाट फर्किएकाहरूको विवरण राख्न थालेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विमानस्थलमै स्वदेश फर्किनेहरूको विवरण सङ्कलन गर्न विभागलाई भनेको थियो । सोही आधारमा विभागले साउनदेखि विवरण अद्यावधिक गर्न थालेको छ ।
विवरण अद्यावधिक गर्न थालेपछि साउनमा ३५ हजार ६०५ जना स्वदेश फर्किएका छन् । जसमा ३२ हजार ८०७ पुरुष र २ हजार ७९८ महिला रहेका छन् । त्यसरी फर्किनेहरूमा सबैभन्दा बढी कतारबाट रहेका छन् । कतारबाट मात्रै ११ हजार ४८ जना स्वदेश फर्किएको विभागको तथ्याङ्कले देखाएको छ ।
त्यस्तै युएईबाट ८ हजार ४५५, साउदी अरेबियाबाट ८ हजार ४०, मलेसियाबाट ३ हजार ९७२, कुवेतबाट ३ हजार ९७२ जना रहेका छन् । त्यस्तै भदौ महिनामा ४७ हजार ८९७ जना स्वदेश फर्किएका छन् । त्यसरी फर्किनेमा कतारबाट १३ हजार २९२, साउदी अरेबियाबाट ११ हजार १८२, युएईबाट १० हजार ८५०, मलेसियाबाट ६ हजार ५२०, कुवेतबाट २ हजार १५ जना रहेका छन् ।
श्रम मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको लागि पुनः एकीकरण कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७९ जारी गरेको छ । २१ असार २०७९ को मन्त्रिपरिषद् बैठकले निर्देशिका पारित गरेपछि जारी भएको थियो । सोही निर्देशिका अनुसार सरकारले वैदेशिक रोजगारबाट स्वदेश फर्किएकाहरूको विवरण राख्न थालेको हो ।
विवरण राख्दा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको व्यक्तिगत विवरण, वैदेशिक रोजगारीको सिलसिलामा काम गरेको मुलुक र कामको प्रकृति, आर्जन गरेको ज्ञान, सीप, अनुभव, वैदेशिक रोजगारीको आर्जनबाट देशभित्र रोजगारी वा स्वरोजगारी गर्ने सम्बन्धमा निजको इच्छा, आवश्यकता, प्राथमिकता, योजना लगायतको जानकारी राख्ने गरिएको छ ।
वैदेशिक रोजगारीबाट फर्केका नेपाली नागरिकको सीप, पुँजी र प्रविधिलाई राष्ट्र हितको लागि उपयोग गर्न तथा त्यस्ता नागरिकको पुनः एकीकरण गर्नका लागि उक्त निर्देशिका जारी गरेको थियो । सरकारले वैदेशिक रोजगारीबाट फर्केकाहरूलाई स्वदेशमा उद्यमशीलता गर्नका लागि आर्थिक सहयोग पनि गर्नेछ । त्यसमा सहुलियत ऋण सहयोग र अनुदान दुवै हुनेछ । वैदेशिक रोजगारबाट स्वदेश फर्किएको व्यक्ति भोलि पुनः विदेश नगएर स्वदेशमै केही गरोस् भन्ने चाहनाले सरकारले उक्त निर्देशिका जारी गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी