शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘दसैँमा मामाघर टिका लगाउन आउँदा दुर्घटनामा ज्यान गयो’

तीव्र गति  दुर्घटनाको मुख्य कारण: ट्राफिक प्रहरी
बिहीबार, २० असोज २०७९, २० : ५४
बिहीबार, २० असोज २०७९

दसैँमा टिका लगाउन चितवन, खैरहनीबाट अम्लेखगञ्ज स्थित मामाघर आएका सफल आचार्यको बिहीबार पथलैया–अम्लेखगञ्ज सडक खण्डको ३ नं पुलमा बस दुर्घटनामा ज्यान गएको छ । खैरहनी नगरपालिका ५ पदमपुरबाट आमा अम्बिका आचार्यसँगै दसैँ मनाउन अम्लेखगञ्ज आएका  सफलको घटनास्थलमै र  आमा अम्बिकाको उपचारको क्रममा चुरेहिल अस्पतालमा हेटौडामा ज्यान गएको हो ।‘दसैँ मनाउन मामाघर आएका भान्जा र दिदीको ज्यान गयो भनेर मामाको मुखबाट भान्जी र भिनाजुलाई कसरी भन्ने मैले,’ ठाकुरप्रसाद आचार्यले भने ।

सफलले जस्तै बिहीबार बाराको अम्लेखगञ्जमा भएको सडक दुर्घटनामा १६ जनाको ज्यान गएको छ भने १२ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । चितवनबाट वीरगञ्ज तर्फ आउँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस बिहान करिब साढे १० बजे सडकबाट करिब ५० मिटर तल खसेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रहरी निरीक्षक सुशील आर्चायले जनाएको छन् ।

 कसरी भयो दुर्घटना

अम्लेखगञ्ज–पथलैया सडक खण्डमा दुर्घटना परेको बस यसअघि चितवन भरतपुर–टाडी स्थानीय सडकमा गुड्ने लोकल बस भएको प्रहरीले जनाएको छ । चाडपर्वको बेला नियमित सडक अनुमति लिएका बाहेक ‘रुट परमिट’ नभएका सवारी साधनले पनि गुड्न पाउने व्यवस्था छ । ३० वटा सिट क्षमता भएको बसका ४२ जना रहेको र बस पनि अत्यधिक तीव्र गतिमा गुडेको थियो । सो सडक खण्डमा नियमित सवारी चलाएको अनुभव पनि नभएको र गति पनि नियन्त्रण बाहिर हुँदा घुमाउरो बाटोमा बस आकाशमा उडेर ५० मिटर तल झरेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले जनाएको छ ।

‘बसको स्पिड हेर्दा नर्मल भन्दा डबलै स्पिड देखिएको छ, पुल देख्दादेख्दै बस टर्निङभन्दा माथिबाट आएको छ । यसमा चालकको चरम लापरबाही देखिएको छ,’ राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रहरी निरीक्षक सुशील आचार्यले भने, ‘दुर्घटना हेर्दा चालक कि सुतेको हुनुपर्छ कि ओभरटेक गर्न खोज्दा काट्न नसकेको हुनुपर्छ । गाडी पनि राम्रो कन्डिसनको थिएन । ओभरलोड बोकेको पनि देखिएको छ ।’ दुर्घटनामा भएको बसको सिट क्षमता २५ देखि ३० भए पनि ४२ जना यात्रु सवार भएको पथलैया ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ‘हामीले बुझ्दा गाडी चितवन–टाडी चल्ने लोकल बस रहेछ, दसैँको बेला वीरगञ्जसम्म रिजर्भ हिँडेको रहेछ’ आचार्यले भने ।

ब्रेक फेल भएको आशङ्का : बारा प्रहरी उपरीक्षक बोगटी

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले घटनाको प्रकृति हेर्दा ब्रेक फेल भएको हुनसक्ने बताएका छन् । लगातार पानी परेका कारण बाटो चिप्लो भएको र ओरालो बाटोमा ब्रेक फेल भएका कारण दुर्घटना भएको प्रहरी उपरीक्षक बोगटीले जनाएका छन् । ‘हेटौडाबाट गाडी १ घण्टामा ३ नं पुल आइपुगेको हिसाबले तीव्र गति भन्दा पनि लगातार पानी परेको र ओरालो बाटोमा बेक्र फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ’ प्रहरी उपरीक्षक बोगटीले भने ।  दुर्घटनामा मृत्यु हुनेहरू मध्ये अधिकांश एउटै परिवारका सदस्यहरू रहेको र घाइतेहरूमा बालबालिका अधिक रहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप