मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

दसैँमा मासु कति र कसरी खाने ?

मङ्गलबार, १८ असोज २०७९, १२ : २४
मङ्गलबार, १८ असोज २०७९

 ‘दसैँ आयो खाउँला पिउँला’ भन्ने परम्परागत उक्तिले नै दसैँ खानपिनका दृष्टिले पनि महत्त्वपूर्ण पर्व हो भन्ने बुझाउँछ । दसैँमा कतिपयले पशु बलि दिने गर्दछन् । बलि दिएको पशुको मासु प्रसादका रुपमा खाने गरिन्छ । त्यसैले मांसाहारी हिन्दु धर्मावलम्बीको घर–घरमा दसैँमा मासुको परिकार हुने गर्दछ ।

माछामासुको साथमा चिल्लो, पिरोयुक्त परिकार पनि खाने गरिन्छ । अरुबेला खानपिनमा कम खर्च गर्ने मानिसहरु दसैँ–तिहार जस्ता मुख्य चाडपर्वमा दिल खोलर खानपिनमा खर्च गर्ने गर्दछन् ।

तर चाडपर्व मानाउने निहँुमा धेरै माछामासु तथा चिल्लोपिरो, गुलियो खाँदा स्वास्थ्यमा समस्या हुनसक्छ । स्वास्थ्यको ख्याल नगरी धेरै प्रोटिनजन्य पदार्थ खाँदा कतिपय रोगी मानिसको तत्कालै ज्यान पनि जान सक्ने चिकित्सकहरु बताउँछन् ।

स्वास्थका लागि खासगरी तेलमा तारेका परिकार कम खानु उपयुक्त हुन्छ । माछामासु खाँदा पनि मरमसला कम प्रयोग गरेको वा सुगर (मधुमेह), प्रेसर (उच्च रक्तचाप) का रोगीले सादा उमालेको मासु खाँदा उपयुक्त हुने चिकित्सक बताउँछन् ।

पोलेको मासु खाँदा बढी डढेको र कम पाकेको हुनसक्ने भएकाले यसमा ख्याल गर्नुपर्ने हुन्छ । बढी डढेको मासुले क्यान्सरको समेत जोखिम बढाउँछ भने कम पाकेको मासुले अपच हुने वा अन्य स्वास्थ समस्या निम्त्याउन सक्छ । त्यस्तै बढी मसलेदार मासुले मानिसमा सुगर, प्रेसर लगायतका रोग निम्त्याउन सक्छ भने पहिलेदेखिका रोगी मानिसलाई झन् जोखिममा पार्दछ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका फिजिसियन डा. प्रकाश भट्टराईले चाडबाडको बेलामा विशेष गरेर मासुको मात्रा, रोटीको परिकार र अन्य धेरै परिकार एकैचोटी खाँदा पेटको समस्या देखिने बताउँछन् । यस्ता अस्वस्थकर खाना एकैचोटी धेरै खाँदा झाडा पखाला, पेट दुख्ने, फुड पोइजन हुने जस्ता समस्या देखिन सक्ने उनको भनाइ छ ।

डा. भट्टराईले भने, ‘यस्तो खानपिनले डाईबिटिज, उच्च रक्तचाप भएका व्यक्तिको एक्कासी मुटुको धडकन बिग्रिने तथा हृदयघात भएर हस्पिटल आउने गरेका छन् ।’ उनका अनुसार अधिक प्रोटिन भएका खाना खाने बानी परेमा नसर्ने खालका दीर्घ रोगहरु देखिने समस्या आउन सक्छ । उनले भने, ‘मासु एक पौष्टिक आहार हो, मासुमा १४ देखि २० प्रतिशत प्रोटिन जिङ्क, भिटामिन बी आदि पाइन्छ, नियमित मासु सेवन गर्नेमा उच्च रक्तचाप, मिर्गौला, मुटुको रोग, आन्द्रा र कलेजोको खराबी, युरिक एसिड लगायतका समस्या देखा पर्दछन् ।’

