शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डेंगु नियन्त्रणमा काठमाडौँ महानगरले राम्रो काम गर्न सकेन : मन्त्री खापुङ

शनिबार, १५ असोज २०७९, १७ : ५७
शनिबार, १५ असोज २०७९

नेपाल विद्यार्थी संघले स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ ज्ञापनपत्र बुझाएको छ । शनिवार मन्त्री क्वार्टरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री खापुङलाई भेटेर उनीहरूले डेंगु नियन्त्रणप्रति सरकार गम्भीर बन्न ध्यानाकर्षण गराएका हुन् । 

उनीहरूले नागरिकको स्वास्थ्यप्रति सरकारले चासो र चिन्ता लिनुपर्ने बताए । उनीहरूले सरकारले डेंगु नियन्त्रणको लागि यथाशीघ्र डेंगु उपचारको मुख्य औषधि पारासिटामोलको उचित व्यवस्थापन गराउनुपर्ने, अस्पतालमा पर्याप्त शय्या उपलब्ध गराउनुपर्ने, उपचार निःशुल्क हुनुपर्ने, डेंगु परीक्षणको किटको अभाव भएकाले उक्त किटको व्यवस्थापन र परीक्षण निःशुल्क हुनुपर्ने, राज्यले जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने, डेंगुलाई सरकारले चाँडो भन्दा चाँडो डेंगु प्रकोप घोषणा गरी राज्यका सबै संयन्त्र रोकथाममा लाग्नुपर्ने लगायतका माग राखेको छ । 

ज्ञापनपत्र बुझ्दै स्वास्थ्यमन्त्री खापुङले डेंगु रोकथामको लागि सरकार लागिरहेको बताए । उनले सरकार अहिले खोज र नष्ट गर भन्ने अभियान सञ्चालन गरेर लामखुट्टेलाई नष्ट गर्ने काममा लागेको बताए । उनले प्रत्येक शनिवार १० बजे १० मिनट खोज र नष्ट गर भन्ने अभियान चलाएको र सरकारले पानी जमेका ठाउँहरू र फोहोर भएका ठाउँहरू नष्ट गर्ने काममा लागेको बताए । उनले यसमा स्थानीय तह बढी क्रियाशील हुनुपर्ने बताए । मन्त्री खापुङले काठमाडौँ महानगरलाई यसको जिम्मा दिए पनि अपेक्षा अनुसार काम नभएको जस्तो पाइएको बताए । 

उनले आफूलाई प्राप्त रिपोर्ट अनुसार बजारमा औषधि अभाव नरहेको दाबी गरे । मन्त्री खापुङले संकटकाल घोषणा गरिसक्नुपर्ने तहमा डेंगुको महामारी नपुगेको बताए ।  

त्यस्तै नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले सरकार छ भन्ने अनुभूति जनताले गर्ने गरेर सरकारले काम गर्नुपर्ने बताए । उनले डेंगुको महामारी अहिले बढिरहेकोले सरकारले जनतालाई सरकार छ भन्ने अनुभूति दिलाउन नसकेको बताए । –न्यूज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप