दसैँ

अरूको निधारमा टिका–जमरा देख्दा मन त दुख्छ तर, के गर्नु...

ईखले प्रहरी बनेकी हुँ, जनताको सेवालाई नै प्राथमिकतामा राखेकी छुः प्रहरी जवान रीतिका थारु

person explore access_timeअसोज १९, २०७९ chat_bubble_outline0

सुर्खेत । बुधबार हिन्दु नेपालीहरूको महान् चाड बडा दसैँ । वर्षमा एक पटक मनाइने दसैँ पर्व मनाउन मान्छेहरू जतिसुकै टाढा भए पनि आफ्नो घर फर्कने गर्दछन् । वीरेन्द्रनगरको सिटी बसपार्कबाट पनि दैनिक ३–४ हजारको दरले मान्छेहरू दसैँ मनाउन गाउँ फर्किरहेका छन् । सबैलाई दसैँको रौनकले छोएको बेला बसपार्कको दायाँतर्फ रहेको यात्रु सहायक कक्षमा खटिएकी प्रहरी जवान रीतिका थारुलाई भने दसैँले खासै उत्साह थपेको छैन ।


यात्रुहरूको गुनासो टिप्ने र समस्यामा परेका यात्रुको उद्धार कार्यमा व्यस्त देखिन्छन् । आइतबार बसपार्क पुग्दा उनी फाइलमा सायद कसैको गुनासो टिप्दै थिइन् । त्यसपछि उनले बसपार्कमा यात्रुले सुनाउने गरेका समस्याका बारेमा ‘ब्रिफिङ’ गरिन् । दसैँ मनाउनका लागि घर फर्कने यात्रुको सुरक्षामा खटिएकी उनले भने आफूले स–परिवारसँग दसैँ मनाउन नपाएको वर्षौँ भइसकेको बताइन् । तपाईँले दसैँ कसरी मनाउँदै हुनुहुन्छ नि ? भन्ने रातोपाटीको प्रश्नमा मलिन हुँदै जवाफ दिइन्,‘ हाम्रो त दसैँ यस्तै हो क्यारे, यतै मनाउन् पर्ला ।’  बर्दियाको भुरीगाउँकी २६ वर्षीया रीतिकाले प्रहरीमा जागिर खाएको अहिले ६ वर्ष भयो । झण्डै दुई महिना अघि मात्रै नेपालगञ्जबाट प्रदेश ट्राफिक कार्यालयमा सुरुवा भएर आएकी उनले अहिलेसम्म जम्मा एक पटक मात्रै स–परिवारको साथमा दसैँ मनाउन पाएको सुनाइन् ।



‘म यहाँ आउनुभन्दा पहिला नेपालगञ्जमा कार्यरत थिएँ, त्यहाँ भएको समयमा एक पटक मात्रै बिदा पाएर दसैँ मनाउन पाएको छु,’उनले भनिन,‘ बाँकी दसैँ त जनताको सेवा गर्दैमा व्यतीत भएका छन् ।’ उनीसँग कुरा गर्दै गर्दा उनका श्रीमान् एकता थारु काखमा छोरो च्यापेर त्यहाँ आइपुगे । रीतिका–एकताको २ वर्षको छोरा छन् । एकता अहिले अध्ययन गरिरहेका छन् भने रीतिकालाई सपोर्ट गरिरहेका छन् । भन्छिन्,‘ हाम्रो त दसैँमा जान नपाएपछि तिहारमा जान पाइन्छ की भन्ने अपेक्षा मात्रै हुन्छ ।’



रीतिका अन्य जागिर जस्तो प्रहरी वृत्तमा चाडवाडमा बिदा नहुने गरेको बताउँछिन् ।  ‘बरु अन्य समयमा बिदा हुन्छ, यो समयमा झन व्यस्त हुनुपर्ने अवस्था हुन्छ । चाडवाडको समयमा आपराधिक क्रियाकलाप मात्रै होइन त्यस्ता कार्यको निराकरणको जिम्मेवारी पनि हाम्रो काँधमा हुन्छ ,’ उनी भन्छिन् । यद्यपि दसैँ जस्ता चाडबाडहरूमा सबै मान्छेहरू झोलामा कोसेली बोर गाउँ फर्किएको देख्दा भने आफ्नो पनि मन चसक्क हुने गरेको उनी बताउँछिन् । ‘हाम्रो पनि त मन हो, आखिर पग्लिहाल्छ,’उनी भन्छिन्,‘ तर के गर्नु जनताको सेवा गर्छु भनेर अठोट बोकेर प्रहरी बनेको हो । सेवामा समर्पित हुनु बाहेक विकल्प पनि त छैन ।’ 

‘दसैँलाई जनताको सेवा ठानेर’ ठान्ने गरेको उनी बताउँछिन् । किनकि प्रहरीको दसैँ समय नागरिकहरूको सुरक्षामा व्यस्त भएको हुन्छ । 

उनी आफ्नो भन्दा सर्वसाधारण नागरिकहरूको दसैँ राम्रो बनोस् भनेर सोच्ने गर्छिन् । दसैँबारे विगत सम्झँदै रीतिका भन्छिन्,‘एक मनले सोच्दछ, घरमा आमाबुबा हुनुहुन्छ, उहाँहरूको हातबाट टिका र जमरा लगाउन पाएको भए हुन्थ्यो, विगतको निकै याद आउँछ नै । यो दुनियाँमा बाबाआमाको आशीर्वाद भन्दा ठुलो अरू के नै हुन सक्छ र ? मेरो माइती र बिहे गरेको दुवै घर नै एउटै ठाउँमा हो । दुवै घरमा बुबाआमा हुनुहुन्छ । दसैँ आउँदा र स–परिवारसँग मनाउने अवसर नपाउँदा कसको पो मन नदुख्ला हैन र ?’ 

रीतिकाका अनुसार अन्य समुदायको भन्दा थारु समुदायमा दसैँ भिन्न तरिकाले मनाउने गरिन्छ । जसको महत्त्व पनि बेग्लै हुन्छ । थारु बस्तीहरूमा महिना दिन अगाडिदेखि नै नाचिने सखिया नाचले दसैँ हर्षोल्लास बनाइदिन्छ । ‘माघी र अट्वारी पछिको अर्को ठुलो चाडको रूपमा हामीले दसैँलाई मनाउँछौँ भने आफ्नै मौलिक संस्कृति र परम्परा अनुसार नवौँ दिनमा टिका–जमरा लगाएर दसैँ मनाउँछौँ,’रीतिकाले विगत सम्झँदै भनिन्,‘ घटस्थापनाको दिनदेखि आठौँ दिनको साँझमा मासुका परिकारहरू खाने र नयाँ लुगा लगाउने भन्ने चलन जस्तै हुन्छ .। त्यो पनि लेहेङ्गा, चोली लगाएर सबै साथीहरू घरघरमा जाने ढिक्रहवक माग्ने र नाचगान गर्ने गर्थेम् । त्यो निकै यादगर हुन्छ ।’

गाउँमा हुर्डुगवा, सखिया नाच नाच्ने दसैँको समयमा नाच्ने गरेको उनी बताउँछिन् । ‘जुन अहिले आफू टाढा हुँदा निकै मिस हुन्छ,’उनले भनिन्,‘ बिहे हुनुभन्दा पहिला म आफै पनि नाच्ने गर्दथेँ । आजकाल दसैँको बेला सबैको निधारमा टिका र जमरा देखेपछि निकै मन दुख्छ, तर के गर्ने ? सायद भगवनले पनि मान्छेको चोला संघर्ष गर्नकै लागि बनाएको हुनुपर्छ जस्तो लाग्छ ।’ 

‘ईखले प्रहरी बनेकी हुँ’

रीतिका आफू ईखले गर्दा प्रहरी बनेको बताउँछिन् ।‘महिलालाई गाउँघरमा हेयको दृष्टिकोणबाट हेर्ने गरिन्छ । जसलाई मैले नजिकबाट चिन्ने, बुझ्नै मौका पाएकी छु,’उनी भन्छिन्,‘ यतिसम्मकी महिला प्रहरी भनेपछि पनि गाउँघरतिर ‘नेगेटिभ’ सोच्ने, ‘नेभेटिभ’ दृष्टिले हेर्ने गर्दछन् । ‘मेरो विचारमा मान्छे परिवर्तन हुनका लागि सबैभन्दा पहिला उसको सोच परिवर्तन हुन् पर्दछ । त्यही ईख बोकेर नै देश र जनताको सेवा गर्छु भनेर प्रहरी बनेकी हुँ।’ रीतिका दुनियाँले जे–सुकै भने पनि अहिले आफूलाई प्रहरी भएको गर्व लागेको सुनाउँछिन् । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।