दसैँमा ७० वर्षीय साइँला गुरुङको बालुवामै सङ्घर्ष

person explore access_timeअसोज १६, २०७९ chat_bubble_outline0

 उमेरले ७० वर्ष । सरकारले प्रदान गर्ने ज्येष्ठ नागरिक भत्ता खाने बेला हो । न नागरिकता छ । न परिवारका कुनै सदस्य नै छन् । जीवन बालुवामा सङ्घर्ष गर्दागर्दै नै बित्यो ।    
    
आइतबार फूलपातीको दिन सबै नेपालीमा दसैँको चहलपहल सुरु भएको छ तर उनलाई न कुनै वर्ष दसैँ न त तिहार लागेको छ । बालुवा बोकेर बिहान–बेलुकाको गाँस जुटाउन कै लागि सङ्घर्ष गर्दै ठिक्क छ ।    
    
टाउकोभरि नाम्लाको नील डाम । पाइतालामा चप्पल छैन, थोत्रा कपडा, कुप्री पर्दै, एक हातमा लौरो र अर्को हातले सिँढीको फलामे रेलिङको सहयता लिँदैै । न हातले नाम्लो समाउनु छ । आइतबार दसैँकै दिन पोखराको शान्तिघाटबाट ५० केजी बालुवा बोरामा बोक्दै डिलमा उतार्दै थिए लम्जुङ जिल्लाका ७० वर्षीय साइँला गुरुङ ।    
    
सेतीनदीको शान्तिघाटबाट माथिल्लो डिलमा बालुवा उतार्न करिब एक किलोमिटर दूरी छ । त्यो पनि ठाडै उकालो सिँढी, अघि–अघि एक बालुवा बोक्ने युवाको सहायतामा बालुवा बोकेर उक्लदै गर्नुभएका गुरुङलाई देख्ने जो कोही व्यक्तिले जिब्रो काढ्दै हिँड्छ र भन्छ, ‘राज्य कहाँ छ ?’ आइतबार शान्तिघाटमा मृत्यु भएको व्यक्तिको दाहसंस्कारमा सहभागी हुन आएका मलामीहरुले भन्दै थिए जिउनकै लागि ७० वर्षे बुबाको यस्तो सङ्घर्ष ।    
    
न उनको डेरा छ, न त कुनै घर, शान्तिघाट विकास समितिले मानिसको लास पोल्नका लागि राख्ने दाउराको छेउमा छ अझै पनि उनको बास । उनले भने, “बालुवा बोक्न थालेकै पाँच दशक भएको छ, कति समय घाटकै छेउको ढुङ्गामुनि बसेँ, पटक पटक सुतेका ठाँउमा राति झस्काउन भूत–प्रेत आउँथे तर मैले राति पनि अँगेनामा आगो राख्थेँ र आएका चिजलाई अगुल्टाले हिर्काउँथे र भाग्थ्यो ।” पइतालाले अहिलेसम्म चप्पल देखेकै छैन, लाउन पनि जान्दैनन् उनी ।    



    
अहिले बिहानदेखि बेलुकासम्म साइँला गुरुङले छ थैला बालुवा डिलमा उतार्नुहुन्छ, बालुवा बोकाउन लगाउने साहुले एक थैलोको ५० रुपैयाँ दिने गरेको छ । उनले भने, “दिनमा तीन सय आम्दानी हुन्छ, त्यो बिहान बेलुकाको भात र खाजामा सकिन्छ, एक पैसा बच्दैन, दसैँको टीकाका दिन पनि काम गरिन भने म भोकै मर्छु । मलाई भैँसीको मासु मिठो लाग्छ, टीकाका दिन एक सय रुपैयाँमा एक पाउ जति भैँसीको मासु ल्याई शान्तिघाट स्थित बस्दै आएको छाप्रोमा पकाएर खान्छु ।”    
    
कहिलेकाहीँ भोकै भएमा शान्ति घाटको एक होटलले भात खान दिने गरेको छ उनलाई । न झरी न बादल, पानीमा भिज्दै भए पनि बालुवा बोक्छु”, गुरुङले भने, “दिनभरि बालुवा बोग्दा राति घुँडा, पिँडौँला र ढाड करकरी लुच्छ । एक वर्षपछि बालुवा बोक्न पनि सक्दिनँ कि जस्तो लागेको छ, सरकारले नागरिकता बनाएर भत्ता दिए हुन्थ्यो ।”    
    
जन्मेको लमजुङ जिल्ला भन्ने थाहा छ, कुन गाउँ हो भन्ने थाहा छैन उनलाई । “म सानै हुँदा बा बितेछ, सात वर्षको हुँदा आमा पनि बितेछ, गाउँको कोही मान्छेले मलाई यहाँ ल्याएर काठको मिलमा छाडेछ, त्यही मिलमा केही वर्ष काम गरेपछि म त्यहाँबाट हिँडे र बालुवा बोक्न थालेँ”, गुरुङले भने, अहिले पनि बालुवा बोक्दै छु ।    
    
उनलाई बा आमाको त कुरै छाडौँ आफ्नो नामसमेत थाहा छैन । “एक वर्षअघि मलाई वृद्धाश्रम लानका लागि दुईवटा लोग्ने मानिस आएका थिए, उनीहरुलाई म बालुवा बोकेर खान्छु, वृद्धाश्रम जान्न भनेर पढाइदिएँ”, गुरुङले भने । न त उनले विवाह नै गर्नुभयो न त परिवार नै छन्, केवल एक्लो जीवन । “लामिछाने गुरुङ हुँ, नाम थाहा छैन, यहाँ आएपछि सबैले साइँला भन्दा रहेछन्, मेरो नामै साइँला गुरुङ”, उनले भने । दसैँका दिन घटस्थापनामा घाटमा अन्य महिला र पुरुषले समेत बालुवा बोक्दै थिए ।    





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।