शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ऐलानी जग्गा कब्जा गर्न जसपाका नेताले यसरी बनाए योजना

आइतबार, १६ असोज २०७९, १२ : ५६
आइतबार, १६ असोज २०७९

सर्लाहीको मलंगवास्थित खुटौनाको डेढ बिगाहाको दुई वटा ऐलानी पोखरीलाई पुरेर त्यसलाई अर्काको नाममा नामसारी गर्न लागेको रहस्य खुलेको छ । यो प्रकरणमा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवं सांसद प्रमोद साहको नाम पनि मुछिएको छ । त्यसको मुख्य योजनाकार नै साह रहेको स्थानीयवासी बताउँछन् ।

खुटौनाका बासिन्दा रामगोपाल यादवले भने, ‘महारानी ब्रहमबाबा पोखरी हाम्रो पुर्खौली पोखरी हो, हाम्रा हजुरबुबाहरुले त्यो पोखरी पञ्चायत (गाउँपालिका) मा दिइसक्नु भएको थियो । पछि गाउँपालिकाले त्यो पोखरीमा माछा ठेक्कामा लगाउँथ्यो । तर योजना मुताविक विस्तारै त्यो पोखरीलाई पुरेर अहिले घडेरीको रुपमा अरुको नाममा नामसारी गर्न लागेको फेला परेको छ ।’

पोखरी पुर्न थालेपछि त्यसलाई रोक्ने काम भएको तर सांसद साह राजनीतिक रुपमा शक्तिशाली भएका कारण उनको अगाडि कसैको केही नचलेको यादवको भनाइ छ ।

सर्लाहीको खुटौनास्थित वडा कार्यालय अगाडि रहेको सो पोखरीले ओगटेको ऐलानी जग्गा कब्जा गर्न सांसद साहले योजना बनाएको उनको दाबी छ । जसपाका नेता साहले खुटौनाका वडाअध्यक्ष राम कैलाश यादवलाई भारतको वैष्णोदेवी तीर्थ यात्रामा पठाएर वडाका दलिततर्फका सदस्य कविता देवी पासवानलाई कार्यवाहक दिन लगाएका थिए ।

असोज ५ देखि १० गतेसम्मका लागि आफ्नै सदस्य पासवानलाई तोक, आदेश लगायतको अख्तियारीसहित कार्यवाहक दिन लगाएर सांसद साहले आफू र त्यस वरपरका आफ्ना निकटलाई सो ऐलानी जग्गा पास गराउन लागेका थिए ।

वडा सदस्य पासवानलाई अख्तियारी दिएको दुई दिनपछि अर्थात असोज ७ गते वडाअध्यक्ष रामकैलाश यादवले सांसद साहको योजनामा सडक निर्माणका लागि उपभोक्ता समिति बनाउने भनि झुक्याएर पोखरीको ऐलानी जग्गा सम्बन्धी सिफारिसमा वडा सदस्य पासवानबाट हस्ताक्षर गर्न लगाएका थिए ।

वडा अध्यक्ष यादवले सांसद साहको घरमा बोलाएर आफूलाई सही गर्न लगाएको वडा सदस्य पासवानले बताइन् । आफू पढ्न लेख्न नजानेका कारण कागजात नपढीकन विभिन्न १४ वटा कागजमा सही गरेको तर पछि बुझ्दै जाँदा आफूलाई झुक्याएको रहेछ भन्ने थाहा भएको उनले बताइन् ।

आफूले सांसद साहसँग यस विषयमा गुनासो गर्दा ‘केही हुँदैन, म छु नि, म सबै मिलाउँछु । तपाई चिन्ता नगर्नुस्’ भनेको उनले सुनाईन् ।

यो घटनाको बारेमा जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई पनि जानकारी गराइसकेको रामगोपाल यादवले बताए । वडामा अरु पढे लेखेका सदस्यहरु पनि छन् तर सांसद साहको योजनामा निरक्षरलाई कार्यवाहक दिनु नै उनीहरुको नियत गलत रहेको प्रष्ट भएको रामगोपाल यादवले बताए ।

पहिलादेखि नै त्यो पोखरीको विषयमा अख्तियार दुरुपयोग आयोगमा मुद्दा चलिरहेको छ । त्यस अवस्थामा पनि सांसद साह र वडा अध्यक्ष यादवले मिलेर ऐलानी पोखरी आफ्नो नाममा सार्न लागेको रामगोपाल यादवले बताए ।

यो पोखरीको ऐलानी जग्गा पहिलादेखि विवादमा छ । पहिलादेखि नै विभिन्न ठाउँमा यसबारे उजुरी परेको छ । मलंगवाबाट प्राप्त एक कागजातमा पनि सांसद साहले पोखरी पुरेर जग्गा कब्जामा लिएको उल्लेख छ ।

प्राप्त कागजातमा भनिएको छ, ‘यस मलंगवा नगरपालिका–६ नम्बर वडा खुटौनामा दुई वटा पोखरी रहेकोमा एउटा पोखरीमा नेता प्रमोद साह र गाउँका केहीहरु र अर्को एउटा पोखरीमा गाउँका केही व्यक्तिले धेरैअघि जनप्रतिनिधि विहीन रहेको बेला, माओवादीको द्वन्द्वकालको समयमा पोखरीको छेउछाउका मानिसहरुले जबरजस्ती पोखरीमा माटोले पुरी सम्याई जग्गाको रुपमा परिणत गरी सो पोखरी रहेको जग्गामा केही घर बनाएको र केही बाँकी जग्गालाई कब्जा गरी भोग चलनसमेत गरिरहेको छ ।’

यी पोखरी जनप्रतिनिधि रहेको समयमा ठेक्का लागेको तर जनप्रतिनिधिविहीन रहेको समयमा पोखरीको जग्गा अतिक्रमण भएको कुरा नगरपालिको पत्रमा उल्लेख छ । सांसद साहसँग यस विषयमा बुझ्न पटक पटक सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप