दसैँ अनुभव

‘ससुराली नै छिमेकी, दसैँमा गएजस्तो लाग्दैन’

person explore access_timeअसोज २०, २०७९ chat_bubble_outline0

व्यक्तिका आ–आफ्नै इच्छा चाहाना हुन्छन् । अनि भोगाई र गराई पनि । तर, चाडपर्व मध्येकै  ठुला र प्रमुख भनेर पुस्तौपुस्तादेखि नेपालीले मनाउँदै र अनुसरण गर्दै आएको दसैँ, तिहार र छठको मान्यता भने आज पर्यन्त एकै छ । यद्यपि, विजय उत्सवको रूपमा नेपालीले मनाउँदै आएको दसैँ मनाउने तौरतरिकामा भने पछिल्लो समय केही फरकपन आएको छ । 


खासगरी पहिले–पहिले दसैँलाई विशेष: खानपान, परिवारजनसँग भेटघाट गर्ने, पूजाआजामा व्यस्त हुनेदेखि टिका लगाएर ठुलाबडाबाट आशिष् थाप्ने पर्वको रूपमा लिने गरिन्थ्यो । तर पछिल्लो समय यसको परिभाषासँगै बुझाइ र गराइमा समेत केही फरकपन आएको छ । आजभोलि दसैँलाई दसैँकै रूपमा मनाउने भन्दा पनि बिदाको सदुपयोग गर्ने अवसरको रूपमा लिने परिपाटी बढेको अर्थविद् तथा बैंकर्स अनलराज भट्टराईको तर्क छ । उबेलाको दसैँको भोगाइ, गराई अनि अहिलेको दसैँ अनुभव भट्टराईले यसरी व्यक्त गरेका छन्:



उमेरले झण्डै छ दशक छुन लागेँ । उमेरकै हिसाबले यस्ता धेरै वटा दसैँतिहार मनाएँ । बुझ्ने भएपछि मनाएका त्यस्तै ४ दर्जन हारहारीका दसैँका विभिन्न अनुभवहरू रहे । बाल्यकालमा मनाइएको उबेलाको दसैँतिहारको छुट्टै खालको अनुभव थियो । वयस्क हुँदाको अर्को र पाको हुँदा (अहिले) को छुट्टा छुट्टै अनुभव हुने रहेछ । 



उमेर अनुसार जिम्मेवारी र कर्तव्यबोधका कारण दसैँ तिहारको महत्त्व र रौनकतामा पनि केही फरकपन अवश्य आउँदो रहेछ । सानो छदा दसैँ तिहार ढिलो आए जस्तो लाग्थ्यो । तर अहिले कति छिटोछिटो आइरहेको छ । पहिलेको त्यो बालापन, चाडपर्वको रस र उमङ्ग अहिले छैन । दसैँलाई दसैँकै रूपमा नभएर आजभोलि केबल बिदा मनाउने बहानाको रूपमा मात्र हेर्न थालिएको छ । 

अनुभव

हामी मध्यम वर्गको परिवार हौँ । काठमाडौँको पुरानो बानेश्वरमा घर छ । मेरो बुवा सरकारी जागिरे, उबेलामा पनि दसैँ तिहार मनाउन हामीलाई कुनै दुःख थिएन । यद्यपि, अहिले जस्तो वस्तु तथा सेवाको सहज उपलब्धता त्यो बेलामा उत्ति थिएन । तैपनि दसैँ आयो भनेपछि निकै खुशी लाग्थ्यो । वरपरका साथीहरू जम्मा भएर घरनजिकको खुल्ला खेतका गरा–गरामा खुब खेलिन्थ्यो । दसैँको सपिङ्ग (किनमेल) गर्न सहर (असन, इन्द्रचोक) जान्थ्यौँ । 

दसैँमा मामाघर जाँदा टिका लगाएर पाएको पैसा जम्मा गरेर चङ्गा, फुटबल, गुच्चा किन्थ्यौँ । टोलभरिका साथीहरू भेला भएर खुब खेलिन्थ्यो । अझ दसैँका बेला ठुलाबडाहरूले तास खेलेको, कौडा हानेको खुब हेरिन्थ्यो । अलिअलि च्याँखे पनि थापिन्थ्यो । 

उबेलाको दसैँको अनुभवको कुरा गर्दा बिहान उठ्ने बित्तिकै मठ मन्दिरमा गएर पूजा अर्चना गर्ने, प्रार्थना गर्ने गरिन्थ्यो । तर, अहिले यो संस्कृति बिस्तारै हराउँदै गएको जस्तो मलाई अनुभूति हुन्छ । धर्मकर्मका मामलामा अहिले हामी धेरै नै उदार (लचक) भएका हौँ कि जस्तो लाग्छ । 