मासु पौष्टिक खाना हुँदा हुँदै पनि धेरै खाँदा उल्टै शरीरलाई नोक्सान गर्ने उनको भनाइ छ । उनले भने, ‘मासुमा चिल्लो र कोलेस्ट्रोलको मात्रा बढी हुने भएकाले मुटु तथा मिर्गौला रोगीहरुले मासु खान हुँदैन । चाडपर्व त हो अलिकति त खानै प¥यो भन्ने सोचाई त्यस्ता बिरामीले हटाउनु पर्दछ ।’

अस्वस्थ मासु तथा अन्य खानेकुराले १०० भन्दा बढी रोग लाग्न सक्ने बताउँदै उनले रोग लागेर पछुताउनु भन्दा रोग नै लाग्न नदिन खानपानमा ध्यान दिनु उत्तम हुने प्रस्ट पारे । ‘खाना त्यस्तो हुनुपर्दछ जसको सेवनपछि शरीरमा आलस्य र भारीपन होइन, ऊर्जा र स्पूmर्ति प्राप्त हुनुपर्छ,’ उनले भने ।

दसैँमा खानपिनमा मात्र जोड दिने नभई साथीभाइ, घर परिवारलाई समय दिने, प्रकृतिसँग रमाउने, मनपर्ने पुस्तक अध्ययन गर्ने, भविष्यको योजना बनाउने, पारिवारिक थेरापीमा जाने, हाँस्ने, खेल्ने गरेमा मानिसको मानसिक स्वास्थ्यसमेत तन्दुरुस्त हुने उनको भनाइ छ ।

बुटवलका फिजिसियन डा. नन्दु पाठकका अनुसार एक स्वस्थ मानिसले दिनमा डेढ सय ग्रामसम्म मासु खान उपयुुक्त हुन्छ । कडा शारीरिक ब्यायाम हुने खालका काम गर्ने मानिसले तीन सय ग्रामसम्म मासु खान उपयुक्त हुन्छ । डा. पाठकले भने, ‘मानिसको शारीरिक अवस्था अनुसार पनि केही फरक पर्छ, सामान्यतया बसेर काम गर्ने, शारीरिक परिश्रम धेरै नगर्ने मानिसको लागि दैनिक डेढ सय ग्राम मासु खान उपयुक्त हुन्छ ।’

छाला फालेको, कम बोसोयुक्त मासु खानुपर्ने उनले बताए । सकेसम्म पोलेको मासु खान नहुने उनको भनाइ छ । पोलेको मासु धेरै खाने गरे क्यान्सर हुन सक्ने भन्दै उनले यसतर्फ सचेत हुन आग्रह गरे । उनका अनुसार जापानमा धेरैले पोलेको मासु खाने गर्दछन्, जसले गर्दा क्यान्सरका रोगी धेरै भेटिन्छन् । क्यान्सरका बिरामी बढेपछि उपचारको सुक्ष्म अध्ययन पनि जापानबाटै सुरु भएको डा. पाठकले बताए । 

बजारमा पाउने खाद्य परिकार अवस्थ हुनुले झनै जोखिमा निम्त्याएको हुन्छ । बजारमा माछामासुको व्यापार यही बेला धेरै हुने भएकाले धेरै बासी तथा सडेगलेका माछामासु पनि बिक्री गर्ने गरिएको हुन्छ । उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जीसी बजारमा उपभोक्ताको स्वस्थ्यमा असर पर्ने खालका अखाद्य बस्तुको पनि व्यापार भइरहेको बताउँछन् ।

बजार अनुगमनको क्रममा हालै बुटवलको बजारका कयौं मासुपसलमा सडेका मासु पाईएको उनको अनुभव छ ।

त्यसैले बजारमा किनमेल गर्दा उपभोक्ता आफै सचेत हुन जरुरी छ भने चाडपर्वका बेला खानपानमा ध्यान दिन नसक्दा ज्यान जानेसम्मको जोखिम हुन नदिन सचेत हुनुपर्दछ । चाडपर्व मनाउने उत्साहको निहँुमा धेरै अवस्थकर परिकार खाँदा स्वास्थ्य बिग्रनेतर्फ पनि चनाखो हुन जरुरी रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप