बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सन्तान र आफन्त सबै विदेशतिर, दसैँमा एक्लो हुँदा दसैँ दसैँजस्तो भएन

सोमबार, १७ असोज २०७९, १३ : ४७
सोमबार, १७ असोज २०७९

हिन्दु धर्मावलम्बीहरुको ठूलो चाड बडादसैँ घरघरमा भित्रिसकेको छ । दसैँमा प्रायः सबैको घरमा रमाइलो गर्ने, आफन्त भेला हुने, घुम्न जाने, साथीभाइबीच रमाइलो गर्ने चलन छ । तर मोरङको पथरीशनिश्चरे–१० स्थित भुटानी शरणार्थी शिविरमा बसेका कतिपय शरणार्थीका लागि दसैँ भनेको पीडा सम्झाउने दिनजस्तो बन्दछ ।

शिविरका ५१ वर्षीय दीपक गिरी शिविरमा एक्लै छन् । उनका नरनाता र आफन्त कोही अमेरिकामा त कोही अष्ट्रेलिया पुगेका छन् । तर, उनी सानो छाप्रोमा एक्लै छन् । शरणार्थीसम्बन्धी उच्चस्तरीय आयोग (युएनएचसीआर)ले भुटानी शरणार्थीलाई तेस्रो देशमा पुनर्वास गराउन थालेपछि उनका सबै आफन्त अमेरिका गए । हाल श्रीमती र छोराछोरी अमेरिकामा बस्छन् । बुबाआमा, बहिनीज्वाइँ र भाइको परिवार अष्ट्रेलियामा छ ।

उनको दैनिकी ज्यालादारी काम गरेर बित्छ । त्यही कमाइबाट पेट पालिरहेका उनी १५ वर्षयता एक्लै जीवन बिताइरहेको बताउँछन् ।

‘चाडबाड लागेपछि मन भक्कानिन्छ । सम्झनाहरू आँखा अगाडि आउँछन् । सात समुद्र टाढाका आफन्तसँग वर्षौं टाढिएर बस्नुको पीडा जसले भोगेको छ, उसलाई मात्र थाहा हुन्छ,’ उनी भन्छन् । शरणार्थीको रुपमा नेपाल आएसँगै दीपक परिवारको जेठो छोरा भएका कारण ज्याला मजदुरीका लागि भारतको गुजरात गए । युएनएचसीआरले उनी गुजरात भएकै बेला उनका सबै परिवारको शरणार्थी परिचयपत्र बनायो । तर उनी छुटे ।

दीपक जस्तै सोही शिविरका ४७ वर्षीय विनोद सुवेदी पनि एक्लै छन् । विनोदकी आमा अहिले अमेरिकाको ओहायोमा बस्छिन् । शिविरमै बुबाको मृत्यु भएपछि मजदुरीका लागि भारतको बेङ्ग्लोर गएको बेला उनी पनि फोटो खिच्ने बेलामा छुटे ।

उनकी श्रीमती अमेरिकातिरै गइन् । उनको छोरा पनि अमेरिकामै छन् । ‘कुन दसैँ, कुन तिहार, उनलाई वास्तै लाग्दैन । बाबुबाजेले मान्दै आएको पर्व भएकाले एक जना सुवेदी दाइसँग चारगेडा अक्षता टाँसेर आउँछु,’ उनी भन्छन्, ‘दसैँमा आफन्तहरु सम्झाउने बाहेक केही हुँदैन ।’

सोही ठाउँकी ४० वर्षीय हिमा कार्की पनि १३ वर्षदेखि शिविरमा एक्लै छिन् । उनका लागि छोराछोरीले अमेरिका लगेमात्रै दसैँ आउँछ भन्ने लाग्छ । ‘आफन्त भन्ने कोही छैन । भएका कोही भुटानमै छन् । कोही अमेरिका, कोही अष्ट्रेलिया, कोही डेनमार्क,’ हिमा भन्छिन् ।

हिमाका बुबाआमा अमेरिकाको कोलोराडोमा बस्छन् । दुई छोरी र एउटा छोरा बुबाआमा सँगै छन् । घरतर्फका कोही भुटानमा छन् । कोही डेननमार्कमा । श्रीमान् कान्छी श्रीमती लिएर बेपत्ता भएको २२ वर्ष भयो । ‘चार दाजुभाइ थिए, एउटा कमाउन कोइलाखाद गएको, उत्तै हरायो । एउटा डेनमार्कमा छ । दुई भाइ अमेरिकाको कोलोराडो बस्छन् । रुँदारुँदै आँशु सकिए । आफ्नो भाग्य नै खोटो सम्झियो, बस्यो,’ उनी दुःख व्यक्त गर्छिन् ।

५९ वर्षीय रेवती पौडेलको पीडा पनि उस्तै छ । उनको छोराछोरी, ज्वाइँ अष्ट्रेलियामा बस्छन् । ‘छोराछोरी आफन्त सम्झियो, रोयो । चाडबाड आउँछन्, जान्छन्, वास्तै लाग्दैन,’ उनी भन्छिन् ।

हालसम्म एक लाख सात हजार ९४९ जना शरणार्थीको पुनर्वास भइसकेको छ । काम गर्न शिविर छोडेर हिँडेका युवा र गैरशरणार्थीसँग विवाह गरेका महिलाहरू शरणार्थीको सूचीबाट हटेका छन् । जसको सङ्ख्या एक हजार ६४१ छ । त्यसरी छुटेका शरणार्थीहरुको जीविकोपार्जन भने कष्टकर रहेको उनीहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप