शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाठकद्वारा विवेकशील साझा पार्टीबाट राजीनामा

सोमबार, १७ असोज २०७९, २० : ४८
सोमबार, १७ असोज २०७९

विवेकशील साझा पार्टीका निवर्तमान प्रवक्ता शरदराज पाठकले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् । उनले  विवेकशील साझाबाट अलग भए तापनि विगत ५ वर्षमा प्रमुखताका साथ उठाएका अर्थ राजनीतिक तथा राजनीतिक सामाजिक एजेन्डा प्रवर्द्धन र स्थापित गर्न आफू आगामी दिनमा पनि सक्रिय राजनीतिक मैदानमै रहने स्पष्ट पारेका छन् ।

उनले लेखेका छन्, ‘२०७४ सालमा विवेकशील साझा पार्टी स्थापना पश्चात् विभिन्न नेतृत्वदायी जिम्मेवारी निर्वाह गर्दै आएकोमा म शरदराज पाठक आजको मितिदेखि साधारण सदस्यसमेत नरहने गरी राजीनामा पेस गर्दछु।

विवेकशील साझा पार्टीबाट अलग हुँदै गर्दा यस पार्टीको तर्फबाट २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट उम्मेदवार रहँदा म र पार्टीप्रति आशा र विश्वाससहित मतदान गर्नुहुने सम्पूर्ण मतदातालाई पुनः एक पटक हार्दिक धन्यवाद ज्ञापन गर्दछु। 

विवेकशील साझाबाट अलग भए तापनि विगत ५ वर्षमा हामीले प्रमुखताका साथ उठाएका अर्थ राजनीतिक तथा राजनीतिक सामाजिक एजेन्डा प्रवर्द्धन र स्थापित गर्न म आगामी दिनमा पनि सक्रिय राजनीतिक मैदानमै रहने कुरा यस पार्टीका सम्पूर्ण आदरणीय सहकर्मी, पूर्व सहकर्मी एवम् मेरा शुभेच्छुक/शुभचिन्तकहरूलाई जानकारी गराउँछु।

पछिल्लो ५ वर्षको अवधिमा मलाई विभिन्न चरणमा सहयोग गर्ने, अमूल्य सल्लाह-सुझाव प्रदान गर्ने सम्पूर्ण महानुभावहरूसहित यो पार्टीमा विभिन्न भूमिकामा रही नेतृत्व गरेका सहकर्मीहरू र सदस्यहरूप्रति आभार प्रकट गर्दछु।

विवेकशील साझा पार्टीलाई अघि बढाउन हाल प्रयासरत अध्यक्षसहित सबै मित्रहरूलाई सफलताका लागि धेरै शुभकामना व्यक्त गर्छु।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप