बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तीन वर्षपछि टीका लगाउन पाउँदा कैदीबन्दी खुसी

बुधबार, १९ असोज २०७९, १९ : १४
बुधबार, १९ असोज २०७९

तनहुँ कारागारमा रहेका कैदीबन्दी आफन्तसँग टीका लगाउन पाउँदा खुसी भएका छन् । विजयादशमीको दशौँ दिन आज कारागारभित्रै आफन्तसँग टीका लगाउन पाउँदा कैदीबन्दी खुसी भएका हुन् ।

कोभिड–१९ को सङ्क्रमणपछि पहिलो पटक कैदीबन्दीले आफन्तको हातबाट टीका लगाउन पाएका हुन् । विगतका वर्ष कोभिड–१९ को जोखिमका कारण आफन्तबाट टीका लगाउन रोक लगाइएको थियो ।

कारागारमा पुर्पक्षका लागि थुनामा रहेका एक कैदीबन्दीले दसैँका दिन आफन्तसँग भेटघाट गर्दै टीका लगाउन पाउँदा खुसी लागेको बताए । “दसैँका बेला निधार खाली हुन्छ की भन्ने चिन्ता थियो, तर आफन्तसँगै टीका लगाउन पाएर एकदमै खुसी लागेको छ”, उनले भने ।
 
“यो वर्ष आफन्तको हातबाट टीका लगाउन पाउने व्यवस्था मिलाएका हौँ”, कारागारका निमित्त प्रमुख नारायण अधिकारीले भने, “आफन्तसँग टीका लगाउन पाउँदा कैदीबन्दीले राम्रो मान्नुभएको छ ।” उनका अनुसार दिउँसो १ः३० बजेसम्म ३४ जना कैदीबन्दीले आफन्तको हातबाट टीका लगाएका छन् ।
 
बिहानैदेखि झरी परेकाले उनीहरुका आफन्त आउन ढिलाइ भएको हुनसक्ने उनले बताए। “झरीले केही समस्या बनाए पनि टीका लगाउने व्यवस्थापन मिलाएका छौँ”, अधिकारीले भने ।
 
कैदीबन्दीहरुले दसैँ मनाउन खशीबोका खरिद गर्नका लागि कोष बनाएका थिए । कोषमा सबै कैदीबन्दीले रकम जम्मा गरेका छन् । सोही कोषमा जम्मा गरिएको रकमले खशी, कुखुरा लगायत खरिद गरिएको छ ।
 
“सरकारले दसैँ खर्चबापत प्रत्येक कैदीबन्दीलाई रु तीन सयका दरले रकम उपलब्ध गराउँछ, सोही रकम र मूढा बिक्री गरेर कमाएको पैसा कैदीबन्दीले कोषमा राखेका छन्, त्यही रकमबाट आवश्यक सामग्री खरिद गरी रमाइलो गरिएको छ”, अधिकारीले भने । तनहुँ कारागारमा १२ महिलासहित दुई सय ८७ कैदीबन्दी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप