शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बडादसैँमा सडक सुनसान, शक्तिपीठमा भक्तजनको घुइँचो

सोमबार, १७ असोज २०७९, १७ : ४१
सोमबार, १७ असोज २०७९

नेपालीको महान् पर्व बडा दसैँमा राजधानीका सडक सुनसान छन् । शक्तिपीठमा भने शङ्ख, घण्ट र देवी स्तोत्रको गुञ्जनसँगै भक्तजनको भीड छ । शक्तिपीठ एवं देवी मन्दिर वरपर पार्किङ गरिएको सवारीसाधन पनि बाक्लै देखिन्छ । 

सधैँ जाम हुने राजधानीका व्यस्त सडक अहिले भने खाली छ । घण्टौँ जाममा बस्नुपर्ने समस्या छैन । बजार, पसल पनि फाट्टफुट्टमात्र खुलेका छन् । दसैँमा करिब २० लाख मानिस राजधानीबाट बाहिर गएको अनुमान गरिएको छ ।

राजधानीका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, कङ्केश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, बज्रबाराही, बगलामुखीलगायत मन्दिरमा भक्तजनको भीड छ । शक्तिपीठमा आज बलिसहित विशेष पूजाआराधना गरिने भएकाले पनि नवरात्रका अरु दिनभन्दा आज बढी भीड देखिएको हो ।
 
यसैगरी उपत्यका बाहिरका देवीमन्दिरमा पनि भक्तजनको भीड बढेको छ । पाथीभरा, छिन्नमस्ता, गहवामाई, पलाञ्चोक भगवती, पाल्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, मनकामना, इच्छाकामना, विन्ध्यवासिनी, बाग्लुङ कालिका, शैलेश्वरी, उग्रतारा, बडीमालिकालगायत मन्दिरमा भक्तजनको भीड लागेको जनाइएको छ ।

यी देवी मन्दिरमा बलिसहित आजका दिन विशेष पूजा हुने गर्छ ।नवरात्र समेत भनिने यस अवसरमा शक्तिपीठमा दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । 

विगतका दुई वर्ष कोरोना महामारीका कारण शक्तिपीठ बन्द गरी घर घरमै दुर्गा देवीको पूजाआराधना गर्न आह्वान गरिएको थियो । यसवर्ष भने कोरोनाको जोखिम कम भए पनि डेँङ्गुको त्रास बढेको छ । यसवर्ष डेंङ्गुबाट सुरक्षित भएर दसैँ मनाउन प्रशासनले आह्वान गरेको छ ।

वर्षासमेत नरोकिएको र जमेको पानीमा डेङ्गु फैल्याउने लामखुट्टटे पाइने भएकाले सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आह्वान गरेको हो । बडा दसैँमा खानपानमा पनि सतर्कता अपनाउनुपर्ने यस क्षेत्रका विज्ञको अनुरोध छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप