बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटका ६ स्थानीय तहका ज्येष्ठ नागरिक र शिक्षक कर्मचारी दसैँमा सेवा सुविधाबाट वञ्चित

आइतबार, १६ असोज २०७९, ०८ : २४
आइतबार, १६ असोज २०७९

दसैँमा पनि रौतहटका ६ स्थानीय तहका ज्येष्ठ नागरिक राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित भएका छन् । ती स्थानीय तहमा कार्यरत कर्मचारी र शिक्षकले तलबसमेत पाउन सकेका छैनन् ।

जिल्लाको १८ स्थानीय तह मध्ये कटहरिया, फतुवा विजयपुर, बौधिमाई, गुजरा नगरपालिका तथा यमुना माई र दुर्गा भगवती गाउँपालिकाका ज्येष्ठ नागरिक चाडपर्वको मुखमा राज्य बाट पाउने सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित भएका हुन । त्यसै गरी उक्त स्थानीय तहमा कार्यरत कर्मचारी तथा शिक्षक शिक्षिकाले दसैँको मुखमा पनि तलब पाउन सकेका छैनन् ।

यस आर्थिक वर्षको गत साउन देखि हालसम्म तलब नपाएका फतुवा विजयपुरमा कार्यरत शिक्षक शिक्षिकाहरू तलबको माग गर्दै आन्दोलित भएका छन् । नगर तथा गाउँ अधिवेशन निर्धारित समयमा गराउन नसक्दा यस्तो समस्या सिर्जना भएको हो ।

स्थानीय तह शासन ऐन अनुसार आर्थिक वर्ष सकिनु अगावै असार १० गते भित्र अधिवेशन गरेर बजेट तथा नीति कार्यक्रम पारित गरी प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी दिएर कोष तथा लेखा नियन्त्रण कार्यालयबाट बजेट निकासा गर्नुपर्ने प्रावधान रहेको छ । तर कानुनी प्रक्रिया पूरा हुन नसक्दा उक्त समस्या उत्पन्न भएको छ ।

दुर्गा भगवती गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादवले गाउँसभा नहुँदा पनि बोर्डको बैठकबाट निर्णय गर्दा तलब भत्ता तथा सामाजिक सुरक्षाको रकम निकासा हुने थियो तर बोर्डको पूर्ण बैठक नहुँदा पर्वको समयमा तलब भत्ताको साथै सामाजिक सुरक्षाको रकम निकासा हुन नसकेको बताए ।

यता कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारीले कर्मचारी तथा जनप्रतिनिधिको तलब शुक्रबार पठाइसकेको तथा शिक्षकको तलब,सामाजिक सुरक्षा भत्ता र बालपोषण भत्ता दसैँलगतै वितरण हुने प्रक्रियामा रहेको बताएका छन् ।

कोष तथा लेखा नियन्त्रण कार्यालय गौरका प्रमुख अर्जुन बरालले जिल्लाको १८ पालिका मध्ये १३ पालिकाको बजेट निकासा भैसकेको बताए । तर बौधीमाई, गुजरा, फतुवा विजयपुर नगरपालिका तथा दुर्गा भगवती र यमुनामाई गाउँपालिकाको अधिवेशन नहुँदा गत साउन महिना देखि कर्मचारीहरूको तलब भत्ता सहित बालपोषण र सामाजिक सुरक्षाको रकम निकासा हुन नसकेको प्रमुख बरालले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप