शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनमा आज पनि जुटेन सहमति, मैत्रीपूर्ण प्रतिस्पर्धाको प्रस्ताव

बुधबार, १९ असोज २०७९, २२ : १०
बुधबार, १९ असोज २०७९

सत्ता गठबन्धनको आजको बैठक पनि विना निष्कर्ष टुंगिएको छ । गठबन्धन नेताहरु दसैं मनाएर प्रधानमन्त्री निवास बालुवाटार पुगे पनि कुनै सहमति जुटाउन सकेनन् । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङका अनुसार आज नेपाली कांग्रेसले मुख्यतः एकीकृत समाजवादी र जसपासँग दुई पक्षीय छलफल गरेको थियो ।

कार्यदलको प्रस्तावमाथि एकीकृत समाजवादी र जसपाको विमति रहेकाले सहमतिका लागि कांग्रेसले दुई पक्षीय छलफल गरेको हो । सञ्चारमन्त्री तथा कार्यदल सदस्य ज्ञानेन्द्र कार्कीले पनि केही दिनदेखि दुई पक्षीय छलफल भइरहेको बताए । 

यस्तै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले समाजवादी र जसपाको अडानका कारण सहमति पुग्न नसकिएको बताए । उनले भने, 'गठबन्धनको बैठक टुंगोमा पुगेको छैन । सिट संख्या अलिकति बढाइ दिनुपर्यो भन्ने उपेन्द्रजीको कुरा छ । कोशीपूर्व र नारायणी पश्चिममा हामीलाई अलिकति आवश्यक भनेर आफ्नो कुरा राख्नु भएको छ ।'

जसपाले धनुषा र सप्तरीका केही सिटमा मैत्रीपूर्ण प्रतिस्पर्धाका लागि प्रस्ताव राखेको पौडेलले बताए । उनले भने,  'उपेन्द्रजीले सहमति हुनै नसक्ने ठाउँमा मैत्रीपूर्ण प्रतिस्पर्धाका गरौ भन्ने प्रस्ताव गर्नु भएको छ । उहाँले मधेस प्रदेशका धनुषा, सप्तरी लगायतका जिल्लामा मैत्रीपूर्ण प्रतिस्पर्धाको कुरा गर्नु भएको छ ।'

यता एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको अडान पनि सहमतिको बाधक बनेको छ । उनले भने,' माधव नेपालजी पनि अलिकति सिट संख्या बढी चाहियो भनिराख्नु भएको छ । त्यसमा कुराकानी चल्दैछ । आज हामी र उहाँहरूबीच छलफल भएको थियो ।'

कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाको तयार पारेको प्रतिवेदनमा कांग्रेसले ८७ र माओवादी केन्द्रले ४४, एकीकृत समाजवादीले १७, जसपाले १५ र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने उल्लेख छ । तर यसमा एकीकृत समाजवादी र जसपाको विमति देखिन्छ ।

यस्तै प्रदेशसभाको सिट बाँडफाँट पनि पेचिलो देखिएको छ । कांग्रेसले प्रदेशमा पनि प्रतिनिधिसभाको हिसाबमा सिट लिने रणनीति बनाएपछि गठबन्धनको विकल्पमा जसपाले अन्य पार्टीसँग पनि तालमेलका लागि संस्थागत रुपमा ढोका खुला गरेको छ ।

आज पनि जसपा अध्यक्ष उपेन्द्र यादव ढिलो गरी बालुवाटार पुगेका थिए । अपरान्ह ५ बजेबाट गठबन्धनका नेताहरुबीच बालुवाटारमा छलफल सुरु भएपनि यादव सात बजेतिर मात्र बालुवाटार पुगेका थिए ।
 
कांग्रेस नेता कार्कीले भने गठबन्धनमा आबद्ध दललाई न्यायपूर्ण र सम्मानजनक ढंगले सिट बाँडफाँट हुने बताए । 'हामी सिट बाँडफाँटको अन्तिम चरणमा छौं । गठबन्धनमा आबद्ध दललाई न्यायपूर्ण र सम्मानजनक ढंगले सिट बाँडफाँट हुन्छ । सबैले जितेको महसुस हुने गरी हामी निष्कर्षमा पुग्छौं,' उनी भन्छन् ।

संविधान, लोकतन्त्र, स्थायित्व, विकास र समृद्धिका लागि गठबन्धन बनेको भन्दै यसको आवश्यकतालाई केन्द्रमा राखेर निष्कर्षमा पुग्न लागेको उनको भनाइ छ । उनले भने, असोज २३ गते उम्मेदवारी दर्ता गर्नु कुरालाई ध्यानमा राखेर हामी निर्णयमा पुग्छौं । यसका लागि भोलि (विहीबार) बिहान ९ बजे फेरि बस्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप