शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

सीमा नाकामा गिज्याउने सडक : ७ सय मिटर बन्न १० वर्ष

सोमबार, १७ असोज २०७९, ०७ : ०१
सोमबार, १७ असोज २०७९

विजया दशमी नजिकिँदै गर्दा सुनौली नाकामा भारतबाट फर्कनेहरूको लर्को लाग्छ । सधैँ भिडभाड हुने ठाउँमा दसैँको बेलामा झन् भारतबाट नेपाल प्रवेश गर्नेहरूको सङ्ख्या तीन गुणा वृद्धि हुने रेकर्ड रहेको छ ।

सामान्यत १५ सयदेखि २५ सयसम्म दैनिक मानिसहरू आउने यो नाकामा दसैँको बेलामा ६ हजार देखि १० हजार आउने गर्दछन् । तर भारतबाट नेपाल छिर्नासाथ बेलहिया नाका (सुनौली) मा निकै अस्तव्यस्त देखिन्छ । ठाउँठाउँमा जाम, भत्केका सडक, कतै पानी जमेको, कतै हिलो भने कतै  कहिले धुवाँधुलोले नेपाल भित्र साथ धेरैलाई दिक्क बनाउँछ ।

बेलहिया–बुटवल सिक्स लेन नामकरण गरेर सरकारले आर्थिक वर्ष २०६८/६९ देखि निर्माणको काम सुरु गरे पनि बेलहियामा ७ सय मिटर नबन्दा यात्रुहरूले सास्ती व्यहोर्नु परेको हो । उनले नेपाल आउन साथ  गिज्याउने काम गरेको  भैरहवाका  रवीन्द्र गुप्ताले बताए ।

बाइपास रोडदेखि भैरहवा हुँदै बुटवलको चौराहासम्म ६ लेनको सडक निकै भव्य र सुन्दर भए पनि बेलहियामा ७ सय मिटर सडक निर्माण गर्नको लागि ठेकेदार कम्पनीले अटेर गर्दा सडकको यस्तो अवस्थामा भएको हो । 

 बिरुवा कन्स्ट्रक्सनले पाएको ७ सय मिटरको सडकमा कुल रु १६ करोड, ८५ लाख ७० हजारको लागत रहेको छ । त्यसमध्ये ६० प्रतिशत रकम ठेकेदारले लगिसकेको सडक कार्यालयले जनाएको छ ।

स्थानीय राजेन्द्र गुप्ताले ठेकेदारले समयमा काम नसक्दा वर्षौँदेखि भारत जाने र आउनेलाई समस्या भएको बताए । उनले सडक वर्षौँदेखि अलपत्र हुँदा कसैले पनि ध्यान नदिएको बताए । भारतको कानपुरबाट आएका गुल्मीको मुसिकोटका रामबहादुर ठकुरीले बाटो बिग्रेकोले झन्झट लाग्ने बताए । उनले भने, ‘यहाँ आउनासाथ कतै भत्केको छ, कतै हिलो छ । गाडी अस्तव्यस्त रूपमा हिँडाएका छन् । निकै दिक्क लाग्छ ।’

पर्यटक सुरुमा नै निराश

यो नाका धेरै पर्यटक भित्रने प्रवेशद्वारका रूपमा चिनिन्छ । यहाँबाट नजिक रहेको लुम्बिनीको कारणले गर्दा पनि धेरै भारतसहित भियतनाम, स्वीट्जरल्याण्ड, श्रीलङ्कालगायत बौद्ध धर्मप्रति आस्था राख्ने धेरै पर्यटकहरू यही बाटो भएर नेपाल प्रवेश गर्छन् ।

भारतको गाजियाबादबाट आएकी राहु विजले सडक देखेर आफू दिक्क लागेको बताइन् ।  सडकमा खाल्डाखुल्डी उस्तै छन् । कति भत्केका छन्,गाडी पनि राम्रोसँग चलाउन मिल्दैनन् । नेपाल प्रवेशद्वारमै सडकको अस्तव्यस्तताले भने पर्यटकलाई गिज्याइरहेको ट्राभल एजेन्सी एसोसिएसन (नाटा )लुम्बिनी प्रदेश अध्यक्ष सागर अधिकारीले रातोपाटीलाई बताए । 

यही बाटो प्रयोग गरी भारत र तेस्रो मुलुक गरी मासिक ४ हजार बढी पर्यटकले लुम्बिनीको भ्रमण गरेको बेलहिया पर्यटन कार्यालयको तथ्याङ्क रहेको छ । नेपालको प्रवेशद्वारमै सडक नबन्दा पर्यटकहरूको आवागमनमा समेत असर परेको भैरहवामा होटेल व्यवसायी सुशील खनालले बताए ।

एकै ठेकेदारले बुटवल–बेलहिया सडक बेहाल बनाइदिए 

२०६८ सालमा सरकारले बेलहिया–बुटवल छ लेनको २७ किलोमिटर सडकमा ठेक्का लगाउँदा नै टुक्रा टुक्रा गरी १२ वटा ठेक्का लगाएको छ । फरक फरक ठेकेदार भए पनि अहिले नबनेका सडक बेलहियाको ७ सय किलोमिटर र बुटवलको साढे तीन किलोमिटर ठेक्का पाउने बिरुवा कन्स्ट्रक्सन हो । यहाँ अन्य ठेकेदारले काम गरे पनि एउटै ठेकेदारले बुटवल र बेलहिया सडक बेहाल बनाएर सास्ती दिएका छन् ।

बुटवल–बेलिहया सडक परियोजनाको कार्यालय पनि अन्य ठाउँमा काम सम्पन्न भएपछि हटिसकेको छ । तर बेलहिया र बुटवलमा काम गर्ने ठेकेदार कम्पनीलाई कुनै मतलब छैन । विभिन्न ठाउँबाट दबाब भएपछि कहिलेकाहीँ मात्रै सडकको काममा देखिन्छन् । बुटवलको सडक निर्माणको लागि पटक पटक पत्राचारसमेत गरे पनि निर्माण भएको छैन। हालै बेलहिया–बुटवल सडक विस्तार आयोजनाको कार्यालयसमेत सडक डिभिजनमा हस्तान्तरण गर्ने निर्णय भएपछि यसबारे जवाफ दिने निकायसमेत अहिले अन्योल छ ।

सडक डिभिजनमा जिम्मेवारी हस्तान्तरण गर्ने निर्णय भए पनि अझै आफूहरूसँग हस्तान्तरण नभएको सडक कार्यालय बुटवलका प्रमुख इन्जिनियर होमबहादुर एसीले रातोपाटीलाई बताए । उनले  निर्णय भए पनि हामीसँग अझै हस्तान्तरण भएर आएको छैन कहिले आउने भन्न पनि सकिँदैन ,।

बुटवलको राजमार्ग चौराहादेखि चिडिया खोलासम्मको कन्चनजंगा बिरुवा जेबी, भैरहवा अञ्चलपुरदेखि लखन चोकसम्मको बिरुवा एपेक्स श्रेष्ठ जेबी र भन्सार नाका बेलाहियादेखि डण्डाखोला पुल पारिसम्मको बिरुवा जेभीले सडक विस्तारको जिम्मा लिएका थिए ।

५ अर्ब ८६ करोडको लागतमा बन्न लागेको यो सडक नेपालकै राम्रो सडकका रूपमा दाबी गरिए पनि बुटवल क्षेत्रको ३ किलोमिटर सडक र बेलोहियाको ७ सय मिटर बाटो विस्तार र निर्माणको काम १ दशक हुँदा पनि सम्पन्न नहुँदा सुन्दर सडकमा धब्बा लागेको बुटवलका ट्राफिक चोकका व्यापारी यज्ञ पोखरेलेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप