शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेता सिंहले यसरी मिलाउँदै छन् काठमाडौं १ मा प्रदेशको टिकट ?

शुक्रबार, २१ असोज २०७९, ०७ : ४०
शुक्रबार, २१ असोज २०७९

सत्ता गठबन्धनबाट काठमाडौं १ मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह उम्मेदवार बन्ने निश्चित जस्तै छ । कांग्रेसमा पनि सिंहको विकल्पका रुपमा कुनै नेता अगाडि नआएको अवस्था छ । काठमाडौं–१ मा सिंहको नाम एकल सिफारिस भएको छ । तर सोही क्षेत्रको प्रदेशसभा सदस्यमा उम्मेदवारका लागि कांग्रेसभित्र हानथाप छ । कांग्रेसका मातहतका कमिटीले काठमाडौं–१ को (क)का लागि दीपेन्द्र श्रेष्ठ, राज अर्याल, प्रभाकरप्रसाद पाण्डे , सुरज भट्टराई, प्रतिमा मुडभरी, सागर भट्टराई र बाबुराम आचार्य गरी ७ जनाको नाम सिफारिस गरेको छ ।

यस्तै १ को (ख)मा राजेन्द्र गुरुङ, सुनिता काफ्ले, सुरजचन्द्र लामिछाने, आदर्श विक्रम कार्की, सुनील शरण पराजुली, ऋषि कोइराला, गणेश बहादुर खत्री, राम बाबु प्रसाई र हिरा लाल शाक्य ९ जना आकांक्षी देखिएका छन् ।

प्रदेश क मा सिफारिस भएका सात जना मध्य बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री समेत रहेका दीपेन्द्र श्रेष्ठको टिकट पाउने सम्भावना बलियो छ । तर प्रदेश क मा माओवादी केन्द्रले पनि दाबी गरेको छ । माओवादी केन्द्रका युवा नेता अनिल शर्माले प्रदेश (क)मा दाबी गरेपछि श्रेष्ठलाई टिकटका लागि सकस परेको छ ।​

 

०७४ मा आफूले जितेको क्षेत्र माओवादीलाई छाड्न नहुने भन्दै नेतृत्वलाई दबाब दिरहेको बुझिएको छ । तर ०७४ मा प्रतिनिधिसभा उम्मेदवार बनेका शर्माले गठबन्धनका कारण प्रदेश रोजेपछि श्रेष्ठको दाबी फितलो हुन पुगेको छ । सिंहलाई पनि माओवादीलाई एउटा प्रदेशसभामा समेटेर जानुपर्ने बाध्यता छ । 

कांग्रेसले ०७४ मा एमालेले जितेको प्रदेश (ख) लिन माओवादीलाई आग्रह गरेको थियो । तर माओवादीले क नै रोजेको कांग्रेसका एक नेताले बताए । यता प्रदेश ख मा पनि कांग्रेसमा ९ जनाको नाम सिफारिस भएपनि अहिले आएर दुई जनामा कुरा अड्किएको छ । सुरजचन्द्र लामिछाने, र ऋषि कोइराला मुख्य दाबेदारका रुपमा अगाडि आएका छन् । लामिछाने ०७४ मा एमालेका गणेश दुलालसँग १९ मतले पराजित भएका थिए भने कोइराला इन्जिनियरिङ क्षेत्रबाट राजनीतिमा आएका हुन् ।

गत वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा नेता सिंहले लामिछानेलाई काठमाडौं महानगरपालिका ३१ को वडा अध्यक्षको उम्मेदवार बनाएका थिए । नेता विमलेन्द्र निधि निकट लामिछानेले अन्तिममा उम्मेदवार हुन अस्वीकार गरेपछि सिंहसँग दुरी बढेको देखिन्छ । त्यसपछि उनले सामाजिक सञ्जालमा पार्टी राजनीतिबाट अलग हुने घोषणा गरेका थिए ।

उनमा पछिल्लो समय राजनीतिक विचलन देखिएपछि सिंहसँगको विश्वास गुमाएको चर्चा छ । कोइराला भने सिंह निकट मान्छिन् । शेखर कोइराला समूहका शीर्ष नेताहरुसँग पनि ऋषि कोइरालाको सम्बन्धन राम्रो छ । काठमाडौं १ मा बस्ने पूर्वको मतलाई जोगाउन र पार्टीभित्र सन्तुलन मिलाउन ओखलढुंगा पुर्ख्यौली घर भएका कोइरालालाई सिंहले अगाडि सार्ने सम्भावना बलियो छ ।

काठमाडौं १ मा स्थानीय निर्वाचनको परिणाममा काँग्रेस एमालेभन्दा ३५४ मतले मात्र अगाडि छ । यहाँ काँग्रेसको ९ हजार ८९५, एमालेको ९ हजार ५४१, राप्रपाको १ हजार ३७६, माओवादीको १ हजार १५९ मत छ ।

२०७४ को निर्वाचनमा सिंहले काठमाडौं–१ मा तत्कालीन विवेकशील साझाका अध्यक्ष रविन्द्र मिश्रलाई ८१८ मतान्तरले हराएका थिए । सिंहको १० हजार ९३६ र मिश्रको १० हजार ११८ मत आएको थियो । अहिले मिश्र राप्रपामा प्रवेश गरिसकेका छन् ।

राप्रपाको वरिष्ठ उपाध्यक्षका मिश्रले काठमाडौं १ मा उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । एमाले र राप्रपाबीच तालमेलको प्रयास जारी छ । त्यसैले सिंहले उम्मेदवारका आकांक्षीको सबै पक्ष निकालेर मात्र प्रदेश उम्मेदवार छनोटमा लबिङ अगाडि बढाएको पाइन्छ ।​

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप