बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यस्ता रोगीले मासु नखाएकै बेस

सोमबार, १७ असोज २०७९, १४ : ०७
सोमबार, १७ असोज २०७९

जब चाडपर्व अनि रमाइलो गरिन्छ तब खानेकुराहरू प्राथमिकतामा पर्छ । प्रा.डा. पोषणविद् उमा कोइरालाका अनुसार खानेकुरा मनोरञ्जनको साधन पनि हो । पर्वहरूमा खाने परिकारमध्ये प्राथमिकतामा मासु पर्छ । 

दसैँ तिहार नजिकिएसँगै खसी, बोका, राँगो, बङ्गुर, भैँसी कुखुराको मासु अधिक मात्रामा खाने चलन छ । जसका कारण स्वस्थ मानिस पनि बिरामी पर्ने अस्वस्थ मानिस झन् बिरामी पर्ने हुँदा खानपानमा विशेष ध्यान दिनुपर्ने प्रा.डा. पोषणविद् कोइरालाको भनाइ छ ।

 दसैँ तिहारमा मनोरञ्जनात्मक खेलहरू खेल्ने क्रममा मासुका धेरै परिकार बनाएर पटक पटक साता दश दिनसम्म लगातार खाने पनि गरिन्छ । 

यस्ता रोगीले मासु खान हुँदैन

सकेसम्म कसैले पनि रातो मासु खान हुँदैन । खसी र बङ्गुरको रातो मासुमा धेरै बोसो हुन्छ । बोसो सहितको मासुलाई सजिलैसँग पचाउन सकिँदैन । जसले गर्दा कोलेस्ट्रोल, कार्डियो भास्कुलर डिजिज अर्थात् मुटुको रोग लाग्ने सम्भावना बढी हुने भएकाले नखान उनको सुझाव छ । 

यस्तै, ब्लडप्रेसर हाइ हुनेहरूले पनि रातो मासु खानु हुँदैन । डाक्टर कोइरालाको अनुसार रातो मासुमा बढी मात्रा आइरन हुन्छ । आइरनयुक्त खाना बढी खाँदा उच्च रक्तचाप भएकालाई स्वास्थ्यमा झन् समस्या निम्तने गर्छ । यस्तै, मिर्गौलाका रोगीहरूले रातो चिल्लो मासु खानु उपयुक्त हुँदैन । कलेजो, अल्सर बिरामीले पनि रातो मासु खाँदा पच्दैन त्यसैले नखाएकै बेस हुन्छ । 

 यस्तो मासु खान सकिन्छ

स्वास्थ्यका हिसाबले स्वस्थ मानिसले पनि रातो मासु खानु त्यति उपयुक्त मानिँदैन । त्यसैले खसी, बुङ्गुरको रातो मासु खानुभन्दा कुखुराको सेतो मासु खानु बेस हुने डा. कोइरालाले बताइन् ।  यस्तै, माछा पनि बङ्गुर, खसीको रातो मासुभन्दा राम्रो मानिन्छ । सेतो मासुमा बोसो नहुने भएकाले स्वास्थ्यका लागि फाइदा हुने उनले बताइन । माछामा हुने चिल्लो शरीरले पचाउन सकिने खाल हुन्छ । खसी, बङ्गुरको मासु दम, बाथ, अल्सर, उच्च रक्तचाप भएका मानिसले खान हुँदैन । 

यी रोग भएकाहरूले कुखुराको मासु, माछामा चिल्लो कम राखेर खाँदा राम्रो हुने उनको भनाइ छ । धेरै सेतो मासु उसुनेर खाँदा धेरै मन नपर्न सक्छ । तर, उसुनेर  खाँदा स्वास्थ्यका लागि लाभदायक हुने डा. कोइराला बताउँछिन् । सुरु सुरुमा उसुनेर मासु खाँदा स्वाद मन नपर्न सक्छ । तर, धेरै चिल्लो पदार्थ राखेर पकाउँदा शरीरले पचाउँदैन भन्ने थाहा पाएपछि  उसुनेर खान प्रयत्न गर्नुपर्छ । केही दिन मासु उसुनेर खाँदा मिठो नलागे पनि बिस्तारै मन पर्छ । उसिनेको मासुमा नुन जिरा, धनियाँ, खुर्सानी गोलभेँडा लगायत मसलाहरू राखेर खाँदा स्वादिलो हुन्छ । 

खाना आफैँमा मनोरञ्जनात्मक साधन हो । त्यसैले यसलाई स्वास्थ्यकर बनाएर खानु प्रमुख दायित्व भएको उनले बताइन् । मासु खाँदा सन्तुलित ढङ्गबाट खानुपर्छ । मासुसँगै सहयोगी कुरा सागपात, गाजर, मुला, काँक्रो लगायतको सलाद अनिवार्य रूपमा खान उनको सुझाव छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप