हिमपहिरोमा परी मृत्यु हुने पर्वतारोहीको सङ्ख्या १० पुग्यो, अझै १८ बेपत्ता
भारतीय हिमालय क्षेत्रमा हिमपहिरोमा परी १० जनाको मृत्यु भएको पुष्टि भएको छ भने आरोहण दलका अन्य १८ सदस्य अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
भारतको उत्तरी राज्य उत्तराखण्डको ‘द्रौपदीका डाँडा–द्वित्तीय’ हिमालको चुचुरोनजिक मङ्गलबार बिहान भएको हिमपहिरोमा परी दर्जनौँ आरोही प्रशिक्षार्थी वेपत्ता भएका थिए । उनीहरूमध्ये चार जनालाई सोही दिन मृत अवस्थामा भेटिएको थियो ।
भारी हिमपात र वर्षाका कारण रातिमा खोजी असम्भव भएको थियो । यद्यपि भारतीय वायु सेना र स्थानीय विपद् एजेन्सीले उद्धार कार्यमा सहयोग गरिरहेका बताइएको छ । “उद्धार टोलीले १० जनाको शव फेला पारेको छ,’ उत्तराखण्ड राज्य प्रहरी बलले ट्वीटरमा भनेको छ ।
समुन्द्री सतहबाट करिब चार हजार ९०० मिटर (१६ हजार फिट) को उचाईमा रहेको हिमपहिरोबाट हालसम्म १४ जनाको उद्धार गरिएको छ भने पाँच जनाको उत्तरकाशीको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी फुटेजमा उद्धार गरिएका धेरै आरोहीहरू शहरमा आइपुगेको र अधिकारीहरूको सुरक्षामा बिना कुनै सहायता हिँडडुल गरिरहेको देखिएको छ । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले ट्वीटरमार्फत विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी भारतीय आरोही सविता कंसवालको मृत्यु भएको पुष्टि गरे । विश्वको सर्वोच्च शिखर र नजिकैको मकालु हिमाल १६ दिनमा आरोहण गरी महिलाहरूतर्फको रेकर्ड बनाएकी थिइन् ।
धामीले हिमपहिरोमा परी घाइते भएका र मृतकका परिवारलाई सरकारले तत्काल आर्थिक सहयोग गर्ने बताए । राज्य विपद् निकायका प्रवक्ता रिधिम अग्रवालले एएफपीलाई बताएअनुसार हिमपहिरो खसेपछि आरोहीहरू हिउँको चिरामा फसेका थिए ।
नेहरु इन्स्टिच्युट अफ माउन्टेनियरिङका अनुसार आरोहणमा ३४ जना प्रशिक्षार्थी, सात जना प्रशिक्षक र एक जना नर्सिङ असिस्टेन्ट रहेका छन् । उद्धारकार्यमा सघाउन वायु सेनाका दुई वटा हेलिकप्टर पठाइएको विपद् व्यवस्थापन विभागका वरिष्ठ अधिकारी देवेन्द्रसिंह पटवालले एएफपीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी अनियमिततामा संलग्न १ हजार ११० जना फरार
-
क्रिकेटर केभिन पिटर्सन भन्छन्– खराब सहरको परिचय बनाउँदैछ लन्डन
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
हाम्रो नेपाली पार्टीका बज्राचार्यको शपथ आजै, मुख्यमन्त्रीसँग तीन सर्त
-
सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप : उपाधि एमेच्योर खेलाडी सदभावको पोल्टामा
-
सबै प्रदेशको सवारी करमा एकरुपता ल्याउन निर्देशन