दसैँका बेला माटाका भाडामा पकाएको मासुसँगै अन्य परिकारहरू संयुक्त परिवार (ठुलो परिवार) मा बसेर खादा खुब रमाइलो लाग्थ्यो । अनि पो दसैँ आएजस्तो लाग्थ्यो । तर, अहिले सबैलाई आ–आफ्नै व्यवहार, आ–आफ्नै बाध्यता र व्यस्तताले बाधेको छ । दसैँमा समेत आफन्त परिवारजनसँग भेटघाट गर्ने फुर्सद कहाँ छ र ? तैपनि मूल घर हुनाले भट्टराईखलक दसैँका बेला मेरै घरमा जम्मा हुन्छन् । कालरात्री पूजा गरिने हुँदा बुवाका चार दाजुभाइको सपरिवार हाम्रै घरमा जम्मा हुन्छौँ । खसीबोका काटेर रमाइलो गरेर खान्छौँ ।

टिकाटालो

विशेषतः विजयको प्रतिकको रूपमा आफूभन्दा ठूलाबडाको हातबाट विजया दशमीको (दसैँको) टिका थाप्ने र आर्शिवाद लिने गरिन्छ । यसदिन सबै दाजुभाइ दिदीबहिनी, बुबाआमा एक ठाउँमा भेला भएर टिकाटालो कार्यक्रम हुन्छ । ठूलाबडाको हातबाट टिका थापिन्छ र आर्शिवाद लिइन्छ । भट्टराई खलकको मुलघर हाम्रै घर भएकाले यहीँ जम्मा हुन्छौँ । र, दसैँको टिकाटालो समारोहमा भाग लिन्छौं ।

यसपछि भनेको मामा घर, आफन्त र ससुराली गइन्छ । तर, ससुरालको मामलामा मेरो अलिक फरक अनुभव छ । ससुराली नै छिमेकी, दसैँमा गएजस्तो अनुभव नै हुँदैन । घरनजिकै लभ पर्यो अनि विवाह । पहिले त खाली ठाउँ हुँदा सँगसँगै जस्तो थियो, अहिले बीचमा घरहरु बन्दा ससुराली र घर त्यहीँ दुईतीन घर तलमाथि पर्छ । तैपनि दसैँमा त जानै पर्यो ।

दक्षिणा

दक्षिणालाई खासै महत्त्व दिइँदैन । कति पाउने र दिनेभन्दा पनि यसलाई प्रक्रिया पुर्‍याउने वा प्रचलित संस्कृति बचाउनेको रूपमा मात्र लिने गरेको छु । त्यसैले मामा घरबाट मिल्ने दक्षिणा, ससुरालीबाट पाइने दक्षिणालाई कहिल्यै तुलना गर्दिनँ । र, आफूले पनि छोरी, दिदीबहिनी चेलीबेटीहरूलाई र ज्वाइँहरूलाई पनि दसैँमा एउटा प्रक्रिया पुर्‍याउने हिसाबले मात्र दक्षिणा दिने गरेको छु ।

तर, मेरा दुईवटी बहिनीहरू छन् । यी दुई दिदीबहिनीलाई वार्षिक रूपमा निश्चित रकम छुट्याउने गरेको छु । यो दसैँका बेलाभन्दा पनि तिजका बेला उनीहरूलाई दिने गरेको छु ।

खानपिन

खानपिनमा खासै त्यति धेरै सौखिन छैन म । सकभर साधारण खाना खान नै रुचाउँछु । दसैँका बेला माछा मासु हुने नै भयो । त्यो पनि कम खान्छु ।

यसपालिको दसैँको योजना

यस वर्ष खास त्यस्तो दसैँको कुनै योजना छैन । घरमै बस्ने र बुबा र श्रीमतीको स्वास्थ्यको ख्याल गर्ने मात्र रहेको छ । मेरी श्रीमतीलाई डेङ्गी लागेको छ, उनको हेरचाह गर्नुपर्नेछ । उनी बिमारी नभइदिएको भए दसैँ तिहारका लागि बाहिर जाने सोचमा थियौँ । उता अमेरिकामा बस्ने छोरा पनि यस पटक नआउने भयो । घरमै बस्ने र सामान्य तरिकाले दसैँको पूजाआजा गर्ने, मनाउने मात्र हुने भएको छ । पारिवारिक समस्याकै कारण यस पटक घटस्थापना समेत गर्न पाएनौँ । 

यस्तै घटना ४ वर्षअघि पनि भोगेका थियौँ । जतिबेला छोरी दिल्लीमा बस्थिन् । उताबाट छोरीलाई डेङ्गी लागेको खबर आयो । हतारहतार दसैँकैबीचमा नै म दिल्ली गएँ । उनको उपचारपछि केही दिनमा नेपाल फर्किए । बीचमा पूजाआजा लगायतका गतिविधिहरू छुटे । अहिले पनि घटस्थापना गर्न पाइएन, खल्लो लागिरहेको छ । 

(चार्टर्ड एकाउन्टेन्ट अनलराज भट्टराई पूर्व बैंकर्स हुन भने उनी अहिले उद्योगी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग परिसंघको बैंकिङ समितिको सभापतिका साथै एनआरएन नेपाल डेभलपमेन्ट फन्ड (एनडीएफ) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका छन् ।)

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।