शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चीनका ‘जेफ बेजोस’ माथि लागेको मिटुको मुद्दा अदालत बाहिर सुल्झिएपछि हंगामा

सोमबार, १७ असोज २०७९, १० : ०१
सोमबार, १७ असोज २०७९

यो चीनको सबैभन्दा ठूलो मिटु ट्रायल हुन सक्थ्यो, जुन विश्वको अर्को छेऊ अमेरिकाको मिनेसोटा राज्यमा चल्थ्यो । यो आरोप चीनका ‘जेफ बेजोस’ भनेर चिनिने ४९ वर्षीय अर्बपतिमाथि लगाइएको थियो । आरोप लगाउने चिनियाँ मूलकी २५ वर्षीया विद्यार्थी थिइन् जसले आफूमाथि यौन दुर्व्यवहार भएको दाबी गरेकी थिइन् ।

यो मुद्दा एक खुला अदालतमा चल्थ्यो । यस्तो हुनु लगभग चीनमा असम्भव छ । ट्रायल मिनेसोटाको हेनेपिन काउन्टीमा चल्थ्यो, जहाँ कथित रूपमा अपराध भएको थियो । तर अदालतमा कारबाही सुरु हुनु पूर्वसन्ध्यामा मुद्दाले नाटकीय मोड लिएको छ । दुवै पक्ष अदालत बाहिर समाधान गर्न सहमत भएका छन् र अब मुद्दा चल्ने छैन ।

आरोपको घेरामा थिए रिचर्ड लियु जसलाई चीनमा लियू कियांगडोंगको नामले चिनिन्छ । आरोप लगाएकी थिइन् लियू जिंगयाओले । हुन त यी यी दुईबीच कुनै सीधा सम्बन्ध छैन । लियु चीनमा एक चर्चित उपनाम हो । बीबीसीले आफ्नो रिपोर्टमा लियु जिंगयाओको नाम लेखेकी छिन् किनभने उनले पहिला नै आफ्नो पहिचान यो नाममार्फत् सार्वजनिक गरिसकेकी छिन् ।

दुवै पक्षबाट शनिबार जारी विज्ञप्तिमा जुन घटना भएको थियो त्यसमा केही असमझदारी भएकाले यसले जनताको ध्यान आकर्षित गरेको बताए । यसका कारण दुवै पक्ष र उनीहरुको परिवारले धेरै दुःख खेप्नु परेको पनि बताइयो ।

अब थप कानुनी लडाइँ लड्न नपरोस् भनेर दुवै पक्षले पीडा कम गर्नका लागि आफ्ना मतभेद मिलाउन सहमत भएको विज्ञप्तिमा उल्लेख छ ।

यो खबरले चीनका जनता स्तब्ध भएका छन् र सामाजिक सञ्जालमा ठूलो संख्यामा मानिसहरुले आफ्नो धारणा व्यक्त गरिरहेका छन् । केही घण्टामै चीनको सोसल मिडिया प्लेटफर्म वेइबोमा यससँग सम्बन्धित ह्यासट्याग ट्रेन्डिङ हुन थाल्यो ।

बन्द कोठामा सम्झौता

चीनका जनताको नजर यस मुद्दामाथि थियो र उनीहरू यो मुद्दा हजारौं माइल टाढा अमेरिकी अदालतमा चलिरहेको हेर्न चाहन्थे ।

अमेरिकी न्याय प्रणाली चिनियाँ न्याय प्रणालीभन्दा धेरै खुला र स्वतन्त्र छ ।

अब यस मामिलामा बन्द कोठाभित्र सम्झौता भएको छ र यसबारे थप अनुमानहरू सुरु हुन सक्छन् ।

चीनको मिटु अभियान पनि विवादमा परेको छ ।

मुद्दाको सुनुवाइ सुरु हुनुअघि नै ३० अगस्ट २०१८ को राती जे भएको थियो त्यससँग सम्बन्धित भिडियो र अडियो क्लिप सार्वजनिक भएको थियो जसका लागि मानिसहरुले आफ्नो धारणा बनाएका थिए ।

त्यतिबेला लियु जिंगयाओ युनिभर्सिटी अफ मिनेसोटोमा पढिरहेकी थिइन् । उनलाई रिचर्ड लिउले आयोजना गरेको नेटवर्किङ डिनरमा आमन्त्रित गरिएको थियो ।

रिचर्ड ई–रिटेलिङ कम्पनी जेडी डट कमका संस्थापक हुन् । यस डिनरमा उनीबाहेक चीनका अन्य धेरै शक्तिशाली व्यवसायीहरु पनि थिए । डिनरपछि दुवैजना उनको  अपार्टमेन्टमा गएका थिए ।

के थिए आरोप ?

छात्राले रिचर्ड लियु र अन्य पाहुनाले आफूलाई डिनरमा अत्यधिक रक्सी पिउन दबाब दिएको आरोप लगाएकी थिइन् ।

कारमा जाँदै गर्दा रिचर्डले आफूलाई जबरजस्ती गरेको र प्रतिरोध गर्न नसक्ने गरी नशामा डुबेको उनले आरोप लगाएकी छिन् ।

विद्यार्थीले विरोध गरेपछि आफूसँगै अपार्टमेन्टमा आएर बलात्कार गरेको आरोप लगाएकी छन् ।

यता रिचर्ड लियुले भने उनी खासै धेरै नमातेको र उनले आफूलाई अपार्टमेन्टमा आमन्त्रित गरेको र दुईबीच मर्जीले यौन सम्बन्ध स्थापित भएको बताएका छन् ।

भिडियो सार्वजनिक भएपछि के भयो ?

यस घटनालगत्तै लियु जिंगयाओले आफ्ना साथीलाई के भएको थियो बताएकी थिइन् । उनले प्रहरीलाई बोलाएकी थिइन् । रिचर्ड लियुलाई पक्राउ गरिएको थियो र उनको गिरफ्तारी विश्वभरी चर्चित बनेको थियो ।

रिचर्डले कुनै प्रकारको अपराध अस्वीकार गरेका थिए र उनलाई भोलिपल्ट नै रिहा गरिएको थियो । केही हप्ता चलेको अनुसन्धानपछि अभियोजकले प्रमाणको अभावमा आरोप प्रमाणित गर्न गाह्रो हुने बताए ।

अप्रिल २०१९ मा, लियु जिंगयाओले सिभिल ल सुट दायर गर्यो र रिचर्ड लिउलाई यौन दुर्व्यवहारको आरोप लगाउँदै ५ हजार डलर जरिवाना मागेकी थिइन् ।

अदालतले छात्राको दाबीमाथि सिभिल अदालतमा मुद्दा चलाउन सकिने बताएको थियो । अदालतले रिचर्डको कम्पनीलाई पनि जिम्मेवार ठहराउन सकिने बताएको थियो ।

उजुरी परेपछि दुईजना रेस्टुरेन्ट बाहिर कुराकानी गरेको भिडियो, अपार्टमेन्टको लिफ्टको भिडियो र प्रहरीको बडी क्यामेराको भिडियोलगायत घटनासँग सम्बन्धित धेरै भिडियो बाहिर आएका थिए ।

यी भिडियोहरू पहिलो पटक चीनमा अज्ञात वेबसाइटहरूमा पोस्ट गरिएको थियो । छात्रा र उनका वकिलले उनीहरुको पक्षलाई कमजोर पार्ने नियतले उक्त कुरा चुहाइएको आरोप लगाएका थिए ।

यसै क्रममा रिचर्ड लियुका वकिलले बीबीसीसँगको कुराकानीमा मिडियाको मागमा प्रहरीले यी भिडियोहरू जारी गरेको जानकारी दिए ।

तर, एउटा कुरा पक्का थियो कि यी भिडियोहरू सार्वजनिक भएपछि चीनका जनताको राय रिचर्डको समर्थनमा बन्यो र छात्राको आलोचना पनि भएको छ ।

धेरैले छात्राले पैसा कमाउन यस्तो गरेको टिप्पणी गरेका छन् ।

आइतबार सम्झौताको खबर आएपछि चिनियाँ सामाजिक सञ्जालमा फेरि छात्राले पैसा लिनका लागि मात्रै यस्तो आरोप लगाएको बताइएको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप