शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मनास्लु हिमालमा पुनः हिमपहिरा : एकजनाको मृत्यु

सोमबार, १७ असोज २०७९, १५ : २१
सोमबार, १७ असोज २०७९

उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा आज पुनः हिमपहिरा जाँदा  एकजनाको मृत्यु भएको छ । आज बिहान दोस्रो र तेस्रो आधार शिविरमा गएको हिमपहिरामा परी ताप्लेजुङका ३५ वर्षीय दावा छिरिङ शेर्पाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालका अनुसार हिमपहिरामा परेका चारमध्ये तीनजना भने तत्काल नै सम्पर्कमा आएका थिए  । पहिरामा परेका शेर्पा भने सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको थियो । घटनालगत्तै बेपत्ता शेर्पाको खोजी गर्ने क्रममा मृतावस्थामा भेटिएको उनले बताए ।

मृतक शेर्पाको शव सिम्रिक एयरको हेलिकप्टरमार्फत उद्धार गरी आधार शिविरबाट सामागाउँमा ल्याएर मुचुल्का उठाई शवपरीक्षणका लागि काठमाडौँको टिचिङ अस्पताल पठाइएको एसपी खनालले जानकारी दिए । मृतकको शवपरीक्षणपछि आफन्तलाई बुझाइने गोरखा प्रहरीले जनाएको छ । आइतबार बिहान पनि दोस्रो आधार शिविरमा हिमपहिरा गएको थियो । 

यसअघि गएको सोमबार पनि मनास्लु हिमालको तेस्रो आधार शिविरमा हिमपहिरा गएको थियो । उक्त हिमपहिरामा परी दुईजनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए । सोमबार गएको हिमपहिरामा सङ्खुवासभाका अनुप राई र विश्व विख्यात अमेरिकी स्की आरोही हिलारी नेल्सनको स्की गर्ने क्रममा मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप