दसैँ

सेना र प्रहरीमा कसरी सुरु भयो निशान र मौलो पूजा ?

देवताहरूको साकार रूप शक्ति सम्पन्न प्रतीकको रूपमा मौलो स्थापित

person explore access_timeअसोज १८, २०७९ chat_bubble_outline0

सेना र प्रहरीमा वडा दसैँको अवसरमा नवरात्रको बलि, मौलो पूजा र निशान पूजा अनिवार्य र महत्त्वपूर्ण हुन्छ । नेपालको कान्छो सुरक्षा फौज सशस्त्र प्रहरी बलले पनि स्थापनादेखि नै सैनिक र प्रहरीले गर्दै आएको निशान र मौलो पूजालाई निरन्तरता दिँदै आएको छ ।


नवमीको दिनमा मौलो र निशान पूजा गरिने सैनिक प्रवक्ता (सहायक रथी) नारायण सिलवालले रातोपाटीलाई बताए । निशान र मौलोको प्राचीनता र महत्त्व छुट्टै छ । 



सुरक्षा निकायले सप्तमीको दिन साँझ गोरखा दरबारबाट ल्याएर फूलपाती भित्र्याउँछन् । दाडिम, कदली (केरा), धान, बेसार, कच्चु, अशोक, जयन्ती, मानक र बेलसहित नवपत्रिका ल्याएर बसन्तपुरस्थित दसैँ घरमा पूजा गरेर फौजी संगठनले आ–आफ्नो मुख्यालयमा लगेर भित्र्याउँछन् । अष्टमीको दिन शस्त्र, अस्त्र (हात हतियार)को पूजा गरिन्छ । अनि, नवमीको दिन मौलो र निशान पूजा गरिन्छ । 



मौलो

कोत र शक्तिपीठहरुमा पशुबलि दिइने पशुवध गरिने काठ नै ‘मौलो’ हो । नेपाली सेनाको मौलो हनुमानढोकामा छ । प्रहरी र सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा ‘मौलो’ स्थापना गरिएको छ । 

पौराणिक साहित्यमा मौलोको अर्थ ‘युप’ रहेको पाइन्छ । वैदिक यज्ञहरूमा तोकिएको पशुवन्ध यज्ञमा ‘युप’को वर्णन पाइन्छ । शब्दकोशहरूमा लेखिएअनुसार अनुसार युपको अर्थ (विजय स्तम्भ, यज्ञ गर्ने ठाउँमा राखिने स्तम्भ र बलि दिइने ठाउँमा राखिने स्तम्भ) भन्ने अर्थ पाइन्छ । यसरी मौलोको शाब्दिक अर्थ पृथक पृथक भएता पनि पशु बन्धन गर्ने ‘काठ’ भनेर सर्वसम्मत स्वीकारिएको छ । 

परम्परागत रीतिरिवाजअनुसार मौलो शब्द मूलबाट बनेको हो । मूल भनेको मूलशक्ति,  मूल व्यक्ति वा प्रथम व्यक्ति भन्ने बुझिन्छ । इष्ट देवताको प्रतीक अर्थात् मूर्तिको रूपमा मौलोको स्थापना र पूजा गरिन्छ । राज्यको सर्वमान्य शक्ति अर्थात् देवताहरूको साकार रूप शक्ति सम्पन्न प्रतीकको रूपमा मौलो स्थापना गरिएको हुन्छ । मौलोको अगाडि गरिने बलिको काम शास्त्रसम्मत राज्य सुशासनको अनुकूल भएको स्पष्ट झल्कन्छ ।

मौलो बेल, बकुल, खयर र तुदवृक्ष जस्ता यज्ञवृक्षहरुबाट बनाइन्छ । यो ४ हात लामो, हेर्दा सुन्दर र माथि विशेष आकार भएको कलात्मक हुनुपर्दछ । कोत र मन्दिरहरूको बाहिर जमिनमा गाडेर मौलो राख्ने प्रचलन रहिआएको छ । त्यहाँ देवतालाई पूजा गरेपछि बलि दिने परम्परा छ ।

समग्रमा भन्दा त्यो कलात्मक सुन्दर मौलोमा त्यो अदृश्य परमस्वरुपा शक्तिको प्रतीकात्मक रूपको स्थापना गरी उनलाई बलि, उपहार दिने उद्देश्यले सुरक्षा फौजले मौलो पूजा गर्छन् ।

देश र जनताको संरक्षण र समुत्थानमा सुरक्षा निकायको भूमिका महत्त्वपूर्ण हुन्छ । सो भूमिका निर्वाह गर्न सेनाले निर्भीकता, निश्छलता, निर्लोभता, कर्तव्यनिष्ठता र अजेयबल सम्पन्नता जस्ता गुणहरूको उपार्जन गरिरहनु पर्छ । सो गुण देवीदेवताको अर्चना, आराधना र संझनाबाट मात्र हुन सक्छ भन्ने मान्यता छ । 

राष्ट्रको सफलता, जातीय गौरवको अभिवृद्धि र नेपालीको उच्च स्वाभिमानलाई जगर्ने गरीचिरस्थायी बनाई राख्न मौलो पूजा गरेर बलि दिने सुरक्षा निकायको परम्परा हो । 

प्रधान सेनापतिले हनुमानढोकास्थित मौलोमा नवमीको दिन परम्परागत पूजा गर्ने परम्परा छ । नेपाल प्रहरीका आईजीपी र सशस्त्र प्रहरी बलका आईजीपीले आ–आफ्नो मुख्यालयमा स्थापित मैलोमा नवमीको दिनमा पूजा गर्छन् ।

निशान 

फौजमा निशान शब्दले शक्ति स्वरुपा देवीलाई बुझाउँछ । सैनिक भक्ति एवं आस्थाबारे शक्ति स्वरुपिणी निशान देवीले सेनाको मनोबल बढाउने विश्वास गरिन्छ । जसको परिणाम सेना र निशान शक्तिको अन्योन्याश्रित सम्बन्ध छ । सेना भन्ने बित्तिकै निशान शक्तिको अनन्य उपासक भन्नुमा अतिशयोक्ति हुँदैन । 

निशान शब्द फारसी भाषाबाट आएको प्राचीन शब्द हो । यसको अर्थले कुनै बस्तु वा व्यक्तिलाई चिनाउने लक्षण, चिनु, चिन्ह, पल्टनीय झण्डा बोक्ने व्यक्ति वा त्यस्तो चिन्ह अङ्कित भएको झण्डा बोक्ने दर्जालाई अर्थ्याएको पाइन्छ । जुन दृष्टिकोणबाट परिभाषित गर्न र बुझ्न खोजेपनि निशान शब्दको अर्थले यथार्थमा कुनै पनि चिन्ह विशेषलाई पुष्ट्याउन खोजेको पाइन्छ । फौजमा निशानको आफ्नै अलग अलग महत्त्व एवं गरिमा छ । 

प्राचीन मानव इतिहासको ऐतिहासिक काल अध्ययन गर्दा ऋग्वेदिक कालको आधारमा  चियाउँदा सेना र संगठनको प्रारम्भिक स्वरूप खडा भएको पाइन्छ । पौराणिक कालमा मनु र मनुका सन्तानहरूले राज्य संगठनको विस्तार गरेका थिए । 

प्राचीन कालमा राजा र सेनाले आफ्नो परिचय अति विशिष्ट किसिमको झण्डा तयार गरेर दिने  गर्थे । ऋग्वेदमा  झण्डालाई ध्वज र केतु भनिएको छ । अर्थवेदमा पनि सूर्य अर्थात् देव चिन्ह भएको झण्डाको उल्लेख गरिएको छ । प्राचीन आधार र विशेषताबाट विधिपूर्वक पूजा अर्चना गरी खडा गरिएको झण्डा पवित्र मन्दिर र त्यस भित्रको सुन्दर रत्नजडित मूर्ति निशान हो ।

सेनाले निशानलाई शक्तिको ‘प्रतीक’ मानेर पूजा गर्ने परम्परा रहेको बताउँछन् सैनिक प्रवक्ता नारायण सिलवाल । कोतहरुमा हुने पूजामा बलि दिने प्रारम्भ मिति एकीन नभएपनि पौराणिक कालमै विभिन्न यज्ञहरूमा बलि दिएका प्रसङ्ग छन् । 

नेपाली सेनामा पृथ्वीनारायण शाहको पालादेखि नै निशान तथा मौलो पूजामा बलि दिने प्रचलन छ । सेनामा भगवतीप्रति विश्वास भएकै कारण त्यसबेलै छाउनीमा देव देवीका मन्दिरहरु स्थापना गरिएको थियो । 

पूजा अर्चना गरी शुभ मुहूर्तमा लडाइको लागि रवाना भएको फौजको अगाडिको जवानले बोक्ने निशानलाई अ.नि र सबैभन्दा पछाडिको जवानले बोक्ने निशानलाई प.नि भनिन्छ । यसरी शक्तिको उपासना गरी शक्तिको बिचमा रही दृढतापूर्वक लडाइँ लडेर सेनाले आफ्ना गौरवपूर्ण इतिहास कोरेको छ ।

निशानको महत्त्व 

विश्वका सबैजसो मुलुकमा सुरक्षा फौजको आ–आफ्नै प्रकारको निशान रहेको हुन्छ । सुरक्षा अंगहरुले आफ्नो भाषामा निशानस्वरुप शक्तिको उपासना एवं भक्ति प्रकट गर्ने गर्छन् । निशान शब्दले ‘चिन्ह’ भन्ने बुझाउँछ । तर, फौजमा अति विशिष्ट कला कौशलद्वारा निर्मित दैवत्व शक्ति निहित, विशिष्ट रत्नजडित साक्षत शक्तिस्वरुपिणी देवी भन्ने बुझिन्छ । 

पौराणिक कालमा देवताहरुले महिषासुर, शुम्भ, निशुम्भ, जस्ता तामसिक राक्षसहरुको संहारको लागि शक्तिदेवीको उपासना गरी आफ्नो सैन्यवलको विजय भएको प्रसङ्ग उल्लेखनीय छ । रामद्वारा रावणको पराजयको लागि गरिएको शक्ति उपासना र धर्मराज युधिष्ठिरले गुप्तबास बिताउन गरेको भक्तिपूर्वक शक्तिसाधनाद्वारा पनि यही कुरा अझ प्रस्ट हुन्छ ।

राज्य स्थापना गर्दा व्यवस्थित र संगठित रूपमा सेनाहरु राखिएपछि ‘निशान’लाई पनि आफ्नो अनुकूल स्थापना र त्यसको सुरक्षा गर्दै आएको परम्परा छ । सेनालाई आफ्नो विजय प्राप्त गर्न निशानले शक्ति प्रदान गरेको हो भन्ने विश्वास बढ्दै गएपछि त्यसप्रति थप भक्ति एवं भाव प्रकट गर्न थालियो । सेनाको भक्ति एवं आस्थाबाट शक्तिस्वरुपिणी निशान देवीले सेनाको मनोभावना बढाउँदै गइन् । परिणामस्वरुप सेना र निशान शक्तिको अन्योन्याश्रित सम्बन्ध रहेको पाइन्छ । 

नेपाली सेना र निशानको गौरवगाथा इतिहाससँग जोडिएको छ । बाइसे र चौबिसे राज्यको पालामा पनि कोत, शक्तिपीठ र निशानमा बलि चढाई श्रद्धा एवं भक्ति प्रकट गरेको पाइन्छ । फौजमा शक्तिस्वरुपा अङ्कित गरिएका एवं अ.नि र प.निको संज्ञा दिई प्रचलनमा ल्याइएका रत्नजडित शक्तिस्वरुपिणी देवी उच्च कोटीको कपडामा सजिलै नखस्ने र नहल्लने गरी जडान गरी झकिझकाउ बनाएको झण्डालाई नै ‘निशान’ भनिन्छ । 

नवमीको दिनमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले विशेष महत्वका साथमा निशान पूजा गर्छन् । प्रहरी महानिरीक्षकले नक्सालस्थित गण नम्बर–१ मा निशान पूजा गर्ने परम्परा रहेको प्रहरी प्रवक्ता (डिआईजी) टेक प्रसाद राईले रातोपाटीलाई बताए । 

सशस्त्र प्रहरी प्रमुखले पनि हलचोकस्थित मुख्यालयमा निशान पूजा गर्छन् ।  नेपाली सेनाका प्रधान सेनापतिले हनुमानढोकमा निशान पूजा गर्ने परम्परा छ । सेनाको मूल निशान हनुमानढोकास्थित ‘कम्पूकोत’मा राखिएको हुन्छ । विशेष सुरक्षासहित राखिएको सो निशानमा चैत्राष्टमी र वडा दसैंको नवमीका दिनमा मूल निशानसहित देशभरका युनिटहरुका निशानमा भगवती पूजा गरेर प्रधान सेनापतिले हस्त चिन्ह (छाप) लगाउने परम्परा सेनामा छ । 

देशभरका अन्य युनिटमा पनि युनिट कमाण्डरले बलि पूजा अर्चना गरेर निशानमा छाप लगाउँछन् । 

शक्ति सम्पन्न निशानहरुलाई स्थानान्तरण गर्नु हुँदैन । फौजलाई  सवल र शक्ति प्रदान गर्न नित्य पूजा र आरती गर्नुपर्दछ । निर्धारित र विशेष रुपमा मात्र सवैले दर्शन गर्ने अधिकार प्राप्त गर्न सक्दछन् । फौज भित्रको कार्य प्रारम्भ गर्नु अगाडि सफलताको निम्ति पहिले विशेष पूजा अराधना गरिन्छ । 

परम्परादेखि चली आएको सनातन बैदिक हिन्दू परम्पराअनुसार साक्षात शक्तिस्वरुपिणी जगज्जननी माताको स्वरुप नै सुरक्षा निकायले मान्दै आएको निशान शक्ति हो । 

सेनासँगै प्रहरी र सशस्त्र प्रहरीको निशान झण्डा राष्ट्रिय मूल कोतखाना हनुमानढोका दरबारमा सम्मान तथा सुरक्षाका साथ राखिन्छ । नवमीको दिनमा ब्राह्मण पुरोहित, बैण्डबाजा र सुरक्षा गार्डका साथै सम्बन्धित पूजा स्थलसम्म ल्याउने र पूजा विसर्जन पश्चात पुनः सोही मूल कोतमा नै लगेर राख्ने चलन छ । 

परापूर्व कालदेखि नै राष्ट्रिय पर्व वडा दसैंको महानवमी र रामनवमीमा  हिन्दू परम्पराअनुसार निशानमा संकल्प पूजा र बलि दिइन्छ । सुरक्षा संगठनहरुको निशानलाई सेनाको रणभैरव गणले सुरक्षा दिँदै आएको छ । 

फूलपाती बढाइँ

बडादसैंको फूलपातीमा नेपाली सेनाले राष्ट्रिय समारोहका रुपमा ‘फूलपाती बढाइँ’ गर्दै आएको छ । गोरखा दरबारबाट ल्याएको फूलपाती हनुमानढोकामा भित्र्याएपछि सैनिक मञ्च, टुँडिखेलमा बढाइँ सुरु हुन्छ । सेनाले आयोजना गर्ने फूलपाती बढाइँमा राष्ट्रप्रमुख सहभागी हुने परम्परा छ । 

तोपमार्फत् गरिने बढाइँ कवाजमा ६ सय भन्दा धेरै सैनिकले भाग लिन्छन् । टुँडिखेलमा हेलिकप्टरबाट पुष्पवृष्टि, तोप बढाइँ र सैनिक व्याण्डबाट ब्याण्ड डिस्प्ले गरिने परम्परालाई सेनाले निरन्तरता दिँदै आएको बताउँछन्, सैनिक प्रवक्ता सिलवाल । 

नेपाली सेनाले गोरखा दरबारबाट फूलपाती ल्याउने परम्परा छ । गोरखाबाट जमल ल्याएपछि गुर्जुको पल्टनले कर्णेलचोक भगवतीबाट सो फूलपाती हनुमान ढोकासम्म लैजान्छन् । कर्णेल चोकबाट व्याण्ड र बिगुल बजाएर दसैंघरमा फूलपाती लान गुर्जुको पल्टनलाई निजामती कर्मचारी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले साथ दिन्छन् । 

फूलपातीको अघिल्लो दिन ब्राह्मण, मगर र नेवार सहितको टोली फूलपाती लिन धादिङको छत्रेदेउरालीसम्म जान्छन् । मगर जातिले बोकेको फूलपाती दसैंघरमा विशेष पूजा गरेर भित्र्याइन्छ । सेनाका महानिर्देशनालय, निर्देशनालय, कमाण्ड र बाहिनीहरुले समेत बाजागाजाका साथ फूलपाती भित्र्याएर दसैं मनाउँछन् ।

प्रहरीलाई त्रिभुवनले दिए निशान 

नेपाल प्रहरीको निशान रामदल पल्टनबाट आएको हो । यसमा अघिल्लो निशान र पछिल्लो निशान गरी दुईवटा निशान हुन्छन्, यसलाई अनि र पनि भनिन्छ । मुख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अंकित भएको हुन्छन् भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ । 

शान्ति सुरक्षा र अमन चयन कायम राख्ने संवेदनशील र महत्वपूर्ण काममा सफलता प्राप्त गर्न ईश्वरीय शक्ति प्राप्तिको लागि शक्तिपीठ र ईष्ट देवताको प्रतीकका रुपमा निशान झण्डालाई लिइन्छ । प्रहरीको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्त होस् भनी निशान झण्डालाई पूजा गर्ने परम्परा छ । बिसं २०११ सालमा तत्कालीन राजा त्रिभुवनले नेपाल प्रहरीलाई निशान झण्डा हस्तान्तरण गरेका थिए । 

पूर्व आईजीपी डिबी लामा भन्थे, ‘देशभरका युनिटमा मन्दिर बनाएर पूजा गर्नुपर्छ, पाप नष्ट हुन्छ ।’ कानुन कार्यान्वयन गर्दै अन्जानवश अन्याय हुन सक्ने भन्दै पूर्व आईजीपी लामाले सो पाप कटाउन प्रत्येक प्रहरी युनिटमा मन्दिर बनाएर पूजा गर्न निर्देशन दिएको प्रहरी अधिकृतहरु सम्झन्छन् । 

प्रहरीमा दसैंको नवरात्रको बलि, मौलो र निशान पूजा महत्वपूर्ण र अनिवार्य मानिन्छ । नक्सालस्थित नेपाल प्रहरीको हेड्क्वार्टरस्थित मौलोमा दसैंमा डिआईजी र एआईजीहरुले बोका चढाउने चलन थियो । तर, कोरोना संक्रमणपछि सो परम्परामा ब्रेक लागेको छ । 

सशस्त्र प्रहरी बलले पनि हनुमान ढोकाबाट विधिपूर्वक निशान हलचोकमा ल्याएर पूजा गर्ने गरेका छन् । नवमीको दिनमा मौलो र निशान पूजा गरिने सशस्त्र प्रहरी वलका प्रवक्ता (डिआईजी) बिदुर खड्काले बताए ।

सेनामा झण्डाको महत्व 

प्रत्येक देशका प्रत्येक सेनामा आ–आफ्नै झण्डा, झण्डामा हुने चिन्ह र इष्टदेव फरक फरक हुन्छन् । त्यसैले, नेपाली सेनामा पनि यससम्बन्धि विविधता पाइन्छ । सेनाको हेडक्वाटरको झण्डासँग सो अन्तर्गतका वाहिनी, गण, गुल्महरुको झण्डा मिल्दैनन्  । 

आ–आफनै नाम अनुसारका झण्डामा देवता राखिन्छन् र पुजिन्छन् पनि । झण्डामा निहीत प्रतीक शक्तिको पूजा आराधना सम्बन्धमा गहिरिँदा वाहिनी, गण, गुल्महरु (युनिट) का इष्ट देवता जुन हुन्छन्, झण्डामा पनि तिनै इष्टदेवताको पूजा हुन्छ । 

जुन मन्त्रले इष्टदेवताको पूजा गरिन्छ, त्यही मन्त्रले नै झण्डाको पूजा गर्नु पर्दछ । झण्डामा बलि भोग खाने इष्ट देवता अंकित छन् भने बलि भोग दिनुपर्छ र बलि नखाने इष्टदेवता झण्डामा अंकित छन् भने कोरा बलि रहितको पूजा गर्नुपर्दछ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।