बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘राष्ट्रको लागि खेल्दा दसैँ भुलिने रैछ’

बिहीबार, २० असोज २०७९, ०६ : ५४
बिहीबार, २० असोज २०७९

नेपाली फुटबल पछ्याउनेहरूका लागि रोहित चन्द चिर परिचित नाम हो । सुदूर कर्णालीबाट आफ्नो फुटबल यात्रा सुरु गरेका उनी अहिले नेपाल तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको रूपमा चिनिन्छन् । 

सन् २००९ मा नेपाली राष्ट्रिय फुटबल टोलीबाट डेब्यू गरेका रोहितले देशका लागि ७३ खेल खेलेका छन् । सन् २००५ मा एन्फा एकेडेमीमा आएका उनले अहिलेसम्म राष्ट्रिय टोली र उमेर समूहमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । 

रोहित अहिले इन्डोनेसियाको प्रेसिक केदरी क्लबमा व्यावसायिक फुटबल खेलिरहेका छन् । दसैँ आउँदै गर्दा रोहित इन्डोनेसिया प्रस्थान गरिसकेका छन् । उनले अन्तिम पटक दसैँ आफ्नो इन्ज्युरीको समयमा नेपालमा मनाएका थिए । त्यसबेला कोरोना कहर पनि थियो ।

त्यसअघिका दसैँहरूमा भने रोहित कहिले राष्ट्रिय त कहिले व्यावसायिक फुटबलका लागि देश बाहिर हुन्थे । त्यसैले पनि उनी लामो समयसम्म दसैँ मनाउन पाएका छैनन् । 

‘परिवारसँग दसैँ मनाउन नपाएको पनि धेरै भइसक्यो । राष्ट्रिय टोलीका लागि खेलिरहेको समयमा दसैँ मनाउन नपाउँदा खासै नरमाइलो त लाग्दैन । किनभने देशका लागि खेलिरहेको हुन्छु । कति समयमा घरमै दसैँ मनाउन पाएको भए हुन्थ्यो भन्ने हुन्छ । तर, मैदानमा देशका लागि खेल्दा त्यो सबै भुलिने रहेछ,’ रोहितले रातोपाटीसँगको कुराकानीमा भने । 

गत वर्ष साफ च्याम्पियनसिपका लागि नेपाली टोली माल्दिभ्स गएको समयमा रोहितले दसैँ मनाउन पाएनन् भने, त्यसअघि भने नेपाली टोली विश्वकप छनोटका लागि अस्ट्रेलियामा भएको समयमा दसैँ मनाउन पाएनन् । 

दसैँमा अस्ट्रेलियाको यात्रा सुखद भने रहेन । त्यसबेला नेपालले अस्ट्रेलियासँग ५–० गोलको हार ब्यहोरेको थियो । बलियो विश्वकप खेलेको टोलीसँगको खेलमा नेपाली टोलीले गरेको प्रदर्शन भने सम्झनलायक थियो । 

‘दसैँको समयमा जित निकाल्दा निकै रमाइलो हुन्छ । खेल नराम्रो हुँदा भने केही नराम्रो लाग्ने रहेछ,’ रोहितले भने । 

रोहित अहिले दसैँ बाहिर मनाउने विषयलाई भने खासै ध्यान दिँदैनन् । किनभने उनले नेपालभन्दा बाहिरै दसैँ धेरै मनाउने गर्छन् । विदेशमा नेपालीहरूसँग उनले दसैँ मनाउने गरेका छन् । एक ताका उनले इरानमा पनि दसैँ मनाएको सम्झे । 

राष्ट्रिय टोलीका लागि खेल्दा उनी विदेशमा नै प्रायः समय बस्दछन् । उमेर समूहका खेलहरूमा पनि उनी दसैँको समयमा विदेशिएका छन् । उनलाई अहिलेसम्म कति दसैँ मैदानमा मनाएँ भन्ने खासै हेक्का छैन । 

‘म उमेर समूहदेखि राष्ट्रिय टोलीका लागि खेल खेल्दा धेरै पटक विदेशमै हुन्छु । कहिले त क्लबबाट खेल्दा पनि विदेशमा नै हुन्छु । एम्बेसीहरू भएको समयमा सबै टिमहरू गएर दसैँ मनाएका पनि छौँ । यदि त्यस्तो नभए हामी आपसमा रमाएर दसैँ मनाएका हुन्छौँ,’ रोहितले भने । 

राष्ट्रको अघि के दसैँ ? 

नेपालीहरूको विशेष चाड भएका कारण दसैँको बेग्लै महत्त्व छ । त्यस्तै रोहितका लागि पनि यसको महत्त्व बेग्लै छ । मैदानसँगको दसैँ भने उनका लागि विशेष लाग्छ । किनभने उनका लागि यही नै प्यारो बनेको छ । धेरै दसैँ विदेशमा नै मनाएका उनले देशका लागि खेल्दा दसैँले दोस्रो स्थान पाउने बताउँछन् । 

‘राष्ट्रको अघि के दसैँ ? मैले मनाएका धेरै दसैँ मैदानमा हो । मैदानको दसैँ मलाई अहिले प्यारो लाग्छ । यो पटक पनि व्यावसायिक फुटबलका लागि विदेश नै हुनेछु,’ रोहितले भने । 

कसरी मनाउँदै छन् यो दसैँ ? 

यो पटक रोहितलाई नेपालमै दसैँ मनाउन मन थियो । तर उनी खेलकै लागि इन्डोनेसियामा छन् । क्लब खेलकुदमा भएको समयमा उनी बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका थिए । 

मैत्रीपूर्ण खेल खेलेको दुई दिनमै उनी विदेश जान लागेका हुन् । मुस्लिम राष्ट्र भएकाले इन्डोनेसियामा दसैँ मनाइँदैन । तर त्यहाँ नेपालीहरू भेटिए दसैँ मनाउने वातावरण बन्न सक्ने उनको भनाइ छ । 

‘यो पटक पनि दसैँ नमनाउने अवस्था आइलाग्यो । अब त बानी नै परिसक्यो...हाहाहा...,’ रोहितले हाँस्दै भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप