मोहनी नखाःको दशौँ दिन नेवार समुदायमा चालँ

person explore access_timeअसोज १९, २०७९ chat_bubble_outline0

मोहनी नखाःको दशौँ दिन नेवार समुदायले आज चालँ मनाउँदैछन् । यस दिन मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसादका रूपमा असत्यमाथि सत्यको विजयको प्रतीक रातो टीका, समृद्धिको प्रतीक जमरा र रातो कोखा लगाइन्छ । साथै खड्ग र पायो बोकेर खाँ निस्कने गरिन्छ ।


नेवार समुदायमा विजयादशमीको दिन घरको सबैभन्दा जेठो व्यक्तिले बिहानै पवित्र भई महानवमीको दिन नवदुर्गा भवानी र नःलास्वाँ (जमरा) पूजा गरेको स्थानमा मोहनी पूजा सम्पन्न गरिन्छ । त्यसपछि परिवारका सबैजना बसेर सम्ये बजीको प्रसाद ग्रहण गरी परिवारको ज्येष्ठ सदस्यबाट परिवार सबैलाई क्रमैसँग मोहनी सिन्हः (कालो टीका), नःलास्वाँ र रातो कोखासहित पूजामा राखेका औजार सामग्री हस्तान्तरण गरिन्छ । 



यसरी प्रसाद लिँदा आफूभन्दा ठूलालाई ढोग्नुपर्ने  र ठूलाले पनि सुख समृद्धि, सुस्वास्थ्यको कामनासँगै सत्य र न्यायको पक्षमा जुझ्न सक्ने शक्ति होस् आदि भनेर आशीर्वाद दिन्छन् । चालँअर्थात् दशमीका दिन काठमाडौँ उपत्यकाको सहरमा र अन्य नेवार बस्तीमा पायो वा खड्ग जात्रा निकालिन्छ ।



घरघरमा पनि आगनमा पूजा गरिराखेको खड्ग जेठो पुरुष सदस्यले बोकेर आँगन बाहिर ल्याउँछन् । सबै घरपरिबारले खड्ग ढोग्दछन् । यसो गर्नाले खड्गसिद्धी प्राप्त भई शक्ति हासिल हुने बिश्वास छ । 

खड्ग बोक्ने पायोमा पनि देवी प्रवेश गर्ने भएकोले पायो काँप्न थाल्दछ । त्यसपछि कुभिन्डो, उखु र अदुवाको बोटलाई खड्गले हाने पछि पायो पनि सम्पन्न हुन्छ । किम्वदन्तीअनुसार भगवतीले महिषासुरको बध गर्न खोज्दा ज्यान जोगाउन कुभिन्डो, उखु र अदुवाको बोटमा प्रवेश गरेकोले ती वस्तुलाई पनि काट्ने गरेको बताइन्छ  ।

यसैगरी पायो निकाली कुभिन्डो आदि काट्नु भनेको अन्याय अत्याचारमाथि सत्य र न्यायको विजय भनेर पनि बुझ्ने गरिन्छ । पायोअर्थात् खड्गलाई घरभित्र मात्र होइन, बाहिर समुदायमा पनि धुमधामसँग जात्रा नै गरिन्छ । 

नेवार समुदायमा दशमीको दिनदेखि मोहनी नखाःत्या सुरु हुने र यसदिनदेखि  मान्यजनका घरघर गएर टीका लगाउने परम्परा नभए नि  अचेल यसको प्रचलन बढेको  छ ।

नेवार समुदायमा दिदीबहिनी, भान्जाभान्जी, छोरी ज्वाइँलगायतका आफन्तजनलाई मोहनी नखाःको भोजको निम्तो दिएर खुवाउने प्रचलन छ, यसैलाई नखाःत्या सतेऊ (बोलाउनें) र नखाःत्या वनेऊ (जाने) भन्ने गरिन्छ ।

यो दिन देवी दुर्गा भवानीले महिषासुर राक्षसको वध गरेको विश्वासमा विजय मनाउने भएकाले यस दिनलाई विजयादशमी पनि भन्ने गरेको संस्कृतिविद्को भनाइ छ  । यो दिन भक्तपुरको ब्रह्मायणीमा ठूलो मेला लाग्दछ । यस दिन घटस्थापनाको दिन राखेको जमरा र महानवमीको दिन विशेष प्रकारले बनाएको मोहनी टीका देवीको प्रसादको रुपमा शिरमा लगाइन्छ ।

तलेजु समेत विधिवत रुपमा अन्तिम पूजा गरी कुमारी घरमा रहेको तलेजुलाई पुन देवगृहमा विराजमान गराइन्छ ।

राती ब्रह्मायणीबाट नवदुर्गा फर्केपछि खड्ग जात्रा निकालिन्छ । देवीले दैत्यलाई वध गरेको सम्झनामा यो जात्रा सञ्चालन गरिएको संस्कृतिकर्मीहरु बताउँछन् । खड्ग जात्रालाई पायो जात्राको रुपमा पनि लिइन्छ ।

यो जात्रामा तलेजु भवानीलाई नवदुर्गा गणसहितले विधिवत्रुपमा पूजा गर्दछन् । यो जात्रामा तलेजुको वाहन सेतो घोडा दौडाउनुका साथै फलामे पोसाक लगाएका मानिससमेत जात्रामा सामेल हुन्छ ।

किम्वदन्तीअनुसार सत्ययुगमा दैत्यहरुले ब्रह्माको तपस्या गरे । ब्रह्माले खुसी भई दैत्यहरुलाई वरदान माग्ने आज्ञा दिए । दैत्यले कसैले मार्न नसक्ने वरदान माग्दा ब्रम्ह्माले स्वास्नीमान्छेबाहेक कसैले मार्न नसक्ने वरदान दिए । 

वरदान प्राप्त गरेपछि दैत्य स्वर्गमा गई देवतालाई दुःख दिन थाले । यो देखेर महादेव, इन्द्र र विष्णु मिलेर शक्ति स्वरुपा देवीको उत्पत्ति गराए । दैत्यसँग युद्ध गराए अन्तःमा मुख्य मुख्य दैत्य सबै मारिए ।

बाँकी भएका दैत्यरुकोही हाँस भए, कोही कुखुरा भए, कोही बोका, कोही राँगा भए । देवीले त्यसरी दोपाया र चौपायामा प्रवेश गरेका दैत्यलाई खोजी खोजी मार्न थाले । यसैको सम्झनामा खड्ग जात्रा सुरु भएको लोककथन रहेको पाइन्छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।