गीतको कथा

दसैँ नै हो कि यो मेरो दशा : दसैँको पीरले दुई व्यक्ति रोएको देखेर यो गीत लेखियो

person explore access_timeअसोज १९, २०७९ chat_bubble_outline0

दसैँ नै हो कि यो मेरो दसा फर्किआएको,
वर्ष नै पिच्छे किन यो मेरो टाउको खाएको, 
दसैँ आएको, दसैँ आएको, दसैँ आएको ।
(शब्द : प्रेमबहादुर बस्नेत, संगीत : न्ह्यु बज्राचार्य, स्वर : योगेश्वर अमात्य) ।


१८ वर्षअघि बजारमा आएको यस गीतमा गाउने हरफसँगै बोल्ने संवाद पनि छन् । दसैँ आएसँगै घरमूली पुरुषसँग छोराछोरी र श्रीमतीका अनेक माग हुन्छन् । ती माग पूरा गर्न घरमूलीसँग पैसा नभएको पीडा यो गीतमा व्यक्त हुन्छ । विशेषतः दसैँको एक खालको रौनक वा खुसीसँगै घरमूलीको दुःखतिर गीत बग्छ । 



प्रत्येक वर्ष दसैँ आउनु महिना दिन अघिदेखि दसैँसम्म यो गीतलाई रेडियो, टेलिभिजनमा धेरै प्राथमिकताका साथ बजाइन्छ । जनमानसका दुःखपीडासँग मिल्ने भएकाले यो गीत लोकप्रिय छँदै छ । 



नेपाली संगीतिक क्षेत्रमा सफ्ट रक, पप संगीत र रक संगीतमा अलग्गै पहिचान बनाएका गायक अमात्यको स्वरका कारण पनि यो गीत जीवन्त बन्न सफल भएको यस गीतका संगीतकार न्ह्यु बज्राचार्य बताउँछन् । ‘यो गीत हिट हुनुमा शब्द, संगीतभन्दा बढी अमात्यको स्वर र गायनशैलीको प्रमुख भूमिका छ,’ संगीतकार बज्राचार्य भन्छन्, ‘योगेश्वरको स्वर युनिक छ र गायनशैली आफ्नै प्रकारको छ । उनलाई रामकृष्ण ढकालजस्ता गायक–गायिकाले गाउने गीत दिएर हुँदैन ।’ 

उनले गायक अमात्यको गायनशैली ख्याल गरेरै यस गीतमा संगीत भरेका हुन् । ‘उनलाई उनको गायन अनुसारकै कम्पोज चाहिन्छ । यस गीतमा मैले त्यही गरेको थिएँ,’ उनले भने ।

योगेश्वरले गाएका थुप्रै गीतमा संगीतकार बज्राचार्यको संगीत छ । ‘लैजा चरी’, ‘क्या बोर भो’ लगायत गीतमा संगीत सिर्जना गर्दा आफूले योगेश्वरको गायन शैलीलाई ख्याल गरेको उनको भनाइ छ ।

तुरुन्तै धुन बन्यो

शब्द, संंगीत र स्वर उत्तिकै अब्बल भएपछि मात्रै गीत राम्रो बन्ने हो । तर, यो गीतमा संगीत भर्न उनले धेरै सोच्न परेन । गीतकार प्रेमबहादुर बस्नेत र गायक अमात्यले उनलाई बोलाएर शब्द देखाएका थिए । ‘गीत हेर्दै मैले तुरुन्तै जे मनमा आयो, त्यही गाएर सुनाएँ,’ संगीतकार बज्राचार्य भन्छन्, ‘मैले क्षणभरमै गरेको संगीत उहाँले ओके गर्नुभयो । कहिलेकाहीँ परिस्थिति अनुसार छिटै संगीत फुर्छ ।’ 

सुरुमा गीतकार बस्नेतले गायक अमात्यलाई भेटेर शब्द सुनाएका थिए, अमात्यलाई सुन्नेबित्तिकै मनप¥यो । ‘हामीले तुरुन्तै न्ह्यु बज्राचार्यलाई गीत दियौँ,’ गायक अमात्य भन्छन्, ‘उतिखेरै संगीत बन्यो, हामीलाई मनप¥यो ।’

यो गीतको रेकर्ड जेम्स स्टुडियो (जेम्स प्रधानको) मा गरिएको हो । गीत रेकर्ड गर्न योगेश्वर एक्लै गएका थिए । गीतको बीचबीचमा बच्चाहरूले बोल्ने संवाद रेकर्डका लागि आफूले बाटोमा खेलिरहेका केटाकेटीलाई लिएर गएको उनी बताउँछन् । यस गीतमा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको पनि संवाद छ । मन परेरै दीपा–दीपकले संवाद बोलेको गायक अमात्यले सुनाए । ‘यस गीतमा संवाद बढी छन्,’ अमात्य भन्छन्, ‘त्यही संवादले नै गीतलाई सञ्जीवनी बनायो ।’

गीत रचनाको कथा

गीतकार प्रेमबहादुर बस्नेत चावहिलको मित्रपार्कमा बस्छन् । मित्रपार्कबाट पशुपति, गुहेश्वरी लगायत क्षेत्र नजिकै भएकाले एक समय उनी त्यता दैनिक टहलिने गर्थे । 

एकपटक, दसैँको नौरथा सुरु भइसकेको थियो । कोही दसैँको किनमेल हातमा झुन्ड्याउँदै बासस्थान फर्कंदै थिए । कोही गाउँ फर्कन झोला बोकेर निस्कँदै थिए । सधैँझैँ पशुपति क्षेत्र घुम्दै जाँदा उनका आँखा एक कुनामा रुँदै गरेका दुई व्यक्तिमा ठोकिए । उनले नजिक गएर उनीहरूको अवस्था बुझे, उनीहरू दसैँको पीरले रोएका रहेछन् । ‘हरेक दसैँमा उनीहरूले एउटा खसी वा च्यांग्र्रा किनेर आधाआधा बाँडेर खाने रहेछन्,’ गीतकार बस्नेत भन्छन्, ‘त्यो दसैँमा एउटालाई जुठो परेछ । उसले मासु खान भएन । अर्काेले एक्लै सिंगो खसी किनेर मासु खान सक्ने अवस्था थिएन । त्यही पीरले उनीहरू रोएका रहेछन् ।’ 

त्यही साँझ बस्नेतले यो गीत लेखे । यस गीतमा समेटिएका संवाद र हरफहरू अधिकांशको जीवनसँग मेल खाने उनी बताउँछन् । ‘दसैँको ठ्याक्कै अवस्था झल्काउन दसैँमा देखिने समस्या, आवश्यकता र चाहना गीतमा राखिएको हो,’ उनले भने ।

के यो गीत स्वयं गीतकारकै जीवनसँग पनि मेल खाला ? बस्नेत भन्छन्, ‘मेरो जीवनसँग त्यति मेल खाँदैन । मैले त देखेको विषय गीतमा उतारेको हुँ, भोगेका कुरा होइन । म सधैँ लेख्ने प्रोफेसनल लेखक पनि होइन । एउटा मुडमा यो गीत लेखेको थिएँ ।’

यो गीतको विषयमा गीतकार बस्नेतले नकारात्मक प्रतिक्रिया सुन्नुपरेको छैन । ‘मसँग सीधै ठोकिनेले गीत धेरै राम्रो छ भनेका छन्,’ बस्नेतले भने, ‘पछाडि कुरा काटेर नराम्रो भन्छन् भने म जान्दिनँ ।’ जेहोस्, हरेक वर्ष दसैँमा आफ्नो गीत बज्दा उनी दंग छन् । 

गायकलाई गाली

दसैँ खर्चिलो बनेकामा गायक अमात्य चिन्ता व्यक्त गर्छन् । ‘दसैँको बहानामा हामीले चाहिनेभन्दा बढी खर्च गर्छाैं,’ अमात्य भन्छन्, ‘यो गीतले हाम्रो समाजको एक किसिमको नजादिँदो बाध्यतामाथि सन्देश दिएको छ । त्यो सन्देश मेरो स्वरमार्फत जावस् भनेर गीत गाएको हुँ ।’ 

गीतमार्फत घरमूलीको पीडा साना सदस्यसम्म पु¥याउन आफू सफल भएको उनी सुनाउँछन् । ‘गीतले दसैँ मान्ने अधिकांंश नेपालीको भावना, पीडा बोकेको छ,’ उनले भने, ‘धेरैले यो गीत मन पराएका छन्, राम्रो छ भन्ने प्रतिक्रिया दिन्छन् ।’

यस गीतबाट गायक अमात्यले प्रशंसा मात्रै पाएका छन्, बेलाबेला श्रोताबाट गाली पनि खान्छन्– गायन शैली र शब्दका कारण । कस्तो गीत बनाएको, कसरी गाएको लगायत नानाथरीका गाली उनले सुन्नुपर्छ । केहीले त यो गीत सुन्दा टाउको दुख्छ भनेका पनि छन्,’ गायक अमात्य भन्छन्, ‘सूचना र सन्देशको विषय मानिसलाई सुन्न कहाँ मन लाग्छ र ?’ श्रोताको नकारात्मक प्रतिक्रियालाई उनले गम्भीर रूपमा लिन्छन्, तर आफ्नो कामप्रति उनी विश्वस्त छन्, ‘प्रतिक्रियाजस्तो आए पनि गीतले नेपालीको मर्म राम्रोसँग व्यक्त गरेको छ, म त्यसमै सन्तुष्ट छु ।’ 

के यो गीतको मर्म स्वयं गायक दसैँसँग मेल खान्छ त ? ‘त्यस्तो होइन, म परिवारको कान्छो छोरो हुँ,’ उनले भने, ‘त्यसैले अहिलेसम्मको दसैँ मैले बोझ र बाध्यताको रूपमा झेल्नुपरेको छैन ।’

यो गीतलाई लिएर संगीतकार बज्राचार्य पनि कहिलेकाहीँ श्रोताबाट गाली खाने गरेको बताउँछन् । ‘धेरैले राम्रै मानेका छन् । तर केहीले गाली पनि गर्छन्,’ उनले भने ।

यो गीतका शब्दमा जस्तै संगीतकार बज्राचार्यका लागि भने दसैँ दशा बनेको छैन । ‘दसैँ खर्चिलो भएकाले यो गीत धेरैको जीवनसँग मेल खान्छ, कतिलाई ऋण गरेर मनाउने बाध्यता पनि होला,’ उनी भन्छन्, ‘तर मेरो दसैँसँग यो गीत मेल खाँदैन । म काठमाडौंको नेवार, त्यो पनि बुद्धिस्ट फ्यामिलीको भएकाले यो गीत मेरो अवस्थासँग मेल खाएको छैन ।’

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।