खेलाडी

दीपक विष्टको अनुभव: खेल जीवनको वैकल्पिक उपाय व्यवसाय

person explore access_timeअसोज २१, २०७९ chat_bubble_outline0

दसैँको मुखमै नेपाली राष्ट्रिय फुटबल टोलीका आठ जना खेलाडीहरू अस्ट्रेलिया पलायन भए । यसले नेपालमा खेलकुदबाट नै जीविकोपार्जन गर्ने अवस्था छैन भन्ने देखाउँछ । सक्रिय खेल जीवन उत्कर्षमै रहेको बेला भविष्यको चिन्ता गर्दै धेरै खेलाडीहरू विदेशिने गरेका छन् । 


अस्ट्रेलिया गएका खेलाडीहरू अब खेलकै लागि नेपाल फर्किने अवस्था छैन । फुटबल मात्र होइन, क्रिकेट, एथलेटिक्स लगायतका अन्य खेलाडीहरू पनि पछिल्लो समय नेपालमा धेरै बस्ने गरेका छैनन् । नेपालमा भविष्य राम्रो नदेखेर उनीहरू विदेश पलायन भएका हुन् । 



तर नेपालमै पनि भविष्य देख्ने खेलाडीहरू पनि छन् । त्यसमध्ये एक हुन्, ओलम्पियन दीपक विष्ट । उनी नेपाली खेलाडीहरूले आफ्नो खेल जीवनसँगै केही साइड बिजनेस गर्नुपर्ने सुझाव दिन्छन् । 



उनी आफै पनि अहिले खेल जीवनसँगै व्यवसायमा छन् । नौ वर्षअघि उनले स्पोर्ट्स युनिभर्स नामक स्पोर्ट्स वेयर सेन्टर खोले । सक्रिय खेलकुद जीवनबाट बाहिरिँदा उनी व्यवसायमा प्रवेश गरे । 

विष्टले व्यवसायमा आफूले सक्ने र आफूले बुझ्ने व्यवसाय सुरु गरे । चार जना साथीहरूसँग मिलेर एक करोड बराबरको व्यवसाय सुरु गरेका उनले अहिले सफल ढंगले चलाइरहेका छन् । 

‘खेलले मात्र जीविकोपार्जन गर्न सकिने अवस्था छैन । तर सबै विदेश पलायन पनि हुन सकिँदैन । त्यसैले खेल जीवनपछि व्यवसाय सुरु गर्न आवश्यक छ । म त सबै खेलाडीहरूले साइडमा व्यवसाय गर्न आवश्यक देख्छु,’ विष्ट भन्छन् । 

खेलाडी जीवनपछि विष्ट राष्ट्रिय तेक्वान्दो टोलीका मुख्य प्रशिक्षक भए । साथसाथै व्यवसायलाई पनि सँगै लगे । त्यसो त स्पोर्ट्स वेयर सेन्टर खोल्नु अघि उनले खेलाडी भएकै समयमा एक पटक होटल व्यवसाय पनि सञ्चालन गरेका थिए । 

तर होटलमा आफूले लामो समय दिन नसकेपछि छाडे । उनीसँगै व्यवसायमा खेलसँग सम्बन्धित मान्छे नै थिए । ‘खेलाडी भएकै समयमा मैले पहिला होटलबाट व्यवसाय सुरु गरेको थिएँ । आफूले लामो समय दिन नसकेपछि पछि व्यवसाय नै परिवर्तन गरे । खेल जीवनको समाप्ति र व्यवसायको सुरुवात एकै समयमा भयो,’ विष्टले भने । 

विदेश नजाने विकल्प व्यवसाय

खेल जीवनको उत्तरार्द्धमा आएपछि नेपालका धेरै खेलाडीहरूको अन्तिम विकल्प भनेको कमाउनलाई  विदेश जानु हुन्छ । विष्ट नै संलग्न भएको तेक्वान्दो खेलका केही खेलाडीहरू पनि विदेशमा छन् । खेलाडीहरू खेलपछि के गर्ने भन्ने कुरामा सधैं दोमनमा हुन्छन् । 

गत वर्षबाट सरकारले सागमा स्वर्ण जित्ने खेलाडीलाई मासिक ४ हजार भत्ता दिने निर्णय गरेको थियो । यसबाट खेलाडीहरूले थोरै भए पनि राहत महसुस गरेका थिए । यसरी सरकारले खेलाडी उपर खासै लगानी गरेको अवस्था छैन । 

‘खेलाडीहरूलाई सक्रिय खेलकुद जीवन बिताए पनि पछि के गर्ने भन्ने कुराले सधैँ पिरोलेको हुन्छ । त्यसैले विदेश जान्छन् । तर, विदेश जाने कुरालाई साइडमा राखेर व्यवसाय अँगाल्ने भने सहज हुन्छ,’ विष्टले भने । 

व्यवसायसँगै सामाजिक कार्य 

विष्टको प्रशिक्षण यात्रा अहिले लयमा छ । प्रशिक्षक भएर धेरै कमाइ नभए पनि उनी यही पेसामा खुसी छन् । 

उनलाई आर्थिक पाटोमा भने व्यवसायले सघाएको छ । उनले व्यवसायबाट आर्जन गरेको रकमले सामाजिक कार्य पनि गर्ने गरेका छन् । 

तेक्वान्दोमा नै राम्रो गर्न सक्ने खेलाडी तथा आवश्यक परेका व्यक्तिहरूलाई सहयोग गर्ने जस्ता कामले पनि उनलाई खुसी मिल्छ । विष्टले कोरोना महामारीका समयमा पनि धेरै खेलाडी र आवश्यक पर्नेहरूलाई सहयोग गरेका थिए । 

‘खेलकुददेखि टाढिन नसक्दा अहिले प्रशिक्षकको यात्रामा रमाइरहेको छु । खेलकुदले नै आज मलाई यो अवस्थामा पुर्‍यायो । त्यसैले आर्थिक रूपमा व्यवसाय गरेर खेलकुदमा जमिरहेको छु । व्यवसायको केही अंश खेलाडी तथा आवश्यक परेका व्यक्तिहरूलाई सहयोग गर्न पाउँदा प्रफुल्लित हुन्छु,’ विष्टले भने । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।